१४ बैशाख २०८१, शुक्रबार

आजदेखि सुदूरपश्चिम गोल्डकप (खेलतालिका सहित)



धनगढी । धनगढीमा आजदेखि तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता शुरु हुँदैछ । प्रतियोगिता सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक सुदूरपश्चिम–११ स्पोट्र्स क्लवले जनाएको छ ।
प्रतियोगिता सञ्चालनको पूर्वसन्ध्यामा सोमबार धनगढी रंगशालामा आयोजित पत्रकार सम्मेलनमा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा आयोजक क्लवका अध्यक्ष सुरेश हमालले सुदूरपश्चिम गोल्डकप फुटवल प्रतियोगिता खेलकुदको क्षेत्रमा पर्वका रूपमा स्थापित भइसकेको बताए । उनले भने– “यो आम सुदूरपश्चिमेली जनताको पर्वको हो । हामीले दशैं, तिहार, माघीलगायत पर्व मनाए झैं यसलाई पनि पर्वका रूपमा मनाउनु पर्दछ ।”
उनले सुदूरपश्चिम गोल्डकपले फुटवल प्रतियोगितालाई राष्ट्रव्यापी रूपमा अलग्गै पहिचान दिएको बताए । भने– “सुदूरपश्चिम गोल्डकप प्रतियोगिताले पछिल्लो समय उल्लेख्य स्वरूप लिंदै गएको छ र छोटो समयमै देशकै उत्कृष्ट प्रतियोगिताको रूपमा स्थापित गर्न सफल भएको छ ।”
पत्रकार सम्मेलनमा कैलाली खेलकुद विकास समितिका अध्यक्ष दीपकबहादुर सिंहले धनगढी रंगशालाको स्तरोन्नतिको कार्य अगाडि बढेको जानकारी दिए । उनले भने– “राष्ट्रिय खेलकुद परिषद्ले धनगढी रंगशाला स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया सुरु गरिसकेको छ । केही दिनमा टेन्डर प्रक्रिया सकिएपछि निर्माणको कार्य सुरु हुने छ ।”
तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा नेपालका ‘ए’ डिभिजन लिगका टोली र विदेशी टोलीसहित १२ वटा टोलीको सहभागिता रहने जनाइएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक सुदूरपश्चिम–११ र मेची नेत्रालय का“करभिट्टा फुटवल ट्रेनिङ सेन्टरबीच हुने छ ।
प्रतियोगिता उद्घाटन अघि मध्यान्ह धनगढी चौराहबाट झाँकीसहितको ¥याली प्रतियोगिता स्थलसम्म पुग्ने जनाइएको छ ।
देशकै सर्वाधिक धनराशिको प्रतियोगीताको विजेताले २१ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले १० लाख रुपैया“ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहाको १५० सीसी मोटरसाईकल प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट विजेताले जनही १५ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।
प्रतियोगिताको सफल सञ्चालनका लागि विभिन्न उपसमितहरू गठन गरिएको छ । प्रायोजक उपसमितिको संयोजक बाबुराजा श्रेष्ठ, आर्थिक उपसमितिको संयोजक योगेन्द्र चन्द, टिकट उपसमिति संयोजक धुव्र बराल, मिडिया संयोजक ओम चन्द, कार्यालय तथा सचिवलाय उपसमिति संयोजक देवेन्द्र जोशी र मैदान मर्मत उपसमिति संयोजकमा चक्र मल्ल रहेका छन् ।
त्यस्तै, होटेल व्यवस्थापन उपसमितिको संयोजकमा तेज खड्का, पार्किङ व्यवस्थापन उपसमिति संयोजक खड्ग शाह र व्यानर व्यवस्थापन उपसमितिको संयोजकमा राजेश श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
प्रतियोगितामा दर्शकहरूले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटर फाइनलसम्मका खेलका लागि एक सय र एक सय ५० रुपैयाँ तथा सेमिफाईनल र फाईनल खेल हेर्न एक सय ५० र दुई सय रुपैयाँ टिकट दर तोकिएको छ ।

प्रतियोगिताको खेलतालिका

सम्बन्धित समाचार

खप्तड गोल्डकपको तयारी पुरा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार