१४ बैशाख २०८१, शुक्रबार

किशोरकिशोरी प्रजनन् स्वास्थ्य सुधारका लागि प्रतिवद्धता



धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले किशोरकिशोरीको प्रजनन् स्वास्थ्य सुधारका लागि दुई वुँदे प्रतिवद्धता जाहेर गरेका छन् ।
द एडभेन्टीस्ट डेभलपमेण्ट एण्ड रिलिफ एजेन्सी (आड्रा) नेपालद्वारा आयोजित “किशोरकिशोरीमा परिवार नियोजनको पहुँचः प्रदेश सभा सदस्यहरूसंग पैरवी तथा अन्तक्र्रिया” कार्यक्रममा प्रदेश सभा सदस्यहरूले किशोर किशोरीहरूको प्रजनन् स्वास्थ्य सुधार आवश्यक रहेको दोहोर्याए ।
प्रदेश सभामा निर्माण हुने प्रदेश स्वास्थ्य नीति तथा कार्यक्रममा किशोरकिशोरीमैत्री परिवार नियोजन तथा अन्य सेवाहरूलाई प्राथमिकिकरण सहित सुनिश्चित गर्ने र प्रादेशिक बजेट तथा कार्यक्रम तयार गर्दा परिवार नियोजन तथा किशोरकिशोरी यौन तथा प्रजनन् सेवालाई प्राथमिकता दिनुका साथै सोही अनुरुप किशोरकिशोरीमैत्री सेवा सुदृढीकरणका लागि रणनीति तयार गरी कार्यान्वयनको सुनिश्चितता गरिने प्रतिवद्धता पत्रमा उल्लेख रहेको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका सभामुख अर्जुनबहादुर थापा प्रमुख अतिथी रहेका थिए ।
सो अवसरमा सभामुख थापाले भने– अबको बजेटमा सुदूरपश्चिम प्रदेश सभाले स्वास्थ्य केन्द्रीत कार्यक्रम र योजना बनाउने छ ।
उनले प्रदेशमा स्वास्थ्यको अवस्था निकै कमजोर रहेको तथ्यांकले देखाएको र यसको सुधारका लागि नीति तथा कार्यक्रम र बजेटलाई स्वास्थ्यमैत्री बनाउनुपर्ने बताए ।
सो अवसरमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेशमा स्वास्थ्य सूचांकहरू कमजोर भएको बताए । भने– स्वास्थ्य क्षेत्रको सुधारका लागि कुल बजेटमध्ये १५ प्रतिशत स्वास्थ्यमा विनियोजन गर्नुपर्ने आवश्यक रहेको छ ।
उनले स्वास्थ्य जनताको आधारभुत सेवा भएकाले प्रदेश सभा सदस्यहरूले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, अप्ठ्याराहरूमा गम्भिर हुन आवश्यक रहेको बताए ।
मन्त्री सुवेदीले आगामी नीति तथा कार्यक्रम र बजेटमा किशोरकिशोरी प्रजनन सेवालाई समावेश गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेशका उपसभामुख निर्मला बडाल (जोशी) ले महिलाको यौन तथा प्रजनन् स्वास्थ्य बढी कमजोर हुने गरेको बताइन् । उनले भनिन्– परिवार नियोजनका अस्थायी साधनहरू पनि बढी महिलाले प्रयोग गर्नुपर्ने बाध्यता छ । जसले गर्दा महिलाको स्वास्थ्यलाई असर गर्ने गरेको छ ।
उपसभामुख बडालले नयाँ नीति निर्माण भन्दा पनि भएका नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताइन । उनले महिलाको प्रजनन स्वास्थ्यका लागि टोल–टोल र घर–घरमा शिक्षा तथा जनचेतना फैलाउन जरुरी रहेको बताइन् ।
कार्यक्रममा प्रजनन् स्वास्थ्यको वर्तमान अवस्थाबारे प्रस्तुतिकरण गर्दै परिवार नियोजन विशेषज्ञ डाक्टर ईश्वरप्रसाद उपाध्यायले सुदूरपश्चिममा महिला प्रजनन् दर उच्च रहेको बताएका थिए ।
उनले नेपालमा ३७ प्रतिशत महिला १८ वर्ष नपुग्दै विवाहित हुने गरेको र पश्चिम नेपालमा १६ प्रतिशत छोरी १४ वर्षमै विवाहित हुने गरेको बताए । उनले सानै उमेरमा विवाह गर्ने गरेका कारण महिलाहरूले विभिन्न हिंसासंगै रोगहरूबाट संक्रमित हुनुपर्ने अवस्था रहेको बताए । उनले सानै उमेरमा विवाह गरेकै कारण आत्महत्या गर्ने क्रम पनि बढेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष अर्जुनबहादुर शाहले प्रजनन स्वास्थ्यमा सञ्चारकर्मीको भुमिका विषयक प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार