१४ बैशाख २०८१, शुक्रबार

चुनौति र अवसरबीच महिला भल्मन्सा



धनगढी । सीता चौधरीलाई गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुर गाउँको भल्मन्सा बनेको तीन वर्ष भयो । महिला भएका कारण भल्मन्साको दायित्व निर्वाह गर्नु सहज छैन, तर उनी गाउमा विकास निर्माण, झैझगडा निरुपण तथा मेलमिलाप सहित सामाजिक कार्यमा सधैं तत्पर रहने गरेकी छिन् ।

भल्मन्सा भएको शुरुहुरुमा उनलाई आफ्नो काम गर्न निकै चुनौति थियो । घर परिवार सम्हाल्नु पर्ने भएकोले सामाजिक कार्यमा पर्याप्त समय दिन गाह्रो हुने गरेको उनको अनुभव छ । ‘म महिला भएको हुनाले पुरुषहरुले मेरो कुरा काट्ने गरेका छन्’ भलमन्सा सीताले अनुमोदनसंगे भनिन्– जतिसुकै राम्रो काम गरे पनि केहि पुरुषले विश्वास नै गर्दैनन् । गाउ समाजमा अहिले पनि सबैले महिलालाई भल्मन्साका रुपमा स्वीकार गर्न सकेको पाइदैन ।
सीतालाई उनका श्रीमान् र गाउका अन्य महिलाले भने राम्रो समर्थन र सहयोग गरिरहेका छन् । महिला भल्मन्सा भएकाले नै जोनापुरका महिलाहरु पनि सामाजिक तथा विकास निर्माण कार्यमा अग्रसर हुने गरेका छन् । ‘गाउँको काममा सहभागी हुनेमध्ये ९० प्रतिशत महिला नै हुन्छन्’ सीताले भनिन् ।
चुनौतिको सामना गर्दै भलमन्साको दायित्व कुशलतापूर्वक निर्वाह गरेकोले समाजमा उनीप्रति विश्वास बृद्धि भएको छ । ‘मेरा लागि भल्मन्सा अवसर पनि बन्यो’ २०७४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य पदमा जितेकी सीताले भनिन्– अहिले मैले वडा सदस्य तथा भल्मन्सा दुवैको जिम्मेवारी बहन गरिरहेकी छु ।
महिला भल्मन्सा भएकाले गाउघरमा महिलाहरुले आफ्नो पीडा सुन्ने नेतृत्व पाएको अनुभव गरेका छन् । गाउँमा श्रीमान् श्रीमतीबीचको झगडा लगायतका लैंगिक हिंसाका घटनाहरु सुनुवाई गरी मिलाउन गाउका महिला र वडा कार्यालयका मेलमिलापकर्ताहरुले उनलाई सघाउने गरेका छन् । ‘गाउँघरमा हुने घटनाहरु प्रायः गाउ“मै टुंग्याउन सफल भएकी छु’ भलमन्सा सीताले भनिन्– गम्भीर प्रकृतिका घटनाहरु भने प्रहरी कार्यालयमा पठाउने गरेकी छु ।

भल्मन्साका रुपमा गाउँमा कृषि, कुलो, शिक्षा, स्वास्थ्य लगायतको विकासमा काम गर्दै आएकी सीताले वडा सदस्य भएपछि वडामै सडक, नहर, पुल लगायतका विकासको काममा सक्रियता बढाएकी छिन् ।
पछिल्लो समय कैलालीमा महिला र युवाहरु भल्मन्सा बन्नेमा आकर्षित हुदै गएका छन् । विगतमा थारु समुदायमा पाका पुरुष मात्रै भल्मन्सा बन्ने गरेकोमा पछिल्ला केही वर्षयता महिला तथा युवाहरू पनि भलमन्सा बनेका छन् । महिला र युवाहरु भल्मन्सा हुन थालेपछि उनीहरुले आफ्नो भूमिका फराकिलो बनाउदै लगेका छन् । उनीहरूले स्थानीय तहसंग समन्वय र सहकार्य बढाउदै लगेका छन् । विकास निर्माण तथा सामाजिक विकासका क्षेत्रमा अग्रसर हुन थालेका छन् ।
कैलालीको कैलारी र जोशीपुर गाउँपालिका, गोदावरी, भजनी, टीकापुर नगरपालिका लगायतका स्थानीय तहका केही गाउमा महिला भल्मन्सा छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार