१४ बैशाख २०८१, शुक्रबार

हवाई भाडादर निरन्तर ओरालो लाग्दै



धनगढी । पछिल्ला केही सातायता धनगढी–काठमाडौं हवाई उडानको भाडा दर निरन्तर ओरालो लागिरहेको छ ।
धनगढी–काठमाडौंको हवाई उडानमा गत असार महिनासम्म न्यूनतम पाँच हजार पाँच सय रुपैयाँ रहेकोमा साउन महिनादेखि निरन्तर घटिरहेको छ । पछिल्लो समय धनगढीदेखि काठमाडौंको हवाई भाडा दर तीन हजार रुयैयाँसम्म झरेको बताइन्छ ।
बुद्ध एयर धनगढीका प्रमुख बुधराम माझीले वर्षाको समय र धेरै जहाज कम्पनी भएका कारण हवाइ भाडा दरमा निरन्तर ओरालो लागिरहेको बताए । उनका अनुसार बुद्ध एयरले धनगढीदेखि काठमाडौंसम्म न्यूनतम तीन हजार बढीमा १३ हजार एक सय रुपैयाँसम्मका टिक बिक्री गर्दै आएको छ ।
बुद्ध एयरले तीन हजार, तीन हजार तीन सय, तीन हजार पाँच सय, चार हजार, चार हजार पाँच सय, पाँच हजार नौ सय, छ हजार नौ सय, सात हजार नौ सय, १० हजार एक सय, ११ हजार छ सय र १३ हजार एक सय रुपैयाँसम्ममा टिकट बेच्दै आएको छ ।
श्री एयरलाइन्स धनगढीका स्टेशन म्यानेजर गजेन्द्र शाहीका अनुसार असारको तुलनामा साउन र भदौ महिनामा हवाइ भाडा निरन्तर कम हुँदै आएको छ । श्री एयरलाइन्सले पनि धनगढी–काठमाडौं हवाई रुटमा तीन हजार पाँच सयदेखि १३ हजार एक सय रुपैयाँसम्ममा हवाई टिकट बिक्री गरिरहेको छ ।
स्टेशन म्यानेजर शाहीले हवाई कम्पनीहरूबीच भाडा घटाउने प्रतिस्पर्धा चलिरहेका कारण हवाई भाडा दरमा निरन्तर कमी आइरहेको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारी त्रिभूवन विमानस्थल २२ घण्टासम्म सञ्चालन हुनु तथा सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले पनि आफ्ना हवाइ रुट अझ प्रभावकारी रूपले सञ्चालन गरेपछि बढेको तीब्र प्रतिस्पर्धाका कारण देशभरी नै हवाइ यातायातको भाडा दरमा कमी आएको बताउँछन् ।
हवाइ भाडा कम हुँदै गए पनि धनगढीबाट काठमाडौंबाट जाँदा होस् अथवा आउँदा होस्, कहिलेकाहीबाहेक बाहेक हवाइजहाजको सीट क्षमता अनुसार यात्रुले भने सिट पाउन सकेका छैनन् । धनगढी–काठमाडौं रुटमा बुद्ध, श्री र नेपाल एयरलाइन्सले यातायात सेवा सञ्चालन गरिरहेको छ ।
सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले कम्तिमा तीन हजार पाँच सय र बढीमा छ हजार रुपैयाँसम्म हवाइ टिकट बेच्ने गरेको छ । नेपालको अपेक्षाकृत सबैभन्दा लामो हवाइ रुट मानिने धनगढी–काठमाडौं रुटमा बुद्ध एयरले ७२ सिटको, श्री एयरलाइन्सले ७० र नेपाल एयरलाइन्सले ४८ सिट क्षमताको जहाज उडान गरिरहेको छ ।
धनगढी–काठमाडौं यात्रामा बुद्ध र नेपाल एयरलाइन्सको जहाजको हवाई उडान समय ७० मिनेट रहेको छ भने जेट इन्जिन भएको श्री एयरलाइन्सको जहाजको उडान समय ५० मिनेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार