१४ बैशाख २०८१, शुक्रबार

स्थानीय तह निर्वाचन–२०७४ : महिला, जो प्रमुख पदमा प्रतिस्पर्धा गर्दैछन्



धनगढी । सरकारको पछिल्लो निर्णयपछि प्रदेश नम्बर ७ मा दोस्रो चरण अर्थात् आगामी जेठ ३१ गते स्थानीय तह निर्वाचन हुँदैछ । राजनीतिक दलहरू स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यको उम्मेदवारी चयनमा व्यस्त रहेका छन् । ७ नम्बर प्रदेशमा अहिलेसम्म एमालेले अधिकांश स्थानीय तहका लागि उम्मेदवारहरूको टुंगो लगाइसकेको छ, यद्यपि अहिलेसम्म आधिकारिक रूपमा नामावली सार्वजनिक गरिएको छैन ।
स्थानीय तहलाई समावेशी बनाउने क्रममा महिला र दलित महिलाको प्रतिनिधित्वको संवैधानिक रूपमा नै व्यवस्था गरिएको छ । स्थानीय तहको प्रमुख वा उपप्रमुख पदमध्ये कुनै एकमा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, एक जना महिला र एक जना दलित महिला सदस्य अनिवार्य (आरक्षण) गरिएको छ ।

७ नम्बर प्रदेशमा ३४ नगरपालिका (एक उपमहानगरपालिकासहित) र ५४ वटा गाउँपालिका रहेका छन् । त्यस्तै, नगरपालिका र गाउँपालिका गरी सात सय ६३ वडा रहेका छन् । नयाँ व्यवस्था र संरचनाअनुसार ७ नम्बर प्रदेशमा कम्तीमा एक हजार चार सय ६६ जना महिला सदस्य (सात सय ३३ जना दलित महिलासहित) को प्रतिनिधित्व सुनिश्चित भएको छ । त्यस्तै, प्रमुख वा उपप्रमुखमा एक जना महिला उम्मेदवार हुनुपर्ने व्यवस्थाका कारण स्थानीय तहमा महिलाको प्रतिनिधित्व कम्तीमा ३९ प्रतिशत हुने पनि निश्चित भएको छ ।
अहिले आम मतदातामा प्रमुख पदहरू (मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष) मा महिला र दलित, सीमान्तकृत तथा अल्पसंख्यक समुदायको उम्मेदवारी कस्तो हुन्छ ? भन्ने चासोको विषय बनेको छ । मुलुक सङ्घीयतामा गइसकेको र सामाजिक तथा लैंगिक समावेशीकरणको मुद्दा प्रबल बनिरहेको सन्दर्भमा स्थानीय तहका प्रमुख पदहरूमा महिला वर्ग तथा दलित, सीमान्तकृत तथा अल्पसंख्यक समुदायको उम्मेदवारी सबैको चासो र सरोकारको विषय पनि बनेको छ ।
अनुमोदन दैनिकले स्थानीय तहमा विभिन्न दलबाट कस्ता उम्मेदवारको चयन हुँदैछ ? दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा कस्ता व्यक्ति उम्मेदवारका आकांक्षी छन् ? कुन दलले कसलाई उम्मेदवार घोषणा गर्‍यो ? लगायतका जनचासोका विषयमा शृंखलावद्ध समाचार सामग्री प्रस्तुत गर्दै आएको छ ।
यस क्रममा ७ नम्बर प्रदेशमा नगरपालिका, उपमहानगरपालिका र गाउँपालिकामा प्रमुख वा उपप्रमुख पदमा महिला, दलित, सीमान्तकृत तथा अल्पसंख्यक समुदायका उम्मेदवारबारे प्रस्तुति गर्दै जाने छौँ ।
यस अङ्कमा डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयर पदमा एमालेबाट उम्मेदवारी पाएकी मञ्जु मलासीसंग डोटीका पत्रकार डिलबहादुर सिंहले अनुमोदनका लागि गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

पछाडि पारिएका र महिलामा उत्साह थपिएको छ– मलासी

डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयर पदमा नेकपा (एमाले)बाट उम्मेदवार बनेकी मञ्जु मलासी २०४६ सालबाट राजनीतिमा सक्रिय बनेकी हुन् । प्रदेश नम्बर ७ का नगरपालिकाको मेयर पदमा उम्मेदवार घोषणा भएकी उनी पहिलो महिला पनि बनेकी छिन् । प्रदेश नम्बर ७ मा एक उपमहानगरपालिका र ३३ नगरपालिका रहेका छन् ।
लामो समयदेखि नेकपा (एमाले)मा सक्रिय मलासी हाल डोटी जिल्ला कमिटीको उपसचिव रहेकी छिन् । उनले जिल्लामा पार्टीको विभिन्न इकाईमा काम गरिसकेकी छिन् । उनले २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् ।
नेतृ मलासी राजनीतिका अतिक्ति वन वातावरण संरक्षणको क्षेत्रमा पनि सक्रिय छिन् । उनी हाल सामुदायिक वन उपभोक्ता महासङ्घको केन्द्रीय कोषाध्यक्ष पनि हुन् ।
उम्मेदवार छनोटका क्रममा दिपायल सिलगढी नगरपालिकामा नेकपा (एमाले) को आन्तरिक निर्वाचनमा मञ्जुले सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारका जिल्ला कमिटीबाट प्रदेश कमिटीमा सिफारिस गरिएकी थिइन् ।
नेकपा एमालेका तर्फबाट दिपायल सिलगढी नगरपालिकाको मेयर पदका लागि उम्मेदवार बनाइएकी मञ्जु भन्छिन्– ‘पार्टीको यो निर्णयले पछाडि पारिएका वर्ग र महिलामा उत्साह थपिएको छ ।’ उनले थपिन्– ‘एमालेको यो निर्णयले अरू दललाई पनि स्थानीय तहको प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन दबाब सिर्जना भएको म ठान्दछु ।’
उनी आफूलाई नगरपालिकाका आम मतदाताले रुचाएकोले विजयी हुने दाबी गर्छिन् । ‘म यो नगरपालिकाका हरेक समस्या र चुनौतिसंग परिचित छु’ उनी भन्छिन्– ‘ती समस्याको कसरी समाधान गर्ने भन्ने पनि मसँग योजना भएकोले मतदाताले विश्वास गर्नेमा विश्वस्त छु ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार