१४ बैशाख २०८१, शुक्रबार

सहकारीको ऋणबाट उद्यमी बन्दै महिला (भिडियो सहित)



धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ८ क गाउँकी मेनुका सुवेदीले सहकारी ऋणबाट उखु क्रसर सञ्चालन गरेकी छन् । उनलाई साना किसान कृषि सहकारी संस्था परासनले विना धितो ऋण लिएर उखु क्रसर सञ्चालन गरेकी हुन् । सयममा उखु किन्नको लागि सहकारीले डेढ लाख रुपैयाँसम्म विना धितो ऋण दिने गरेको उनले बताइन् ।
सोही ठाउँकी कौशिला अम्मैले पनि सोही संस्थाबाट विना धितो ऋण लिएर बाख्रापालन गरिन् । उनले बार्षिक डेढ लाख रुपैयाँसम्म खसी बाख्रा विक्री गरेर आम्दानी गर्ने गरेको बताइन् । दुई वटा बाख्राबाट बाख्रापालन शुरु गरेकी उनले ४१ वटा बाख्रा पुर्‍याएकी थिइन् । अहिले पुराना बाख्रा हटार नयाँ जातका बाख्रा पाल्ने तयारी रहेको अम्मैले बताइन् ।

सहकारीबाट सहजै ऋण पाउन थालेपछि पुनर्वास नगरपालिकाका महिलाहरु उद्यमी बन्न थालेका हुन् । सहकारीबाट ऋण लिएर आफूहरुलाई श्रीमान्संगै व्यवसाय गर्ने मौका मिलेको सुवेदीले बताइन् । ‘सहकारीबाट सहज रुपमा ऋण पाउन थालेपछि श्रीमान्संग पैसा माग्नु पर्दैन,’ उनले भनिन्, ‘सहकारीको ऋणकै कारण पनि हामीले आफ्नो व्यवसायलाई सहज बनाउन सकेका छौं ।’
पुनर्वास नगरपालिकामा ४२ वटा सहकारी संस्थाहरुले काम गरिरहेको पुनर्वास नगरपालिकाका मेयर जीवनराज थापाले बताए । उनले महिलाहरुले सहकारीको सुविधा प्रयोग गरी व्यवसायमा सक्रिय भएको बताए । तीन चार विघामा केरा खेती गरे, व्यवसायिक रुपमा काम गरे अनुदान दिने व्यवस्था मिलाउन सकिने मेयर थापाले बताए ।
सुदूरपश्चिम प्रदेश सभाका सांसद तथा नेकपा संसदीय दतका सचेतक तारा लामाले सहकारीले निम्न आय भएका नागरिकको आय स्रोत बृद्धि गर्नमा सहयोग गरेको बताए । उनले पुनर्वासमा सहकारीले स्थानीय महिलाहरुलाई उद्यम गर्नका पुँजि व्यवस्थापन गरेको बताए ।
साना किसान कृषि सहकारी संस्था परासनकी प्रबन्धक लक्ष्मी अधिकारीले पशुपालनका लागि ९, बैकल्पिक ऊर्जाका लागि १२ र कृषि तथा व्यवसायका लागि १६ प्रतिशत वार्षिक व्याजदरमा दुई लाख रुपैयाँसम्म बिना धितो ऋण प्रवाह गरिरहेको बताइन् । उनले धितो राखेर ६ लाख रुपैयाँसम्म ऋण दिने गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार