१४ बैशाख २०८१, शुक्रबार

सेती अञ्चल अस्पतालकाे प्रसुतिगृह तीन दिनदेखि सुनसान



शेरबहादुर ऐर/धनगढी । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालको प्रसुति गृह तीन दिनयता सुनसान बनेको छ । दैनिक प्रसुति गराउन आउने गर्भवतीहरुको भीड रहने सेती अञ्चल अस्पतालको प्रसुति गृहमा एकजना पनि सेवाग्राही आएका छैनन् ।


सेती अञ्चल अस्पतालमा प्रसुतिका लागि आएकी धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की रेखा थापाको गत बिहीबार मृत्युपछि अञ्चल अस्पतालको प्रसुति गृह सुनसान बनेको छ । गत ४ गते अञ्चल अस्पतालमा बच्चा जन्माएकी रेखाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि नेपालगन्ज लैलाने क्रममा बाटोमा मृत्यु भएको थियो । उनको मृत्युपछि उनका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै शुक्रबार आन्दोलन गरेका थिए ।
सोमबार प्रसुति गृहका एक वेड बाहेक अन्य सबै खाली थिए । प्रसुति गृहमा नर्स र स्वास्थ्यकर्मीबाहेक केही विरामी र आफन्तको मात्र उपस्थिति रहेको थियो ।
‘तीन दिनयता प्रसुति गृहमा प्रसुति सेवाका लागि गर्भवती आएका छैनन् । सोमबार तीन जना प्रसुति गृहमा भर्ना भएका छन्’ सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले भने– अञ्चल अस्पतालबारे गलत प्रचारका कारण प्रसुति गराउन सेवाग्राही आएका छैनन् । उनले शुक्रबारकोे घटनाले अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी तथा नर्सहरुको मनोबल पनि कमजोर भएको बताए ।
मेडिकल सुपरिटेन्टेन्ड डाक्टर पाण्डेले भने– हामीले प्रसुति गराउन आएका तथा जटिल स्वास्थ्य अवस्था भएका गर्भवतीलाई अन्यत्र रिफर गर्ने गरेको छौं ।
सेती अञ्चल अस्पताललाई सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी सुविधासम्पन्न अस्पतालका रुपमा लिइने गरिएको छ । मेडिकल सुपरिटेन्टेन्ड डाक्टर पाण्डेका अनुसार अञ्चल अस्पतालमा दैनिक सरदर २५ जना गर्भवती प्रसुति सेवाका लागि आउने गरेका छन् । उनले भने– तीमध्ये दैनिक सरदर पा“च जनाको सल्यक्रियामार्फत प्रसुति गराइने गरिन्थ्यो । अञ्चल अस्पतालको प्रसुति गृहमा ७० वटा बेड रहेका छन् । तीमध्ये तीन वटा अप्रेसन, १३ विरामी कुराउने र अन्य भर्ना गर्ने वेड रहेका छन् ।
मेडिकल सुपरिटेण्डेण्ट पाण्डेले विशेष टोलीले रेखाको मृत्यु घटनाबारे अनुसन्धान गरिसकेको र रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । उनले काठमाडौंको थापाथलीस्थित प्रसुति गृहका प्रमुख डाक्टर सन्देश पौडेलले रेखाको मृत्यु घटनाको अनुसन्धान गरेको बताए ।
उनले भने– प्रारम्भिक अनुसन्धानका क्रममा कसैको गल्ती देखिएको छैन, तर रिपोर्ट आएपछि मात्र आधिकारिक थाहा हुने छ ।
शुक्रबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रतिनिधी, स्थानीय प्रशासन तथा मृतक रेखाका आफन्त लगायतको उपस्थितिमा भएको छलफलमा गरिएको सहमतिअनुसार विशेष टोलीले घटनाको अनुसन्धान गरेको हो । मृतकका आफन्त र अस्पताल प्रशासनबीच पाँचबुँदे सहमति भएको थियो ।
सहमति अनुसार उपचारका क्रममा के भएको हो ? भन्ने विषयमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने, नवजात शिशुको निःशुल्क उपचार गर्ने, बच्चाको शिक्षाको व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने, बच्चाको पालनपोषणका लागि मन्त्री परिषदमा प्रस्ताव लैजाने, बच्चा २४ वर्ष हुँदासम्म अस्पतालमा निःशुल्क उपचार गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार