१४ बैशाख २०८१, शुक्रबार

बर्थिङ सेन्टर भवन बनेपछि सुत्केरी सेवा सहज बन्दै



लम्की । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भवन निर्माण भएको छ ।
पाँच वर्षदेखि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको स्थापना गरिए पनि एउटै कोठाबाट सुत्केरीलाई सेवा दिन कठिनाई भइरहेको थियो । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपालको कार्यान्वयन र बर्दगोरिया गाउँपालिकाको समन्वयमा बर्थिङ सेन्टरका लागि चार कोठे पक्की भवन निर्माण भएको जनाइएको छ । बर्थिङ सेन्टर भवन निर्माणपछि नियमित गर्भ परीक्षण तथा प्रसूति गराउन आउने गर्भवती महिलाहरूको संख्यामा वृिद्व भइरहेको छ ।
स्वास्थ् चौकीका निमित्त इञ्चार्ज तारा शाहीका अनुसार बर्थिङ सेन्टर भवन नहुँदा एउटै कोठामा सुत्केरी, स्वास्थ्यकर्मी, गर्भवती जाँच र सुत्केरी भएका आमालाई राख्नुपर्ने बाध्यता रहेको थियो ।
बर्थिङ सेन्टरको नयाँ भवनमा अहिले सुत्केरी गराउने, गर्भवती जाँच गर्ने, परिवार नियोजन सम्बन्धी परामर्श सेवा दिने र सुत्केरी भइसकेका महिलाहरूलाई राख्ने व्यवस्था गरिएको उनले बताए ।
गुड नेवर्स इन्टरनेशनल नेपालको सात लाख ९७ हजार नौ सय, बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को २० हजार र समुदायको एक लाख ८७ हजार रुपैयाँ सहित १० लाख पाँच हजार रुपैयाँको लागतमा सो बर्थिङ सेन्टर भवन बनेको थियो । सो भवनबाट गत असार १० गतेदेखि सेवा प्रवाह शुरु भएको सेवक नेपाल कैलालीका अधिकृत प्रेम चौधरीले जानकारी दिए ।
बर्थिङ सेन्टर भवनको उद्घाटन भएयता पाँच महिनाको अवधिमा एक सय दुई जनाले सुत्केरी सेवा लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार