१४ बैशाख २०८१, शुक्रबार

धनगढीमा एडिबीकाे सहयाेगमा बन्ने सडककाे चौडाई घट्ने, नगर प्रमुख भन्छन् – मापदण्ड यथावत रहन्छ



धनगढी- धनगढी उपमहानगरपालिकाले एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा निर्माण भइरहेका सडकहरूको चौडाई कम गरेको छ।

एडिबीसँग भएको सम्झौताअनुसारको चौडाईका सडक निर्माणमा सडक किनारका घर तथा जग्गाधनीसँगको विवादको समाधान गर्न नसकेपछि धनगढीको मुख्य सडक तथा अन्य शाखा सडकहरुको चौडाई घटाइएको छ।

मंगलबार उपमहानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख नृपबहादुर वडले मुख्य सडकको चौडाई ३० मिटरबाट घटाएर २४ मिटर कायम गरिएको जानकारी दिए।

एडिबीको ऋण सहयोगमा धनगढीमा पहिलो चरणमा ७ वटा सडकको निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी गरिएकाे छ। उपमहानगरपालिकाले पहिलो चरणमा निर्माण भइरहेका सबै ७ वटा सडकको यसअघि एडिबीसँग भएको सम्झौताविपरीत चौडाई घटाएर निर्माण गर्ने गरी २ साताभित्रै टेन्डर आव्हान गर्ने जनाएको छ।

पत्रकार सम्मेलनमा नगर प्रमुख वडले भने, ‘यसअघि ३० मिटर चौडाई कायम गरिएको धनगढीको मुख्य सडकको चौडाई ६ मिटर कम गरेर २४ मिटर राखिएको छ। त्यस्तै, यसअघि २४ मिटर चौडाई कायम गरिएको चटकपुर–क्याम्पसगेट सडक अब १६ मिटर चौडाईको बन्नेछ।’ नगर प्रमुख वडले सडकहरूको चौडाई घटाइए पनि मापदण्ड भने फेरबदल नगरिएको दाबी गरे।

एडिबीले धनगढी उपमहानगरपालिकामा फोहोर मैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल साइट) निर्माणलाई पहिलो प्राथमिकतामा राखेको भए पनि उपमहानगरपालिकाले स्थानीयसँग सहमति जुटाउन सकेको छैन। ल्याण्डफिल साइट निर्माणमा सहमति जुट्न नसकेपछि एडिबीले विवाद नआउने गरी सडक निर्माण कार्यलाई अगाडि बढाउन सहमति दिएको नगर प्रमुख वडले बताए। तर, उपमहानगरपालिकाले विवाद नभएका सडकहरुको समेत चौडाई घटाएर सडक निर्माण गर्ने तयार गरेको छ।

विवाद समाधान गर्ने भन्दै उपमहानगरपालिकाले निर्माण हुने सडकहरुको चौडाई घटाएपछि ती सडकले धनगढीको जनघनत्वलाई आउँदो १० वर्ष मात्रै धान्ने आँकलन गरिएकाे छ। पत्रकार सम्मेलनमा क्षेत्रीय शहरी विकास आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी रुपचन्द्र बुढाथोकीले चौडाई घटाएर निर्माण गरिने सडकहरूले आउँदो १० वर्षसम्ममात्र धनगढीकाे जनसंख्याको चापलाई थेग्ने दाबी गरे।

कुन सडककाे मापदण्ड अब कस्ताे?धनगढी उपनगरपालिकाले मुख्य सडक ३० मिटरको सट्टा अब २४ मिटर कायम गरेको छ। त्यस्तै, धनगढी क्याम्पसगेट देखि जोखरतालसम्म २१, चटकपुरदेखि क्याम्पसगेटसम्म र धनगढीदेखि खुटिया (स्याउले) सम्मको सडक १६ मिटर चौडाई कायम गरिएको छ। भने हसनपुर रोड, प्रहरी गुल्म–चौराहा र मालपोत रोडको चौडाई १० मिटर कायम गरिएको छ।

एडिबीको सहयोगमा बन्ने ३ दशमलब ९९ किलोमिटरको धनगढी मेनरोड (चौराहदेखि कैलाली पुल)को चौडाई २४ मिटर मात्रै हुने भएपछि त्यसको एकतर्फी सडक ७ मिटर हुनेछ भने सडकको दुबैतर्फको साइकल लेनको चौडाई डेढ मिटरमात्र रहनेछ। त्यस्तै, दुबैतर्फ आधा मिटरको ड्रेन र २ मिटरको फु्टपाथ बन्नेछ। सडकको बीचमा एक मिटरको डिभाइडर रहने छ।

त्यसैगरी, घटाएर १६ मिटर चौडाई कायम गरिएका सडकको मुख्य बाटो ७ मिटरको हुनेछ। तर, ती सडकमा साइकल लेन, ड्रेन र फुटपाथ भने २४ मिटर चौडाई भएको सडक सरह नै हुने जनाइएको छ। त्यस्तै, १० मिटर चौडाई भएका सडकमा साइकल लेन नबन्ने र एक दशमलव ७५ मिटरको फुटपाथ मात्र बन्ने‍छ।

कहाँ र कति सडक बन्दैछ?उपमहानगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार एडिबीसँग सम्झौता भएको ४२‍‍‌.९६२ किलाेमिटर सडकमध्ये १०.२५० किलोमिटर सडक पहिलो चरणमा निर्माण हुनेछ।

पहिलो चरणमा निर्माण गर्ने सम्झौता भएका सडकमा प्रहरी गुल्मदेखि चौराहासम्म २ किलोमिटर ७ मिटर, धनगढी मेनरोड १ किलोमिटर ३८ मिटर र चटकपुरदेखि क्याम्पसगेटसम्म ३ दशमलब ६५ किलोमिटर रहेका छन्।

त्यस्तै, धनगढी–क्याम्पसगेट–जोखरताल सडक ७० मिटर, होटेल डिभोटीदेखि पिपल चौतारासम्म ८७, हसनपुर रोड १ दशमलब १५ किलोमिटर र मालपोत रोड ४३ मिटर रहेका छन्।

एसियाली विकास बैंकले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्टयाइएको १ अर्ब ३५ करोड रुपैयाँ बजेटमा सवा १० किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले २ चरणमा निर्माण गरिन लागेको आयोजनाका सूचना अधिकारी बुढाथोकीले बताए।

एडिबीको सहयोगमा धनगढी बेलीगाउँ ६ दशमलब ३८, धनगढी–त्रिवेणी २ दशमलब ४६ किलोमिटर र धनगढी–मोहना २ किलोमिटर ४ मिटर सडक निर्माणको सम्झौता भएको छ। त्यस्तै, पुरानो भन्सार रोड, प्रहरी गुल्म–चौराहा, धनगढी-मेनरोड, धनगढी–क्याम्पसगेट–जोखरताल, चटकपुर–क्याम्पसगेट, डिभोटी–पिपलचौतारा तथा नगरपालिका रोड रहेका छन्।

रातोपुल–तारानगर, चटकपुर–राजघाट, बोराडाँडी–तारानागर हुँदै खुटिया, बोराडाँडी–फाप्ला, खुटिया रोड, जोखरताल रोड, उत्तरबेहडी रोड, हसनपुर रोड, जुगेडा रोड, ल्याण्डफिल साइड रोड, मालपोत रोड, नैनादेवी रोड र फूलवारी रोड बनाउने सम्झौतासमेत भएको छ।

एडिबीसँग भएको सडक निर्माण सम्झौताअनुसार बन्ने सडकले उपमहानगरपालिकाका वडा नम्बर ३, ६, ९, ११, १३, १४, १५, १६, १७, १८ र १९ लाई भने समेटेको छैन।

नगर प्रमुख वडले धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यअनुसार सडकहरू निर्माण गर्दा विद्युत र  टेलिफोन केवललाई ‘अन्डरग्राउण्ड’ गरिने बताए।

घरसंरचना ३० मिटर बाहेक नै बनाउनुपर्ने

उपमहागरपालिकाले सडकको चौडाई घटाए पनि नगरबासीलाई घर निर्माणका लागि सडकबाट ३० मिटरभन्दा बाहिरमात्रै संरचना बनाउने गरी नक्सापास गर्ने गरेको छ। धनगढीको मेनरोडमा चौडाई घटाएर २४ मिटर कायम गरिए पनि अझैं थुप्रै घरसंरचना सडकको सिमानाभित्र रहेका छन्।

यद्दपि, एडिबीसँग आयोजना कार्यान्यवन गर्दा बढीमा ४२ वटा संरचना मात्रै भत्काउने उपमहानगरपालिकाले सहमति गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार