१४ बैशाख २०८१, शुक्रबार

सीवाइसी अत्तरिया डीपीएलको च्याम्पियन



धनगढी । सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको विजेता भएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको अन्तिम खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो । सीवाइसीले पहिलो पटक उपाधी जितेको हो । टस जितेर ब्याटिङमा आएको महेन्द्रनगरका ओपनर दिलिप नाथले ४३ रन बनाए । ४१ बल खेलमा उनले ५ चौका र १ छक्का प्रहार गरे । कुशल मल्ल २५, रोहित पौडेल २४, आरिफ शेख ११ र महोम्मद नाभेद १० रनमा आउट भए । महेन्द्रनगरका ५ खेलाडी रन आउट भएका थिए । अत्तरियाका दिपेन्द्र रावतले २ ओभरमा ११ र दिपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २÷२ विकेट लिए । सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए ।
महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनाएर पूरा ग¥यो । अन्तिम २ बलमा ३ रन चाहिएको अवस्थामा सन्नी पटेलले दोस्रो अन्तिम बलमा अविनाश बोहोरालाई स्ट्रेट छक्का प्रहार गरेका थिए । पटेल २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रनमा अविजित रहे । अर्का अविजित ब्याट्सम्यान जितेन्द्रसिंह ठकुरीले ३ रन बनाए । अत्तरियाबाट अन्य खेलाडीमा जयकिसन कोल्सावालाले ३० र कप्तान दिपेन्द्रसिंह ऐरीले १७ रन बनाए । महेन्द्रनगरका महोम्मद नाभेद र अविनाश बोहोराले २÷२ विकेट लिए ।


खेलमा म्यान अफ द फाईनल अत्तरियाका सन्नी पटेल भए भने पटेलले म्यान अफ द सिरिजको पुरस्कारमा २ लाख नगद पाए । उपाधि जितेसंगै अत्तरियाले ३० लाख सहित ट्रफी र मेडल पाएको छ भने उप विजेता महेन्द्रनगर १२ लाखमा चित्त बुझाएको छ ।
यस्तै प्रतियोगिताको मोष्ट भेल्युवल प्लेयर सिवाईसी अत्तरियाका कप्तान समेत रहेका दिपेन्द्रसिंह ऐरी चुनिए । दिपेन्द्रले सुनको जुत्ता पाए । कप्तान दिपेन्द्रसिंह ऐरीले ७ खेलमा १ सय ६८ रन बनाउनुको साथै १० विकेट लिएका थिए ।
अत्तरियालाई उपाधि जिताउन उत्कृष्ट प्रर्दशन गरेका सन्नी पटेल म्यान अफ द सिरीज र बेस्ट ब्याट्सम्यान घोषित भए । सन्नीले ७ खेलमा ६ पटक ब्याटिङ गर्ने मौका पाउँदा कुल २ सय २ रन बनाए । त्यस्तै बलिङमा पटेलले ९ विकेट लिएका थिए । बेस्ट ब्याट्सम्यान मार्फत एक लाख र म्यान अफ द सिरीज चुनिएकोमा २ लाख प्राप्त गरे । भुवन कार्की प्रतियोगिताकै उत्कृष्ट बलर चुनिए । कार्कीले एक लाख प्राप्त गरे । कार्कीले ७ खेलमा १४ विकेट लिएका थिए ।

शरद भेष्वाकरको कप्तानीमा रहेको महेन्द्रनगर र दीपन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाबीच फाइनलमा पहिलो पटक भिडेका थिए । भेषावकरको कप्तानीमा रहेको टिमले यसै वर्ष मात्रै पोखरा प्रिमियर लिग जितेको थियो । राउन्ड रोबिनको खेलमा अत्तरियाले एक खेल मात्रै हारेको थियो । जुन महेन्द्रनगर युनाइटेडसँग थियो । वर्षाले मैदान हिलाम्य बनाएपछि ६÷६ ओभर खेलाइएको उक्त खेलमा महेन्द्रनगरले ७ विकेटको जित हात पारेको थियो ।

यसअघिका दुई संस्करणको उपाधि स्थानीय टोली टिम चौराह धनगढीले उचालेको थियो । धनगढी क्रिकेट एकेडमीले आयोजना गरेको प्रतियोगितामा ६ सहरका ६ फ्रेन्चाईज टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार