१५ बैशाख २०८१, शनिबार

फुटवल पेनाल्टी सुटआउट प्रतियोगिता हुँदै



धनगढी । कैलालीको कैलारी गाउँपालिकामा थारू सांस्कृतिक प्रदर्शनी तथा फुटवल पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ ।
‘हमार कला, संस्कृति हमार पहिचान, समृद्ध बनाइक लाग आवश्यक बा अभियान’ भन्ने नाराका साथ माघी पर्वको अवसरमा सो कार्यक्रम गरिने आइतबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।आयोजक समितिका संयोजक पञ्चराम चौधरीले थारू संंस्कृतिको संरक्षण तथा प्रवर्द्धन, स्थानीय व्यापार व्यवसाय प्रवर्द्धनमा सहयोग र स्थानीय स्तरमा रहेका खेलप्रेमी तथा खेलाडीहरूको पहिचान गर्न सो प्रतियोगिता आयोजना गरिएको बताए ।
पुस ३० गते आयोजना हुने प्रतियोगितामा ४० टीमको सहभागिता रहने जनाइएको छ । प्रतियोगितामा ३० वर्ष माथिका खेलाडीलाई मात्र समावेश गरिने छ ।
प्रतियोगितामा एक टीमबाट छ जना खेलाडीले भाग लिन पाउने संयोजक चौधरीले बताए । जसमा एक जना गोल किपर र पाँच जनाले मात्र पेनाल्टी सुटआउन हान्न पाउने छन् ।
प्रतियोगितामा प्रथम हुने समूहलाई एक लाख एक हजार एक सय ११ र दोस्रो हुने टिमलाई ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।
त्यस्तै, वेष्ट किपर र वेष्ट स्कोररलाई जनही पाँच/पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ । खेल फिफाको नियमानुसार खेलाइने छ । प्रतियोगितामा प्रवेश शुल्क पाँच हजार तोकिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता अघि र्‍याली तथा सांस्कृतिक झाँकी सहित बजार परिक्रमा गरिने र सो पश्चात औपचारिक कार्यक्रमको आयोजना गरेर समुद्घाटन गरिने संयोजक चौधरीले बताए ।
सांस्कृतिक कार्यक्रममा २० वटा टोलीले सहभागिता जनाउने छन् । झुम्रा परम्परागत तथा आधुनिक, सखिया परम्परागत तथा आधुनिक, मुंग्रहवा, धमार, मघौटा, राना होरी नाच, कठरिया होरी नाच लगायतका अन्य थारू सांस्कृतिक झाँकीहरू प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार