१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा भ्रष्टाचारका घटनामा बृद्धि : पाँच वर्षमा चार हजार बढी उजुरी



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा भ्रष्टाचारका घटनामा लगातार बृद्धि आइरहेको तथ्यांकले देखाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा पछिल्लो पाँच वर्षको अवधिमा आर्थिक भ्रष्टाचारका चार हजार बढी उजुरी दर्ता भएको बताइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आर्थिक भ्रष्टाचारका चार हजार दुई सय ९८ उजुरी प्राप्त भएकोमा तीन हजार छ सय ५२ फछ्र्यौट गरिएको र छ सय ४६ उजुरी फैसलाको प्रक्रियामा रहेका छन् ।
आयोगको महेन्द्रनगर कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/०७१ मा भ्रष्टाचार सम्बन्धी सात सय ४९ उजुरी दर्ता भएकोमा दुई सय ३२ फछ्र्यौट गरिएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७१/०७२ मा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट एक हजार एक सय २६ उजुरी दर्ता भएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७२/०७३ मा नौ सय ५८ उजुरी दर्ता भएका थिए भने आर्थिक वर्ष २०७३/०७४ मा छ सय ४४ उजुरी दर्ता भएको थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७४/०७५ मा भ्रष्टाचारका पाँच सय ८८ नयाँ उजुरी दर्ता भएका थिए भने चालू आर्थिक वर्षको पहिलो चार महिनासम्म दुई ३३ भ्रष्टाचारका उजुरी दर्ता भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, महेन्द्रनगरका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालका अनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा दर्ता भएका दुई सय ३३ उजुरी मध्ये एक सय २९ फच्छ्र्याैट भइसकेका छन् ।

कैलालीमा भ्रष्टाचारका सबैभन्दा बढी उजुरी
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये कैलालीमा भ्रष्टाचारका घटनामा लगातार बृद्धि भइरहेको तथ्यांकले देखाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगर कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/०७१ देखि चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म कैलालीबाट भ्रष्टाचारका एक हजार दुई सय २१ उजुरी दर्ता भएका थिए । तीमध्ये एक हजार ३३ उजुरी फछ्र्यौट भइसकेको जनाइएको छ । त्यस्तै, कञ्चनपुरबाट सो अवधिमा एक हजार ४४ उजुरी दर्ता भएकोमा नौ सय ३३ फच्छ्र्यौट भइसकेका छन् भने यो अवधिमा बैतडीबाट चार सय ९५ उजुरी दर्ता भएका थिए । ती मध्ये तीन सय ९५ उजुरी फछ्र्यौट भइसकेका छन् ।
आयोगको महेन्द्रनगर कार्यालयका अनुसार पाँच वर्षको अवधिमा डडेल्धुराबाट तीन सय ५० उजुरी दर्ता भएकोमा हालसम्म दुई सय ९१ फछ्र्याैट भइसकेका छन् ।
त्यस्तै, डोटीबाट हालसम्म तीन सय ४१ उजुरी दर्ता भएकोमा तीन सय ११ फछ्र्यौट भइसकेका छन् । भने दार्चुलाबाट दुई सय ६१ उजुरी दर्ता भएकोमा दुई सय १४ फैसला भइसकेका छन् ।
त्यस्तै, बझाङबाट हालसम्म दुई सय ४३ उजुरी दर्ता भएकोमा एक सय ८० उजुरी फछ्र्यौट भइसकेका छन् भने अछामबाट दुई सय ११ उजुरी दर्ता भएकोमा एक सय ७४ फछ्र्यौट भइसकेका छन् ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम बाजुरा जिल्लाबाट उजुरी परेका छन् । बाजुराबाट पछिल्ला पाँच वर्षको अवधिमा भ्रष्टाचारका एक सय १६ उजुरी परेकोमा एक सय छ वटाको फछ्र्याैट भइसकेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका प्रमुख ढकालले भ्रष्टाचार सम्बन्धी उजुरीमा सबैभन्दा बढी स्थानीय तहसम्बन्धी रहने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार