१४ बैशाख २०८१, शुक्रबार

सुरक्षा गार्डहरूको गुनासो– अन्याय भयो



धनगढी । कैलालीको धनगढीस्थित एनआइसी एसिया बैंकमा करारमा सुरक्षा गार्डमा कार्यरत शेरबहादुर बिष्टको हातमा माघ १ गते बिहान एउटा पत्र प्राप्त भयो । उनले पत्र पढेपछि छांगाबाट खसे झैं भयो । उनले भने– “मलाई जागिरबाट हटाएर अर्कैलाई जिम्मेवारी दिएर पठाइएको रहेछ ।”उनी २०६६ सालदेखि बैंकमा कार्यरत थिए । गुरुड सेक्युरिटी कम्पनीमार्फत उनी सो बैंकमा कार्यरत रहेका थिए । उनीसँगै बैंकमा कार्यरत अन्य आठ जनालाई पनि परिवर्तन गरिएको थियो । बैंकमा गुरुड सेक्युरिटीसँगको सम्झौता खारेज गरेर नयाँ लकेसा सेक्युरिटीबाट गार्डहरू पठाइएको थियो ।
गार्ड बिष्टले भने– “हामीले नयाँ श्रम ऐन अनुसार सेवासुविधा माग्दा जानकारी नै नगराई हटाइयो ।” उनले विगतमा पनि पटक–पटक गार्ड परिवर्तन गर्दा सोधपुछ तथा जानकारी गराइने गरेको स्मरण गर्दै भने– “तर यो पटक जानकारी नै नगराइएका हामीलाई हटाइयो । हामीलाई हटाइएकोमा चिन्ता होइन, तर एक पटक सोध्नु त पर्ने थियो ।”
बिष्ट बैंकमा मासिक १५ हजार चार सय ९० रुपैयाँमा कार्यरत थिए । गत साउन महिनादेखि नयाँ श्रम ऐन अनुसार सेवासुविधा पाउनुपर्ने उनीहरूले माग गरेका थिए । उनले भने– “साउन यता हामीले एक रुपैयाँ पनि पाएका छैनौं ।”
बैंकका क्षेत्रीय निर्देशक टेकराज भट्टले पुरानो सेक्यूरिटी कम्पनीसँग सम्झौता सकिएपछि प्रक्रिया अनुसार नयाँ कम्पनीसँग सम्झौता गरिएको बताए ।
कैलाली सेक्युरिटी युनियन कैलालीका अध्यक्ष धनबहादुर चन्दले “नेपाल सरकारले बढाएको सेवा सुविधा अनुसार दिन नमानि विभिन्न बहानामा बैंकहरूले गार्डमाथि अन्याय गरिरहेका छन् ।”
कैलालीका अधिकांस प्राइभेट कम्पनीबाट बैंकमा कार्यरत सुरक्षा गार्डहरूले लामो समयदेखि सेवासुविधा नपाएको गुनासो गरेका छन् । सुरक्षागार्डले श्रम ऐनले व्यवस्था गरे अनुसारको न्यूनतम पारिश्रमिक तथा सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।
युनियनका अध्यक्ष चन्दले धनगढीस्थित एनआइसी बैंक र जनता बैंकले साउन यता सुरक्षा गार्डलाई सेवासुविधा नदिएको गुनासो गरे । उनले जनता बैंकले श्रम ऐन अनुसार तलब माग गर्दा दुई जना सुरक्षा गार्ड बैंकले हटाएको बताए ।
“७० प्रतिशतको नियमित तलब, पोसाक र ओभर टाइमको भत्ता नपाउने समस्या छ,” अध्यक्ष चन्दले भने, “९५ प्रतिशतले ऐनले व्यवस्था गरे अनुसारको न्यूनतम तलबपाएका छैनन् ।” केही कम्पनीले ३ महिनादेखि तलब रोकेका छन् ।
कैलालीमा दुई दर्जनभन्दा बढी सेक्युरिटी कम्पनीमा ४ सय बढी सुरक्षागार्ड कार्यरत छन् । तीमध्ये अधिकांश कम्पनीले श्रम ऐनअनुसार पाउनुपर्ने तलब र सेवासुविधा नदिएका हुन । अध्यक्ष चन्दले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकमा कार्यरत सुरक्षा गार्डले समेत पूर्ण सेवासुविधा पाउन नसकेको गुनासो आएको जानकारी दिए । “कतिपयले ७÷८ हजारमा १२ घण्टासम्म काम गर्नुपरेको अवस्था छ,” चन्दले भने, “त्यो तलब पनि समयमै पाउँदैनन ।”
संघका सचिव खड्क चन्दले सुरक्षा गार्ड कार्यरत कम्पनी र बैंक तथा वित्तीय संघसंस्थाहरू जिम्मेवार नभएको बताए । “सेक्युरिटी कम्पनीले काममा लगाउने कार्यालयहरूले तलब उपलब्ध नगराएको गुनासो गर्छन,” उनले भने, “काममा लगाउने कार्यालयले कम्पनीमा तलब पठाइसकेको बताउँछ । तलब भने कतैबाट पाइदैन ।” उनले सम्बन्धित गार्डको खातामा सिधै तलब हाल्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार