१४ बैशाख २०८१, शुक्रबार

सम्पादकीय: चाडबाडमा यातायात व्यवस्थापनको सकस



हरेक वर्ष दशैतिहारमा आम यात्रीले सडक तथा हवाई यात्राका लागि निकै कष्ट भोग्नु पर्ने अवस्था यस वर्ष पनि दोहोरिने देखिएको छ । दशैंका लागि यात्रु बाहक बसको अग्रिम टिकट खुलेकोमा अहिले नै दशैंको सप्तमीदेखि नवमीसम्मको बुकिङ सकिएको यातायात समितिले बताइरहेका छन् । त्यस्तै, दशैं आउनु पन्ध्र दिन अघि नै हवाई कम्पनीहरुले टिकट बुकिङ सकिएको जनाएका छन् । दशैंको मुखैमा एकातिर यातायात भाडामा बृद्धि गरिएको छ भने अर्कोतिर अग्रिम बुकिङ भन्दै अहिले नै टिकट सकिएको अवस्थाले आम यात्रीले यस पटक पनि निकै कष्ट बेहोर्नु पर्ने देखिएको छ । यससंगै यस पटक पनि सरकारले यातायात व्यवस्थापन प्रभावकारी बनाउन नसकेको देखिदैछ ।

नेपालीहरुको सबैभन्दा प्रमुख र महान मानिएको दशैं चाडमा खासगरी राजधानीबाट बाहिरिने यात्रीको संख्या पच्चीस लाख भन्दा बढि हुने गरेको पाइन्छ । यो हरेक वर्षको संख्या हो । अध्ययन, रोजगारी, व्यापार व्यवसाय तथा अन्य कामले राजधानी काठमाडौं रहने तथा रोजगारी तथा अरु कामले भारतका विभिन्न शहरमा रहेका नेपालीहरु दशैंका अवसरमा घर फर्किने गरेका छन् । यसले स्वाभाविक रुपमा दशैंतिहारमा आफ्नो घर फर्किने यात्रीको संख्या निकै अधिक रहने गरेको छ । नागरिकलाई सुरक्षित र सहज यात्राको प्रबन्ध गराउने सरकारको दायित्व हो । सुरक्षित र भरपर्दो तथा सुविधाजनक सार्वजनिक यातायात सधैं चुनौति रहने गरेको सन्दर्भमा दशैंतिहार जस्ता ठूला चाडबाडको अवसरमा आम यात्रीलाई सहज, सुरक्षित तथा सुविधाजनक यात्राको व्यवस्था मिलाउनेतर्फ सम्बन्धित सरकारी निकाय सधैं चुकेको छ भन्नु अत्युक्ति हुदैन ।

वास्तवमा सरकारी अनुगमन प्रभावकारी हुन नसकेका कारण दशैंतिहार जस्ता ठूला चाडबाडमा आम यात्रीले अनाहकमा कष्ट बेहोर्नु पर्ने बाध्यता रहेको छ । हरेक वर्ष राजधानी तथा अन्य शहरका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीको संख्या पूर्वानुमान गर्न सकिने भए पछि तदअनुरुप यात्रुबाहक बसको व्यवस्था गर्नेतर्फ खासै ध्यान दिएको पाइदैन । यसले गर्दा दशैंतिहारमा राजधानीबाट विभिन्न जिल्लामा बाहिरिने बसमा सिट क्षमता भन्दा निकै बढि यात्री राख्ने गरेको पाइन्छ । त्यस्तै, भारतका विभिन्न शहरमा रोजगारी वा अरु काम गर्ने नेपालीहरुले घर फर्किदा र खासगरी धनगढी तथा महेन्द्रनगरबाट पहाडी जिल्लातर्फ जाने यात्रीबाहक बसमा क्षमता भन्दा निकै बढि यात्री राखिने गरेको दोहोरिदै आएको छ । सडक दुर्घटनाको एक प्रमुख कारण सिट क्षमता भन्दा निकै बढि यात्री राख्नु पनि हो भन्ने बोध हुदाहुदै पनि दशैंतिहारमा ट्राफिक प्रहरी, र स्वयं यातायात समितिहरुले यसप्रति उदासिन हुने गरेको पाइनु निश्चय नै बिडम्बना हो । त्यस्तै, अग्रिम टिकट बुकिङ सकिएको भन्दै क्यु फ्रिका नाममा मनोमानी भाडा असुल्ने गरिएको प्रति पनि सम्बन्धित निकाय उदासिन रहने गरेको पाइन्छ ।

दशैं आउनु दुई साता अघि नै यात्रीबाहक बस तथा हवाईजहाजका टिकट बुकिङ सकिएको भन्ने सन्दर्भमा सम्बन्धित सरकारी निकाय तथा बस समिति तथा हवाई कम्पनीहरुले आम यात्रीका लागि सहज ढंगले यातायातको व्यवस्था गर्न सकेनन् भने आम जनताले तीन तहका सरकार भएको अनुभव कसरी गर्ने ?

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार