१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो



धनगढी । कैलालीका स्थानीय तहहरुले बुधबार विभिन्न कार्यक्रम सहित १५ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएका छन् ।
‘महिला स्वास्थ्य स्वयंंसेविकाको निस्वार्थ सेवा : स्वास्थ्य राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरिएका थिए ।
दिवसको अवसरमा धनगढी उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रम उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी पाण्डे, प्रदेश स्वास्थ्य कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख भवानी जोशी, महिला स्वयंसेविका धनगढीकी अध्यक्ष अम्बिका भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र बमले स्वागत गरेको कार्यक्रममा महिला स्वयंसेविका, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । धनगढी उपमहानगरपालिकामा दुई सय १४ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् ।
उता, जोशीपुर गाउँपालिकाले दिवसका अवसरमा आयोजित एक समारोमा छ जना महिला स्वयंसेविकालाई पुरस्कृत गरेको छ ।
गाउँपालिकाले वडा नम्बर २ का तुलसी विनाडी र कृष्णा चौधरी, वडा नम्बर ४ का चित्रा चौधरी, वडा नम्बर ५ की अनिता चौधरी र सुन्दरकली चौधरी तथा वडा नम्बर ६ का रामपति चौधरीलाई पुरस्कृत गरेको छ । उनीहरुलाई गाउँपालिका अध्यक्ष बलिराम चौधरी तथा उपाध्यक्ष गिता कठरियाले प्रोत्साहन स्वरुप एक हजार रुपैया पुरस्कार प्रदान गरे ।
कार्यक्रम महिला स्वयंसेविका कैलाशपति चौधरीको अध्यक्षतामा भएको थियो ।
त्यस्तै, गाउँपालिकाले सबै महिला स्वास्थ्य स्वयंसेविकालाई पाँच सय रुपैया र स्टिल दराज पनि प्रदान गरेको उपाध्यक्ष कठरियाले जानकारी दिइन् ।
त्यस्तै, कैलालीको घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको आयोजनामा बुधबार नै अन्तर्राष्ट्रिय स्वयंसेवक तथा विश्व माटो दिवस मनाईएको छ ।
कार्यक्रमको घोडाघोडी नगर उपप्रमुख प्रेमकुमारी थापाले उद्घाटन गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष दिपेन्द्र बहादुर शाहीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख दिपक ज्ञवाली, नगरपालिकाका निमित्त प्रशासकिय प्रमुख बसन्त बहादुर बोहरा, वडा नम्बर १ का अध्यक्ष मनराज शाही, सुखड दरख खानेपानी तथा सरसफाई समितिका अध्यक्ष निरज कुमार मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका उपाध्यक्ष राम आचार्यले स्वागत गरेको कार्यक्रमको संचालन संस्थाका सचिव हेम बहादुर बमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार