१५ बैशाख २०८१, शनिबार

डिपिएलः प्लेअफमा पुग्ने चार टीमको टुङगो लाग्यो



धनगढी । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्लेअफमा पुग्ने टीमको टुङगो लागेको छ । सोमबार भएको खेलको नतिजाले चार टोलीको टुङगो लगाएको हो ।

अपराजित रहेको काठमाण्डौ ७ अंक सहित शिर्ष स्थानमा रहँदा सिवाईसी अत्तरिया दोस्रो स्थानमा छ । समान ६ अंक भएपनि रुपन्देही च्यालेन्जर्स रन रेटका आधारमा तेस्रो स्थानमा रहेको छ । महेन्द्रनगर युनाईटे र विराटनगर किंग्सको समान चार अंक भएपनि रनरेटका आधारमा महेन्द्रनगर प्लेअफमा पुगेको छ ।
पहिलो स्थानमा रहेको काठमाण्डौ र दोस्रो स्थानमा रहेको सिवाईसी अत्तरिया बीचको खेल हुन बाँकी रहेको छ । त्यसले पहिलो र दोस्रो स्थानमा रहने टीमको टुङगो लाग्नेछ । सोमबारको दोस्रो खेलमा सीवाइसी अत्तरिया विराटनगरलाई हराउँदै प्लेअफमा पुगेको छ । विराटनगर किंग्सलाई १० रनले हराउँदै अत्तरिया प्लेअफको पुगेको हो । आफुसँगै महेन्द्रनगर युनाईटेडलाई पनि अत्तरियाले जित हात पार्दै प्लेअफमा पुगाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ३ विकेटको क्षतिमा प्रतियोगिताकै सर्वाधिक ठुलो स्कोर १४८ रन बनायो । अत्तरियाको उच्च स्कोरमा सन्नी पटेल र जय किसन कोल्शावालाले अर्धशतकीय ईनिङस खेले । बिस्फोटक ब्याटिङ गरेका सन्नीले अविजित ६१ रन बनाए । ३१ बलमा ५ चौका र ४ छक्का प्रहार गरेका सन्नीले अन्तिम ओभरमा किशोर महतोको बलमा २ छक्का र ३ चौका प्रहार गरे । सन्नी डीपीएलमा अर्धशतक पुरा गर्ने पाँचौ खेलाडी समेत बने । यस्तै कोल्सावाला ५१ रनमा अविजित रहे । डीपीएलमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका कोल्सावालाले ५० बलमा ५ चौका र २ छक्का प्रहार गरे । यस्तै जितेन्द्र सिंह ठकुरीले १३ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १० रन बनाए । विराटनगरका सुशन भारी र संसद शेखले समान १÷१ विकेट लिए ।
फाप्ला क्रिकेट मैदानमा अत्तरियाले दिएको १४९ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।विराटनगरका लागि आसिफ शेखले सर्वाधिक ३९ रन बनाउदा पृथु बास्कोटाले २७ रन जोडे । यस्तै अभिनाश यादवले १४ असद उल्लाह खान पठानले १३ रन बनाए । कप्तान करण केसी १२ रनमा आउट भए । अत्तरियाका भुवन कार्की र दिपेन्द्र रावतले समान ३÷३ विकेट लिए ।
सोमबार भएको पहिलो खेलमा जित हात पारेर रुपन्देही च्यालेन्जर्स तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । साविकको विजेता धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही प्ले अफमा पुगेको हो । धनगढी भने जित विहीन भएर तेस्रो संस्करणबाट वाहिरिएको छ ।
बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीले फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्दै १५ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनायो । हुस्सुको कारण ढिला सुरु हुँदा १५ ओभरमा खटाएर खेलाईएको खेलमा रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक ३३ रन बनाए । यस्तै विनोद भण्डारीले २४ रन बनाए । रुपन्देहीका बाबर हायातले १९ रन जोड्दा विक्रम शोवले ११ रन बनाए । धनगढीका कप्तान सोमपाल कामी, पवन सर्राफ र विपिन खत्रीले समान २÷२ विकेट लिए ।
रुपन्देहीले दिएको १०७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको धनगढी १४ ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । धनगढीका पवन सर्राफले सर्वाधिक १५ रन बनाए । यस्तै कप्तान सोमपाल कामीले ११ रन जोड्दा सन्दीप रजालीले १० रन बनाए । धनगढीलाई सस्तैमा समेट्न रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा विक्रम सोवले २ विकेट लिए । जितसंगै रुपन्देहीले ५ खेलबाट ६ अंक जोडेको छ । रुपन्देही अंक तालिकाकोे दोस्रो स्थानमा उक्लिएको छ । साविकको विजेता धनगढी भने जित विहीन बन्दै घर फर्किएको छ । धनगढीले ५ खेलमा मात्र १ अंक जोड्न सक्यो । अघिल्ला दुई संस्करणको विजेता धनगढी पहिलो पटक प्ले अफ नपुग्दै प्रतियोगिताबाट बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार