१४ बैशाख २०८१, शुक्रबार

एन्टिवायोटिकको प्रयोग बढ्दो



धनगढी । प्रतिजैविक (एन्टिवायोटिक) प्रयोगबारे सचेतना फैलाउन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । एन्टिवायोटिक औषधिको प्रतिरोधात्मक क्षमताले काम गर्न छोडेपछि आम नागरिकमा यसबारेमा चेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको उनीहरूले बताएका हुन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा सोमबार धनगढीमा प्रतिजैविक प्रतिरोध सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले भनिन्– “मासुदेखि खाद्यान्नसम्म एन्टिवायोटिकको प्रयोग हुन थालेपछि अहिले रोग निको पार्न बनाइएका औषधिहरूले पनि काम गर्न छोडेको छ ।” उनले औषधि चिकित्सकको राय सल्लाह अनुसारनै सेवन गर्नुपर्छ भन्नेबारे जनचेतना फैलाउनुपर्ने बताइन् । उनले बारीमा रोपिने तरकारी, अन्न, मासुका परिकार कुखुरा, खशी, माछा, गाई लगायतमा प्रयोग गरिने एन्टिवायोटिकलाई रोक्न आवश्यक रहेको बताइन् । उपप्रमुख भट्टले भनिन्– “स्वास्थ्य नीतिलाइ टेकेर धनगढी उपमहानगरपालिकामा यस्तो प्रयोग कम गर्ने छौं ।”
उनले मानिसले चिकित्सक कहाँ जान झण्झटिलो मान्ने भएकाले नजिकै रहेको क्लिनिक तथा औषधि पसलबाट औषधि खरिद गरेर सेवन गर्ने गरेको बताउँदै चिकित्सक सेवामा आम मानिसको सहज पहुँच बनाउन पनि जरुरी रहेको छ ।
कैलाली स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाइले भने– “औषधि चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्छ भन्ने आम नागरिकलाई जानकार भएपनि व्यवहारमा लागू गर्दैनन् ।” उनले यस विषयमा सबै पक्ष सावधान हुन जरुरी रहेको बताए ।क्षेत्रीय पशुस्वास्थ्य तालिम केन्द्रका पशु चिकित्सक केशवदत्त पाण्डेले सबैभन्दा बढी पोल्ट्री फर्ममामा एन्टिवायोटिकको प्रयोग भइरहेको बताए । “दाना उद्योग घर–घरमा छ । अनुगमन हुँदैन । किसानले कुखुराको तौल बढाउन एन्टिबायोटिकको प्रयोग गरिरहेका छन् ।” उनले अहिले देशमा तीन तहको सरकार भएकाले स्थानीय तहले यस्ता कुराको नियन्त्रण र अनुगमनमा जोड दिनुपर्ने सुझाव दिए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका शिक्षा स्वास्थ्य प्रशासक डाक्टर भक्तबहादुर केसीले विश्वभर अहिले वर्षभरी सात लाख जनाले औषधिले काम नगरेका कारण मृत्यु भइरहेको तथ्यांक रहेको जानकारी दिए ।
उनका अनुसार तथ्यांकले सन् २०५० मा यस्तै अवस्था रहेमा विश्वभरी प्रति वर्ष एक करोडको औषधि काम नगरेका कारण मृत्यु हुने अनुमान रहेको बताए । सन् २०५० मा प्रति तीन सेकेण्डमा एक जनाको मृत्यु औषधिले काम नगरेकै कारण हुने अनुमान गरिएको बताए ।
आम मानिसले एन्टिवायोटिकको दुरुपयोग, अति प्रयोग गर्नु, चिकित्सकको सल्लाह विनानै औषधिको प्रयोग गर्नु लगायतका कारणले औषधिले कामनै गर्न छोडेको बताए । उनले यस्ता कारणले आम मानिसको उपचार खर्च बृद्धि, बढी समय स्वास्थ्य संस्थामा बस्नुका साथै मृत्यु दरमा बृद्धि गरिरहेको बताए । अहिलेको अवस्थामा क्षयरोग, छाला रोग, अल्सर, शल्यक्रिया, बालबालिकाकाका लागि बनाइएका एन्टिवायोटिक औषधिले प्रभावकारी रूपमा असर गर्न छोडेको देखिएको बताए ।उनले आम मानिसले एन्टिवायोटिकको बढी सिफारिस गर्ने, पुरै मात्रामा सेवन नगर्ने, पशु र पंक्षीमा एन्टिवायोटिक प्रयोग र ३० वर्ष यता एन्टिवायोटिकको नयाँ अविष्कार नहुनु लगायतका समस्या रहेको बताए । उनले सरकारले एन्टिवायोटिक औषधिबाट देखिएको समस्याको समाधान गर्न पञ्च वर्षिय कार्ययोजना तयार गरिरहेको बताए ।
धनगढी उपमहानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत दमनबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत ईन्द्र बानियाले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै केन्द्रले एन्टिवायोटिकको सही प्रयोगबारे जानकारी दिने उद्देश्यले सचेतनाका कार्यक्रम अघि बढाएको बताए । कार्यक्रमको सञ्चालन धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डाक्टर खगेन्द्र बमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार