१४ बैशाख २०८१, शुक्रबार

सम्पादकीयः होलीको मंगलमय शुभकामना



यतिवेला हिन्दू धर्मावलम्बीहरूको प्रमुख सांस्कृतिक पर्वका रुपमा रहेको फागु पूर्णिमा अर्थात् होलीको रौनक छाएको छ । यो पौराणिक कालमा असुरराज हिरण्यकशिपुकी बहिनी होलिकाले जगतपालक भगवान श्रीहरि बिष्णुृका परमभक्त प्रल्हादलाई जलाएर मार्ने प्रयासमा स्वयं आगोमा दहन भएको घटनाको स्मरणका साथै दुष्ट प्रवृत्तिकी प्रतिक होलिका दहनको खुसीयालीको पर्व हो । यत्तिले मात्र पनि होली पर्वको सौन्दर्य र रौनकलाई समेट्दैन । यो प्रेम, भाइचारा, यौवन, मस्ती, खुसीयालीको पर्व हो । समानताको पर्व हो । एकले अर्कालाई रंग लगाउन कुनै उमेर, वर्ग, समुदाय, जात, लिङ्गको छेकबार हुदैन । सधैं मनमा कपट र गलत सोचबाहेकका प्रत्येकले पवित्र भावले एकअर्कालाई होलीको रंग लगाइरहेका हुन्छन् । वर्षभरीको दुःख एक दिनका लागि भए पनि बिर्सेर होली पर्वको रंगमा चुर्लुम्म डुब्ने पर्व हो यो । भगवान श्रीकृष्ण तथा राधाको अमर प्रेमका कथामा आधारित गीत, प्रेम तथा प्रणयका गीत, ढोलकको थापमा मस्तसाथ नाचगानमा रमाएकाहरूको पर्व हो यो ।
आधुनिकताका नाममा हरेक चाडपर्वमा विकृति भित्रिने गरेका छन् । होली अथवा फागु पर्व पनि यसबाट अछुतो रहेको छैन । मदिरा, गा“जाभा“ग, चरेश सहितका लागू पदार्थको सेवन गरेर लठ्ठिएकाहरु होली खेल्ने नाममा मच्याउने तथा प्रदर्शन गर्ने उदण्डता, अभद्र तथा उछृंखलताले यो पर्वलाई विकृत बनाउन उद्यत छन् । मादक पदार्थको सेवनबाट होस गुमाएकाहरुको उछृंखलताका कारण होलीका अवसरमा व्यर्थमा ज्यान गुमाएका घटना दोहोरिरहेका छन् । समुह भिडन्तका अप्रिय घटना भएका छन् । अंगभंग भएका छन् । शान्ति सुर्क्षालाई चुनौति थपिने गरेको छ । त्यसैले यी र यस्ता विकृति, बिसंगती तथा उछृंखलतालाई नियन्त्रण गरिनै पर्दछ ।
कैलाली प्रहरीले यस पटक होलीलाई मर्यादित तथा व्यवस्थित बनाउन शान्तिसुरक्षाको बलियो प्रबन्ध मात्रै गर्ने घोषणा गरेको छैन, जथाभावी र जबरजस्ती अरुलाईै रंग लगाउने, मदिरा सहितका लागू पदार्थको सेवन गरेर सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्नेहरुलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्ने बताएको छ । चाडपर्वमा हुने अबांछित, उछृंखल गतिविधि नियन्त्रण आवश्यक हुन्छ र यो प्रहरी प्रशासनको अहम् दायित्व पनि हो । कैलाली प्रहरीले घोषणा गरेअनुरुपको अभियान सञ्चालन भयो भने निश्चय नै यस पटकको होली पर्वमा कुनै पनि अप्रिय घटना हुने छैन भन्ने अपेक्षा गर्न सकिन्छ । ध्यान दिनु पर्ने पक्ष के मात्रै हो भने उछृंखलता नियन्त्रणका नाममा होलीको रंगमा रमाइरहेका निर्दोष युवायुवतिले कष्ट वा कारबाही भोग्नु नपरोस् । होली पर्वमा निस्फिक्रीसंग रंग खेल्दा अथवा नाचगान गर्दा त्यसलाई पनि उछृंखलताको नाम दिने काम नहोस् । आशा गरौं, प्रहरीले खुसीयाली मनाइरहेका र पर्वका नाममा उछृंखलता तथा गलत क्रियाकलाप गरिरहेकाहरुबीचको अन्तर छुट्याउन सक्नेछ ।
होली पर्वको मंगलमय शुभकामना । यो पर्वले हरेक नेपालीको जीवनमा खुसीयाली छरोस् । सबैको जीवन रंग झैं मुस्कुरावस् । दुष्ट प्रवृत्तिको प्रतिक मानिएको होलिका दहनको मर्म स्मरण होस् । सबैमा हार्दिक मंगलमय शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार