२३ बैशाख २०८१, आईतवार

सखी सञ्जाल चिरैं भजहरको तयारीमा



धनगढी । सखी सञ्जाल कैलाली यही चैत २१ गते धनगढीमा चिरै भजहर मनाउने तयारीमा जुटेको छ । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चिरै भजहरलाई थारू समुदायमा महिला स्तन्त्रताको दिनको रूपमा लिँदै यो पर्व मनाउन लागेको जानकारी दिइयो ।
थारू समुदायको कला संस्कृतिको संरक्षण गर्दै महिला स्वतन्त्रता लागि यो पर्व मनाउन लागेको सञ्जालका अध्यक्ष ईन्दु थारूले बताइन् । अविवाहित महिला (छोरी) घरबाट केही टाढा रहेको बगियामा गएर दिनभर पौराणिक खेल (छुर, कोइली दिदी, कौरी नुकावर) खेल्ने र नाँचगान गर्दै रमाइलो गरी मनाउने गर्दछन् । त्यस दिन परिवारका सदस्य भने मीठामीठा परिकार बनाई छोरीहरूलाई पुर्‍याई खुवाउने चलन रहेको सञ्जालका अध्यक्ष थारूले बताइन् ।
यस पर्वका दिन दिदीबहिनी बाटो छेक्ने र बटुवाले आफ्नो स्वेच्छा दान गर्ने चलन पनि रहेको छ । कार्यक्रमलाई भव्य बनाउनको लागि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रमुख अतिथि र महिला विकास कार्यालयका प्रमुख पूजा काफ्लेलाई विशिष्ट अतिथि बनाई कार्यक्रम गर्न लागेको सखी सञ्जाल कैलालीले जनाएको छ । चिरै भजहर चैत महिनाको शुक्लपक्षको सोमबार वा शुक्रवार मनाउने गरिन्छ । दिनभरिको कार्यक्रमपछि साँझपख नघान काटी सामूहिक रूपमा त्यसलाई टेकेर घर आउने चलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार