१४ बैशाख २०८१, शुक्रबार

स्थानीय निर्वाचन र सञ्चारकर्मीको भूमिकाबारे चर्चा



धनगढी । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा बुधबार धनगढीमा नेपालमा प्रेस स्वतन्त्रताको अवस्थाका साथै स्थानीय तह निर्वाचनमा सञ्चारकर्मीको भूमिकाबारे चर्चा गरियो ।
नेपाल पत्रकार महासंघ, कैलालीको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा स्वच्छ र निष्पक्ष निर्वाचनको सुनिश्चितताका लागि सञ्चार गृह तथा सञ्चारकर्मीबाट निर्वाह भइरहेको भूमिकाबारे समेत छलफल भएको थियो ।
कार्यक्रममा सरकारी अधिकारीहरू, सुरक्षा अधिकारी, पेसाकर्मी, राजनीतिकर्मी तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भयरहित वातावरणमा स्वच्छ तथा निष्पक्ष निर्वाचन सबैको साझा दायित्व भएको चर्चा गरे । ‘यो कुनै एक पक्षको मात्रै दायित्वको विषय होइन’ प्रजिअ रिजालले भने– ‘त्यसैले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबैबाट जिम्मेवारपूर्ण भूमिकाको अपेक्षा गरिएको हुन्छ ।’
प्रजिअ रिजालले ‘जसरी पनि निर्वाचन जित्ने’ मनोवृत्तिबाट नभई जनताको मन जितेर विजय प्राप्त गर्ने वातावरण सिर्जना गर्नेतर्फ सञ्चारकर्मी सजग हुनुपर्ने बताए ।
उनले कैलालीका छ वटा मतदान केन्द्र भौगोलिक दृष्टिले निकै कठिन भएको बताए । ‘हामीले जिल्लामा अति संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदान केन्द्र तथा स्थानीय तहको पहिचान गरी तदनूरूप सुरक्षा प्रबन्ध गरिरहेका छौं’ प्रजिअ रिजालले निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न सबै पक्षको सहयोगका लागि आग्रह गरे ।
सो अवसरमा नेपाली काँग्रेस कैलालीका सचिव पूर्ण कुँवरले केही स्थानीय सञ्चार माध्यममा एकपक्षीय ढंगले समाचार सम्प्रेषण भइरहेकोप्रति सञ्चार गृह र सञ्चारकर्मी गम्भीर भइदिन आग्रह गरे । सचिव कुँवरले स्थानीय तहमा राजनीतिक दलहरू तथा तिनका गतिविधिको बढीभन्दा बढी अनुगमन गरिदिन सञ्चारकर्मीलाई आग्रह गरे ।
माओवादी केन्द्रका जिल्ला सचिव रमेश धामीले स्थानीय तह निर्वाचनका विविध पक्षमा ग्रामीण क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरे । उनले निर्वाचनमा सबै मतदटातालाई सहभागि गराउन गाउँटोलसम्म जनचेतनामूलक कार्यक्रम विस्तार गरिनु पर्ने बताए ।
राप्रपाका नेता छत्र शाहीले निर्वाचनलाई प्रभाव पार्ने कुनै पनि प्रकारका नकारात्मक समाचार सकेसम्म कम गर्न आग्रह गरे । उनले राजनीतिक दलहरू चुनावमा होमिने भएकाले अनुगमन लगायतका कार्यमा सञ्चार लगायतका स्वतन्त्र पक्ष सक्रिय हुनुपर्ने बताए ।
कार्यक्रममा कैलाली बारका अध्यक्ष प्रेम चन्दले निर्वाचनमा राजनीतिक दल र उम्मेदवार, निर्वाचन व्यवस्थापन पक्ष, सुरक्षा निकाय र प्रेसको प्रमुख रूपमा उपस्थिति हुने भएकोले यी पक्षबीच बढिभन्दा बढी समन्वय आवश्यक रहेको चर्चा गरे ।
कार्यक्रमबारे विषय प्रवेश गराउँदै नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य मनमोहन स्वाँरले राज्य व्यवस्थालाई विश्वसनीय र दीगो बनाउन राजनीतिक तथा निर्वाचनको विश्वसनीयता अनिवार्य भएको चर्चा गरे ।
उनले यो निर्वाचन विशेष अवस्थामा भइरहेको र मुलुकका लागि निकै महत्त्वपूर्ण रहेकोले सञ्चारकर्मी तथा सञ्चार गृहले बढी गम्भीर र संवेदनशील भएर प्रस्तुत हुनुपर्ने बताए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउँदको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी ऐर, अधिकारकर्मी चित्रा पनेरू, नागरिक अगुवा धनपति ढुंगेल, वरिष्ठ पत्रकार घनबहादुर शाह, वीरेन्द्र रावल, तपेन्द्र भूषाल लगायतले धारणा व्यक्त गरेका थिए ।
महासंघका जिल्ला सचिव मीन ठकुरीले सञ्चालन गरेको कार्यक्रममा सहसचिव श्रवण देउवाले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार