१४ बैशाख २०८१, शुक्रबार

जोखिम न्यूनिकरण गर्ने सामाग्री हस्तान्तरण



धनगढी । गैरसरकारी संस्था फाया नेपालले बुधबार कैलालीको गोदावरी नगरपालिकाका वडा नम्वर १ र १० मा बिपद जोखिम न्यूनिकरण गर्ने आवश्यक पर्ने सामग्री हस्तान्तरण गरेको छ ।

गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउद र उपप्रमुख रत्ना कडायत मार्फत विपद सामाग्रीहरु वडा नम्वर १ र १० का वडा अध्यक्षलाई हस्तान्तरण गरिएको हो । फाया नेपालले वडा नम्वर १ र १० मा नेपालमा समावेशी प्रकोप उत्थानशील प्रयासहरुबाट जोखिमपूर्ण समुदायको पूर्व तयारी स्थिति निर्माण परियोजनाको सञ्चालन गरिरहेको छ ।
फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकका अनुसार हस्तान्तरण गरिएका सामग्रीहरुमा ज्येष्ठ नागरिकहरुलाई बिपदमा काम लाग्ने नजिक देख्ने, चश्मा, बैशाखी, लाईफ ज्याकेट, त्रिपाल, हाते साइरन लगायत रहेका छन् । उनले वडा नम्बर १ मा झण्डै ५० हजार रुपैया बराबर र वडा नम्बर १० एक लाख बराबरका सामग्रीहरु हस्तान्तरण गरिएको बताए ।
यसैवीच गोदावरी नगरपालिका र फाया नेपालको संयुक्त पहलमा वडा नम्वर १० को टुडेला खोलाको जोखिमबाट बच्न बनाउन थालिएको तटवन्धको पनि निरिक्षण गरिएको छ । निरिक्षणमा नगर प्रमुख साउद, उपप्रमुख कडायत, वडाअध्यक्ष रविन्द्र शाही, फायाका कार्यक्रम निर्देशक पाठक, फायाका पूर्व अध्यक्ष शेरबहादुर बस्नेत लगायतको सहभागिता रहेको थियो । सो तटवन्ध बनाउन नगरपालिकाले एक लाख ५० हजार र फाया नेपालले एक लाख रुपैयाँ खर्च गर्ने जनाइएको छ ।

सामग्री हस्तान्तरण तथा तटबन्ध निरीक्षणपछि आयोजित परियोजना सल्लाहकार बैठकमा बोल्दै गोदावरी नगरपालिकाका प्रमुख साउदले हरेक क्षेत्रमा ज्येष्ठ नागरिक मैत्री संरचना बनाउन र बिपद जोखिम न्यूनिकरणको नीति बनाउँदा ज्येष्ठ नागरिकलाई पनि महत्व दिने र उहाँहरुका अनुभव लिन नगरपालिका प्रयासरत रहेको बताए ।
गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायतले बिपदबाट ज्येष्ठ नागरिकहरुलाई जोगाउन फायाले गरेको सहयोगले नगरपालिकाले पनि केही गर्नुपर्छ भन्ने प्रेरणा प्राप्त भएको बताइन ।
बैठकमा जेष्ठ नागरिक समूहका गोदावरी नगर अध्यक्ष नन्दसिंह खड्काले नगरपालिका, महिला विकास शाखा र प्रदेश सरकारको सहयोगमा नगर क्षेत्रमा जेष्ठ नागरिक दिवा भवन निर्माण गर्ने योजनामा रहेको वताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार