१४ बैशाख २०८१, शुक्रबार

जाखोर तालको जलकुम्भी हटाइदै



धनगढी । धनगढी उपमहानगरपालिका–७, को पर्यटकीय जखोर तालको जलकुम्भी हटाउन थालिएको छ ।
धनगढी उपमहानगरपालिकाले नेपाली सेना र सशस्त्र प्रहरीको सहायतामा शनिबारबाट जलकुम्भी फाल्न थालेको हो । धनगढी उपमहानगरपालिकाकी उपमेगर सुशीला मिश्र भट्टले जलकुम्भी हटाउन सोचे जति सजिलो नभएपनि एक दुई महिना लगाएर भएपनि हटाइने बताइन् ।जलकुम्भी हटाउनका लागि उपमहानरपालिकाका सरसफाई कर्मचारी, नेपाली सेना र सशस्त्र प्रहरीको टाली खटिएको छ । तालबाट निस्केको जलकुम्भी तालसँगै जोडिएको मैदानमा फालिदै छ ।
जलकुम्भी हटाएर ताल सफा गरी पर्यटकहरूका लागि ढुंगा खेल्ने व्यवस्था गरिने उपमेयर भट्टले बताइन् । उनले जाखोर तालको व्यवस्थापनका लागि गुरुयोजना बनाउने काम समेत अन्तिम चरणमा पुगिसकेको जानकारी दिइन् । तालको वरिपरी हिड्ने बाटो, तालमा ढुंगा खेल्न जाने स्टेप, तालको छेउमा रहेको मन्दिरमा पानीको फोहरा सहितको मूर्ति, पिकनिक स्पोट लगायतको संरचना निर्माण गर्ने गरी गुरुयोजना तयार भइरको उनले बताइन् ।जिल्ला वनस्पति कार्यालय कैलालीले माछापालनमा रोक लगाएसँगै धनगढी उपमहानगरपालिकाले जलकुम्भी हटाउने निर्णय गरेको थियो ।
जाखोर ताल धनगढीको प्रमुख पर्यटकीय स्थलका रूपमा चिनिएको छ । वडा नम्बर ७ का अध्यक्ष सीताराम रानाका अनुसार साविक धनगढी नगरपालिकाले २०५४ सालमा सो ताल क्षेत्रको स्वामित्व जिल्ला वनस्पति कार्यालयलाई हस्तान्तरण गरेको थियो ।
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जलकुम्भी भरिएका कारण ताल निकै कुरूप बनेको बताए । जाखोरतालको क्षेत्रफल करिब १२ हेक्टर छ ।धनगढीका वासिन्दाहरूले जाखोर तालमा पिकनिक मनाउँदै आएका छन् । हिउँसको महिनामा हरेक शनिबार जाखोर तालमा पिकनिक खाने समूहहरूको घुइँचो लाग्ने गरेको छ । यस शनिबार पनि उपमहानगरपालिकाले तालभित्र जलकुम्भी हटाइरहेको थियो भने नागरिकहरूले तालको किनारमा स्थानीयहरू ठूलो स्वारमा डिजे लगाएर पिकनिक मनाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार