१४ बैशाख २०८१, शुक्रबार

जलकुम्भीमुक्त जाखोर अभियान : सामाजिक संघसंस्थाहरू पनि जोडिदै



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको जाखोर ताललाई जलकुम्भीमुक्त, बनाउने अभियानमा विभिन्न सामाजिक संघसंस्थाहरू पनि जोडिएका छन् ।
आइतबार धनगढी उपमहानगरपाकिालले आयोजना गरेको गैरसरकारी संघसंस्थाहरूसहितको समन्वय बैठकमा विभिन्न संघसंस्थाले जलकुम्भीमुक्त जाखोर ताल अभियानमा ऐक्यवद्धता व्यक्त गरे । बैठकमा उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले यो अभियान उपमहानगरपालिका एक्लैको प्रयासबाट मात्रै सफल नहुने भएकाले सबैको साथ र समर्थनका लागि आग्र गरेका थिए । बैठकमा गैरसरकारी संस्था महासंघ, कैलालीका अध्यक्ष हेमकर्ण विकले आउदो शनिबार (मंसिर १५ गते) को सरसफाई अभियानमा आफूहरू पनि सहभागी जानकारी दिए । उनले भने– “यो अभियानमा लाग्न म जिल्लाका सबै गैरसरकारी संस्थाहरूसँग आग्रह गर्दछु ।”
जलकुम्भीका कारण निकै कुरूप बनेको जाखोर तालमा शनिबारदेखि जलकुम्भी हटाउने अभियान शुरु भएको छ ।
धनगढी उपमहानगरपालिकाको अगुवाईमा प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित जलकुम्भी हटाउने कार्य अघि बढेको छ ।
धनगढी उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत टंक बिष्टले जिल्लाका सामाजिक संघ संस्था, क्लव, खेलाडीहरूसँग पनि जलकुम्भी हटाउनका लागि समन्वय गर्दै जाने बताए ।
जाखोर ताल धनगढी उपमहानगरपालीकाको मुख्य पर्यटकीय स्थल हो । तत्कालीन धनगढी नगरपालिकाले २०५४ सालमा जिल्ला वनस्पति कार्यालयलाई स्वमित्व हस्तान्तरण गरेको वडा नम्बर ७ का अध्यक्ष सीताराम रानाले बताए । उनले भने, “आफ्नो स्वामित्वमा रहेको ताललाई स्थानीय महिला समूहलाई भोगचलनका लागि दिएको भएपनि २०७३ मा वनस्पतिले समूहको भोगचलनमा रोक लगाएको थियो ।” ताल झण्डै १२ हेक्टर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार