१४ बैशाख २०८१, शुक्रबार

मदरल्याण्ड युथ कप–२०७५ : सुदूरपश्चिम–११ च्याम्पियन



धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८, जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ फुटवल प्रतियोगिताको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस क्लवले जितेको छ । शनिबार भएको फाईनल खेलमा सुदूरपश्चिम–११ ले मदरल्याण्ड युथ क्लवलाई एकका विरुद्ध तीन गोल अन्तरले पराजित गर्दै उपाधि जित्यो । जीतसँगै सुदूरपश्चिम–११ ले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता बनेको मदरल्याण्डले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।
फाइनल खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दुवै टिमले खेलको दोस्रो हाफमा गोल गरेका थिए ।
सुदूरपश्चिम–११ का विदेशी खेलाडी ओजोले दुई गोल गरे । उनले दोस्रो हाफको नवौं र ३९ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै, सुदूरपश्चिम–११ का चेतन चौधरीले दोस्रो हाफको ११ औं मिनेटमा गोल गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मदरल्याण्डका जीवन चौधरी बने भने मदरल्याण्डकै भागीराम चौधरी उत्कृष्ट रक्षक तथा उत्कृष्ट मिडफिल्डर महेश चन्द तथा सर्वाधिक गोलकर्ता मणिराम चौधरी बने भने सुदूरपश्चिम–११ का अमानत शेख उत्कृष्ट गोलरक्षक बने ।
प्रतियोगिता समापनका अवसरमा गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले विजेता टिम तथा खेलाडीलाई ट्रफी, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
समापन कार्यक्रम आयोजक क्लवका अध्यक्ष श्रवण चौधरीको अध्यक्षतामा भएको थियो ।
प्रतियोगिता मंसिर ९ गतेदेखि शुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार