१४ बैशाख २०८१, शुक्रबार

कोदोका परिकारको प्रवर्द्धन गर्दै



धनगढी । ‘कोदो’ कुनै बेला गरिबको खानाका रूपमा लिइन्थ्यो । पहाडी भूभागमा मात्रै उत्पादन हुने कोदोको रोटी कुनै बेला शहरबजारका राम्रा होटल, खाजाघरको विशेष परिकार बन्ला भनेर कमैले अनुमान गरेका थिए होलान् । उसो त राजधानी काठमाडौं तथा संखुवासभा लगायत पूर्वी पहाडी जिल्लामा कोदोको तुम्बा निकै प्रख्यात छ । तर, राजधानी तथा तराई सहित मुलुकका प्रमुख शहरबजारमा कोदोका परिकारको प्रचलन अझैं पनि नगन्य नै छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पनि कोदोको उत्पादन उल्लेख्य मात्रामा हुने गरेको छ । तर, अझैं पनि त्यहाँ कोदोलाई खासै महत्त्व दिइदैन । यता, तराई वा प्रमुख शहरमा कोदोको रोटी वा अन्य परिकारप्रति आकर्षण भए पनि सहज रूपमा उपलब्ध हुन सकेको छैन ।
कोदोको महत्त्व बुझेका बझाङका युवा किशोर खड्काले यसलाई आफ्नो व्यवसायको प्रमुख वस्तु बनाउने निधो गरे । उनले दुई महिना अघि धनगढीको चौराहमा खाजाघर खोले र कोदो र पहाडी आलुका विभिन्न परिकारलाई ‘मेनु’ मा समावेश गरे ।
“अहिले मेरो खाजाघरमा कोदोको रोटी तथा पहाडी आलुको सेकुवा सहितका विभिन्न परिकारको स्वाद लिन आउनेको दैनिक घुइचो लाग्ने गरेको छ” किशोरले अनुमोदनसँग भने– “मैले कोदो र पहाडी आलुको प्रवर्द्धनका लागि यो खाजाघर सञ्चालनमा ल्याएको छु ।”
किशोर पर्यटनको क्षेत्रमा समेत क्रियाशील छन् । प्रदेशका विभिन्न स्थानमा उत्पादन हुने रैथाने बालीका परिकारको साटो चाउचाउ लगायतका जंकफुडको अत्यधिक प्रयोगले प्रदेशको समृद्धिमा खासै टेवा नपुग्ने उनको अनुभव छ । भन्छन्– “पर्यटकहरू खप्तड वा अन्य पर्यटकीय स्थलको भ्रमणमा जाँदा चाउचाउ, चाउमिन, लगायतका खाजा पस्किने गरिन्छ, तर स्थानीय उत्पादनबाट बनेका वा बन्नसक्ने परिकार दिइन्न । यसरी न त स्थानीय उत्पादनले बजार पाउछ, न किसानको आर्थिक अवस्थामा नै कुनै सुधार आउँछ ।” उनले आफूले सुदूरपश्चिम प्रदेशमा पर्यटकीय सम्भावना अध्ययन समेत गरेको बताए । “यस क्रममा मैले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका रैथाने बालीबाट बनेका परिकारले बजार पाउन नसकेको पाए” उनले भने– “त्यसैले मैले धनगढीमा कोदो र पहाडी आलुका विभिन्न परिकारसहित खाजाघर सञ्चालनको जमर्को गरेको हुँ ।”
उनले विदेशी तथा आन्तरिक पर्यटकलाई सुदूरपश्चिमको मौलिक संस्कृति तथा रैथाने बालीबाट बनेका खानाका विभिन्न परिकारको स्वाद दिने उद्देश्य लिएको बताए । किशोरले सात लाख रुपैयाँको लगानीमा सो खाजाघर सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनले पत्रकारितामा स्नातक तह उत्तीर्ण गरेका छन् । सुदूरपश्चिम प्रदेशमा पर्यटन विकासका सम्भावनाबारे चिन्तनमनन गर्ने किशोरको भनाईमा “सुदूरपश्चिमका पहाडी जिल्लाको विशेष अन्नबालीका रूपमा रहेको कोदो र रैथाने आलुका परिकारसहितको व्यवसायलाई मैले पर्यटनमैत्री ठानेको छु” उनले भने– “प्रदेशको मौलिकता झल्कने गरी व्यवसाय सञ्चालन गर्दा निकै सन्तुष्टि प्राप्त भएको छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार