१४ बैशाख २०८१, शुक्रबार

सम्पादकीय: मुख्यमन्त्री कपकाे उपलब्धि के भयो ?



निकै तामझामका साथ सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता समापन भइसकेको छ । आयोजनामा कति खर्च भयो भन्ने केही दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ, र प्रतियोगितामा भएको वास्तविक खर्चको यथार्थ विवरणको जानकारी पाउने जनताको अधिकार पनि हो । अहिलेका लागि यो प्रतियोगिता आयोजनाबाट के उपलब्धि भयो ? भन्नेबारे अहिले पनि विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । प्रदेश सरकारले आफ्नो वार्षिक बजेटमा नै मुख्यमन्त्री कप कार्यक्रम समावेश गरेर रकम विनियोजन गरेको थियो । यत्रो ठूलो प्रतियोगिता आयोजना गर्दा निश्चय पनि खेलकुदको विकासका साथै सुदूरपश्चिममा खेल पर्यटनको विकासमा टेवा पुग्ने अपेक्षा गरिन्छ नै । त्यसैगरी खेलाडीहरूको प्रतिभा तथा सीपकौशलमा अझ निखार आउने, कुनै पनि कारणले आफ्नो क्षमता प्रदर्शन गर्न नपाएका नयाँ खेलाडीहरूले पनि अवसर पाउने अपेक्षा गरिन्छ । प्रथम मुख्यमन्त्री कपको आयोजनापछि यस्ता उपलब्धि कति हदसम्म प्राप्त भए भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो । यो प्रतियोगिताको सबैभन्दा ठूलो उपलब्धि भनेको सात वटै प्रदेशबाट खेलाडी, अफिसियल र प्रशिक्षक समेत गरी साढे सय बढीले यसमा सहभागी बन्ने अवसर पाए । चार, पाँच दिनसम्म धनगढीमा केही चहलपहल बढ्यो ।

यो प्रतियोगिताको तयारीदेखिनै भएका विवाद समापन भइसक्दा पनि जारी नै रहेको अवस्था छ । सरकारले यो प्रतियोगितालाई प्रदेशकै एउटा खेलकुद महोत्सवका रूपमा आयोजना गर्ने जमर्को गर्नुपर्दथ्यो । यस्ता वृहत स्तरका प्रतियोगिताहरू सरकारको नेतृत्व गरिरहेको कुनै अमुक राजनीतिक दलको मात्रै चासो र सरोकारको विषय हुँदैन भन्ने मनन् गरेर प्रदेश सरकारले यसलाई सबैको साझा चासो र सरोकारको आयोजना बनाउनेतर्फ पहल गर्नु पर्दथ्यो । त्यस्तै, विद्यालय तहबाट खेलाडीको छनोट प्रक्रिया अवलम्बन गर्ने प्रबन्ध गरिनु पर्दथ्यो । यस्तो गर्न सम्भव थिएन भने ठोस आधार बनाएर प्रदेश तहको खेलाडी छनोट प्रतियोगिता सञ्चालन गरिनु पर्दथ्यो । त्यस्तै, एथलेटिक्स, मार्सल आर्ट लगायतका खेलहरू पनि समावेश गरिनु पर्दथ्यो । प्रतियोगिता सञ्चालनका लागि सर्वपक्षीय सरोकार र समन्वय बनाउन विभिन्न समिति, उपसमिति गठन प्रक्रिया पारदर्शी र निष्पक्ष बनाइनु पर्दथ्यो । तर, बिडम्बना प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगितामा यी कुनै पक्षप्रति चासो दिएको पाइएन । परिणामतः यो प्रतियोगिताको सञ्चालनले अपेक्षित उत्साह जगाउन सकेन, न त आयोजनाको समापन पछि स्मरणयोग्य नै रह्यो भन्ने विश्लेषण अत्युक्ति हुँदैन ।

प्रथम मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता शुरु नहुँदै विभिन्न कोणबाट भएगरेका तिखा टिप्पणीलाई आफूप्रतिको आलोचनाका रूपमा मनन् नगरेर आगामी दिनका लागि सुधार गर्न व्यक्त भएका सुझाव हुन् भन्ने ठानियो भने पक्कै पनि आउदा वर्षहरूमा यो कपको आयोजना सबैका लागि प्रतिक्षा बन्ने छ । खेलाडीहरूले मुख्यमन्त्री कपमा सहभागी बन्न पाउदा आफूलाई गौरवान्वित भएको महसुस गर्न पाउन् भन्नका लागि र साच्चै नै खेलकुद पर्यटनको विकास गर्ने ध्येय हो भने यस पटकका कमीकमजोरीलाई सच्याउने अहिलेदेखि नै अठोट र तत्परता आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार