१४ बैशाख २०८१, शुक्रबार

मिस सुदूरपश्चिम गुरुङ भइन्, स्टारको ब्राण्ड एम्बेस्डर



धनगढी । स्टार स्कूल अफ ट्रेनिङ एण्ड रिसर्च प्रालिले मिस सुदूरपश्चिम २०१८ लाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ ।
स्टारले मंगलबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी मिस सुदूरपश्चिम २०१८ विजेता मोनिका गुरुङलाई अनुबन्धित गरेको हो । कार्यक्रममा गुरुङ र स्टारका प्रबन्ध निर्देशक शैलेन्द्रकुमार सिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सिंहका अनुसार स्टारको शैक्षिक कार्यक्रममा गुरुङले उत्प्रेरकको भूमिका निर्वाह गर्ने छिन् भने स्टारले उनलाई वर्षको एक लाख रुपैयाँ रुपैयाँ पारिश्रमिक दिने छ ।
एसईई परीक्षाका लागि गुरुङमार्फत् ३० हजार नुमुना प्रश्नका किताब परीक्षार्थीहरुलाई वितरण गरिने सिंहले जनाए । उनले सुदूरपश्चिम प्रदेशमा एसईईको नतिजा अन्य प्रदेशको तुलनामा कमजोर रहेको हुनाले एसईई दिने परीक्षार्थीको मनोबल बढाउने र उनीहरुलाई पढाईप्रति उत्प्रेरित गर्नका लागि कार्यक्रमहरु सञ्चालन गरिने बताए ।
मिस सुदूरपश्चिम गुरुङले एक जनाको सानो प्रयासले धेरै व्यक्तिमा ईच्छा शक्ति पैदा हुने भएको हुनाले आफूले स्टारको शैक्षिक कार्यक्रम मार्फत् परीक्षार्थीमा उत्प्रेरणा जगाउन काम गर्ने बताइन् ।
स्टारले धनगढीमा कार्यालय स्थापना गरी विद्यालय, कलेज र विभिन्न पेशाको परीक्षाको तयारी कक्षाहरु सञ्चालन गर्दै आएको छ । प्रबन्ध निर्देशक सिंहले सामाजिक उत्तरदायित्व पुरा गर्नका लागि एसईईका परीक्षार्थीलाई उत्प्रेरणादायी कार्यक्रम गर्न गुरुङलाई ब्राण्ड एम्बेस्डर बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार