१४ बैशाख २०८१, शुक्रबार

खानपिनमा ध्यान दिन स्वास्थ्यकर्मीको आग्रह



धनगढी । दशैंतिहार भन्ने वित्तिकै मिठो खाने, राम्रो लगाउने अर्थ लगाइन्छ । हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारमा प्राय: चिल्लो पदार्थ, माछामासु, मिठाइ खाने प्रचलन छ ।
तिहारमा घ्यू र तेलमा बनाइएका मिठाईको बढी सेवन हुने गर्दछ । त्यस्तै, माछामासुको पनि प्रयोगमा बृद्धि हुन्छ । मदिराको सेवन पनि बढ्ने गर्दछ ।
“चाडपर्व भनेकै मिठो खाने, राम्रो लगाउन र रमाइलो गर्ने भने बुझ्ने गरिन्छ । यो धेरै हदसम्म सत्य पनि हो । यो हाम्रो परम्परा पनि हो यसलाई छोड्न पनि मिलेन, तर कम गरेर खानुपर्छ” कैलाली स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाइले भने– “बिरामीले त चाडपर्वमा बढी नै ध्यान दिनुपर्छ । सुगर, प्रेसर र मुटुको बिरामीहरूले चिल्लो, नूनिलो र मसलेदार खाना खानु हुँदैन । त्यसैले यसलाई कम गर्नुपर्छ । प्रेसर र मुटुका रोगीले नूनको प्रयोग कम गर्नुपर्छ अनि सुगरका बिरामीले चिनी हालेको खाना खानु हुँदैन ।”
उनले बच्चाहरूको हकमा पनि खाने कुरामा अलि बढी होसियारी अपनाउनुपर्ने बताए । “यो बेलामा उनीहरूले पटका पड्काउने लगायतका काम गर्छन् । यस्ता चिजहरूमा विष सरहका एसीडहरू हुन्छन् । त्यही हातले खाना खाइरहेका हुन्छन् । उनीहरूको सरसफाईमा अझै बढी ध्यान दिनुपर्छ” उनले भने ।
उनले तिहारमा सेलरोटी, मिठाई लगायतका गुलियो र चिल्लो मिसाइएको खानेकुरा खाने प्रचलन धेरै रहेको बताए । “सकभर घ्यू र परम्परागत तेलहरूमा पकाएको खानेकुरा खानु हुँदैन । सम्भव भएसम्म सनफल्वार, मकै र भट्टमासको तेलको प्रयोग गर्नुपर्छ । घ्यूमा ‘सेचुरेटेडफयाट’ बढी हुन्छ । घ्यूले शक्ति बढी दिन्छ तर दीर्घकालीन रूपमा यसले हानी पुर्‍याउँछ । साधारण मानिसलाई भन्दा मुटु, प्रेसर र सुगरको रोगीलाई यसले हानी गर्छ ।”
उनले चाडपर्वको बेलामा हरियो तरकारी र फलफूल बढी खान सुझाव दिए । चाडपर्वको ‘मूडमा’ हुँदा नियमित खाने औषधि पनि छोड्ने गरिन्छ । यो एकदमै गलत हो । यसले गर्दा कतिपय समस्याहरू निम्तिने गरेका छन् । चाडपर्वको बेलामा दीर्घरोगीहरूले औषधिलाई छोड्न हुँदैन । एक आपसमा भेट्दा मिठाई मासुको सट्टामा फलफूल दिने चलन बसाल्नुपर्छ । यसलाई भारत र अमेरीकामा अभियानकै रूपमा पनि चलाइएको थियो ।”
स्वास्थ्यकर्मीहरूले चाडपर्वको बेलामा धेरै चिल्लो गुलियो खाना खाने गरिने भएकाले व्यायम गर्न सुझाव दिएका छन् । बढी व्यायाम गरेमा खाएको खानेकुरा सन्तुलन बन्ने उनीहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार