१४ बैशाख २०८१, शुक्रबार

सत्तापक्षका सांसद्हरुको कडा प्रस्तुती (भिडियोसहित)



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सांसद्हरु प्रतिपक्ष भन्दा कडा रुपमा प्रस्तुत भए ।


नेकपा प्रदेश संसदीय दलको गतविहिबारको बैठकले संसद्मा बोल्ने विषयलाई पार्टी र संसदीय दलमा छलफल गरेर मात्रै बोल्न र सरकारको विरोध नगर्न निर्देशन दिएको भएपनि पत्तापक्षका सांसद्हरुले सरकारको विरोध गरेका हुन् । उनीहरुले आगामी बजेट तयारी गर्नुपर्ने बेलासम्म पनि चालू आर्थिक वर्षको बजेटको कार्यान्वयन गर्न नसकेको भन्दै सरकारप्रति कडा रुपमा गुनासो गरे ।
बैठकको विशेष समयमा नेकपाका प्रदेश सभा सदस्य लिलाधर भट्टले सामाजिक विकास मन्त्रालयको कामप्रति असन्तुष्टी व्यक्त गरे । ‘जिल्ला अस्पतालमा डक्टर छैनन्, प्राथमिक उपचार पनि जिल्लामा नहुने अवस्था भइसक्यो,‘ सांसद् भट्टले प्रश्न गरे, ‘मन्त्रीहरूले उद्घाटनमा मात्रै ध्यान दिने हो कि यता पनि ध्यान दिने हो ? मन्त्रीज्यूको भाषणमा डाक्टर नियुक्त गर्छौ भन्ने पनि सुनिएको छ । स्वयंसेवक त नियुक्त गर्न सकेको सामाजिक विकास मन्त्रालयले डाक्टर नियुक्त गर्ने विधेयक कहा“ पुगेको छ ।’

मुख्यमन्त्रीको स्वकीय सचिवालयले फेसबुकमा योजनाको सूची मागेको प्रति कडा आलोचना गर्दै सांसद भट्टले मुख्यमन्त्री कार्यालयले सुशासन विधेयक विपरित काम गरेको आरोप लगाए । ‘सुशासन विधेयक प्रदेशका मन्त्रीहरुले पढेका छन् कि छैनन्,’ उनले भने, ’छैनन् भने एक एक प्रति लिएर जानस् आजै पढ्नुस् । ऐन भनेको भन्दा दाया“ गर्न पाइन्न ।’
पूर्व सामाजिक विकासमन्त्री तथा प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले धनगढीबाट राजमार्ग जोड्ने कुनैपनि सडक राम्रो नरहेको भन्दै देशभरिका सबैले सुदूरपश्चिमलाई गिज्याउने गरेको बताए । उनले मोहनपुल–अत्तरिया सडक ६ ल्यान बनिरहेको बेला बैकल्पिक सडक बन्न सक्ने खुटिया–मटियारी–पिपलचौताराको अवस्था कमजोर रहेको बताए ।
निर्मँण भइरहेको ६ ल्यान सडकमा हिंड्नै नसक्ने अवस्था रहेको बताउ“दै सोडारीले वर्षाको बेला झन अप्ठेरो हुने बताए । उनले प्रदेश सरकार भिआइपीहरुलाई मोटरसाइकल चढेर धनगढीबाट अत्तरिया जान आग्रह गरे । पूर्वमन्त्री सोडारीले सो सडकको वैकल्पिक सडक बनाउन खुटिया–मटियारी–पिपलचौतारा सडक चालु आर्थिक वर्षभित्रै विशेष बजेटको व्यवस्था गरेर पिच गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
उनले छुट्याएको बजेट समेत कार्यान्वयन नभएको भन्दै सरकारको आलोचना गरे । संघीय सरकारले सुदूरपश्चिम सरकारलाई यसवर्ष पनि बजेटको सिलिङ बढाएकोप्रति उनले आपत्ति जनाए ।
पूर्वमन्त्री सोडारीले तालबन्द, गर्भा दरबार, मंगलसेन दरबार जस्ता ऐतिहासिक र पुरातात्तिक सम्पदा ओझेलमा रहेको भन्दै त्यसको संरक्षण र प्रबद्धन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
नेकपाकी सांसद् शान्ति नेपालीले प्रदेश गौरवको योजनामा करोडौं रुपैयाँ छुट्याएपनि साना साना योजनामा अल्झिएको गुनासो गरिन् । उनले सरकारको ध्यान भौतिक विकासमा मात्रै रहेको भन्दै मानवीय विकासमा समेत ध्यान दिन आग्रह गरिन् । उनले महिलाहरुको लागि आउँदो बजेटमा प्याकेजमै कार्यक्रम ल्याउन प्रदेश सरकारलाई सुझाव दिइन् ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरूले पनि सरकारको गतिविधि प्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् कर्ण मल्लले सामाजिक विकास मन्त्रालयबाट अक्सिजन प्लान्ट राख्दा र औषधी खरिदमा अनियमितता भएको आरोप लगाए । ‘अक्सिजन प्लान्ट ५० लाख हिनामिना भएको छ । यसको छानबिन कसले गर्छ ?’ उनले भने, ‘महालेखा परीक्षकको प्रतिवेदनमा प्रदेश सरकारले आर्थिक अनियमिमता गरेको स्पष्ट रुपमा उल्लेख छ ।’
सांसद मल्लले छानबिनका लागि शक्तिशाली आयोग गठनको माग गरे । कांग्रेसका सांसद् टेकबहादुर रैकाले योजना कार्यान्वयनमा ढिलाई भइरहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनले प्रदेश सरकारले दलितलाई ठगेको बताए । उनले संविधानमा दलितको अधिकार लेखेको भएपनि सरकारले कार्यान्वयन नगरेको बताए ।
सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा ‘प्रदेश सभा सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘प्रदेश सभा नियमावली २०७४ को संशोधन मस्यौदा सदनमा पुनः प्रस्तुत भएको छ ।
मस्यौदा संशोधन समितिले दफावार छलफल गरी मस्यौदा तयार गरेको प्रतिवेदन समितका संयोजक विरमान चौधरीले प्रस्तुत गरेका थिए । त्यसैगरी प्रदेश मामिला तथा विधायन समितिले विधेयकमाथि दफावार छलफल गरी तयार गरेको प्रतिवदेन समितका सभापति नेपालु चौधरीले प्रस्तुत गरिएको थिए ।
प्रदेश सभाको अर्को बैठक बैशाख १० गते मंलगलबार दिउ“सो २ बजे बस्ने सभामुख अर्जुनबहादुर थापाले उद्घोष गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार