१४ बैशाख २०८१, शुक्रबार

जेटीकप क्रिकेट : उपाधिका लागि उज्यालो र आरएमईबीच भिडन्त हुँदै



बौनिया । कैलालीको सडकपुर बौनियामा जारी जेटीकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि उज्यालो, लम्की र आरएमई, टीकापुरबीच भिडन्त हुने भएको छ ।
बिहीबार भएका सेमिफाइनल खेलहरूमा विजयी हुँदै उज्यालो र आरएमईले फाइनलको यात्रा तय गरेका हुन् ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा उज्यालोले कालिकालाई चार विकेटले पराजित गर्‍यो ।
टस जितेर पहिले ब्याटिङ गरेको कालिका मावि, नौनियाले १६ ओभरमा अलआउट हुँदै ६६ रन बनायो ।
कालिकाका दीपेश रोकायाले ३१ रन बनाए पनि अरू ब्याट्सम्यानले खासै योगदान गर्न नसकेपछि कालिका सामान्य रनस्कोरमा समेटिएको थियो ।
कालिकालाई सामान्य रनस्कोरमा समेट्ने क्रममा उज्यालोका बद्री भण्डारीले चार ओभरमा सात रन खर्चेर तीन विकेट लिए ।
६७ रनको सामान्य विजयी लक्ष्यसहित ब्याटिङ गर्न ओर्लिएको उज्यालोले ११ दशमलव तीन ओभरमा छ विकेट गुमाएर लक्ष्य प्राप्त गर्‍यो ।
उज्यालोका कमल बिष्टले अविजित २३ रन बनाए । उनी म्यान अफ द म्याच बने ।
बिहीबार नै भएको अर्को सेमिफाइनलमा साविक विजेता आरएमई टीकापुरले बालबाटिकालाई सात रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गरेको आरएमई टीकापुरले १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर एक सय १२ रन बनायो ।
आरएमईका लोकेश कठायतले ३७ रन बनाए । बलिङतर्फ बालबाटिकाका बिमल बोहराले चार विकेट लिए ।
जवाफमा बालबाटिका २० ओभरमा आठ विकेट क्षतिमा एक सय पाँच रनमा सीमित भयो ।
बालबाटिकाका बर्लिन गिरी र दीपेश सिंहले २३/२३ रन बनाए ।
आरएमईका आदेश परियारले तीन विकेट लिएका थिए । सो खेलमा आरएमईका लोकेश कठायत म्यान अफ द म्याच बने ।
प्रतियोगिताको विजेताले ६१ हजार तथा उपविजेताले नगद ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार