१४ बैशाख २०८१, शुक्रबार

संरक्षणको पर्खाइमा नालापानी किल्ला



देहरादून (भारत) । नेपाल र ब्रिटिस इण्डियाबीचको विश्वचर्चित नालापानी युद्ध भएको दुई सय चार वर्ष पुगेको छ । सोही युद्धको सम्झनामा भव्य स्मारक बनाइएको छ, तर सो किल्ला (स्मारक) अझै संरक्षणको पर्खाइमा रहेको छ ।
भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनबाट नौ किलोमिटर टाढा रहेको नालापानी किल्ला क्षेत्रमा तत्कालीन मुख्यमन्त्री नारायणदत्त तिवारीको पहलमा “बलभद्र खलंगा युद्ध स्मारक” निर्माण भएको थियो ।

बलभद्र खलंगा युद्ध स्मारकमा श्रद्धाञ्जली दिँदै नेपालबाट गएको पर्यटक टोली ।

“हामीले पटकपटक अनुरोध गरेपछि तत्कालीन मुख्यमन्त्री तिवारीले आर्थिक सहयोग दिनुभयो, र सन् २००७ मा स्मारक बनाउन सकियो” गोर्खा डेमोक्रयाटिक फ्रन्टका अध्यक्ष सूर्यबहादुर शाहीले भने– “तर, त्यसपछि थप सहयोग नपाउँदा धेरै काम गर्न बाँकी नै छ ।”
उनी भन्छन्– “सन् २००७ अघि नालापानी पुग्न निकै कठिन थियो । बलभद्र खलंगा युद्ध स्मारक बनेपछि एकतर्फी गाडी चल्ने सडक बन्यो । अहिले चहलपहल बढेको छ, तर अझै पनि धेरै आधारभूत कुरा नालापानी क्षेत्रमा छैनन् ।”
उनका अनुसार बलभद्र खलंगा युद्ध स्मारकलाई पूर्णता दिन थप २० लाख भारतीय रुपैयाँको आवश्यकता छ । तत्कालीन मुख्यमन्त्री तिवारीको पहलमा १० लाख ५० हजार र तत्कालीन सांसद विजय गौडाको सांसद कोषबाट पाँच लाख सहित १५ लाख ५० हजार भारतीय रुपैयाँको लागतमा सो स्मारक बनेको अध्यक्ष शाहीले बताए । नालापानीसम्मको सडक निर्माणमा १९ लाख भारु खर्च भएको अनुमान छ ।
किल्ला पुग्दा जोकोही पनि रमाउँछन् । तर, नालापानी क्षेत्रबारे जानकारी दिने सूचना सामग्री तथा विज्ञ व्यक्तिको अभावमा पर्यटकले आफ्ना जिज्ञासा मनमै राखेर फर्किने गरेका छन् । पर्यटन व्यवसायीहरूको संस्था सोट्टो नेपालका पूर्व अध्यक्ष यमबहादुर खड्का “नालापानी संरक्षण गर्दा भारतकै पर्यटनमा टेवा पुग्ने” धारणा व्यक्त गर्दछन् । उनी स्तरीय सडक, किल्लाबारे जानकारी दिने सामग्री, विज्ञ व्यक्ति, नियमित सुरक्षा व्यवस्था र क्यान्टिनको सुविधा उपलब्ध भएमा पर्यटकहरूलाई सहज हुने बताउँछन् ।

बलभद्र खलंगा युद्ध स्मारकको गेट । गेटको पछाडि बलभद्र खलंगा युद्ध स्मारक पनि देखिन्छ ।

नेपालको पर्यटन पर्वद्धनमा सक्रिय सूर्य थापा भन्छन्– “हाम्रो भारतसँग होइन् अंग्रेजसँग युद्ध भएको हो, त्यसैले गाह्रो नमानेर नालापानीको संरक्षण गर्नु भारत सरकारको नै दायित्व हो ।”
नेपालीले नालापानीको निकै महिमा गाउँछन् । तत्कालीन ब्रिटिस इण्डियाको सेनासँग बहादुरीका साथ लडेको नेपाली सेनाको बिरताको गौरवका साथ चर्चा हुने गर्दछ । नालापानी संरक्षणमा अभियन्ताको भूमिका निर्वाह गरिरहेका शाही भन्छन्– “भारतले संरक्षण नगरे आफ्नो इतिहास जोगाउन नेपाल सरकार आफैंले पनि संरक्षणमा ध्यान दिनु आवश्यक छ ।” उनले स्मारक बनाउँदा सो क्षेत्रमा अंग्रेजले प्रयोग गरेका दुईवटा तोपका गोला भेटिएको बताए । “अझै राम्रोसँग उत्खनन् गरिने हो भने ऐतिहासिक महत्त्वका थुपै्र वस्तु भेटिन सक्छन् ।”
नालापानीमा नेपाली र अंग्रेजबीचमा तीनपटक युद्ध भएको थियो । युद्धका क्रममा सन् १८१४ अक्टोम्वर ३१ तारेखमा ब्रिटिस सेनाका जनरल जिलेस्पी मारिएका थिए ।
इतिहासमा उल्लेख छ– “नेपाली सेनाका तर्फबाट बलभद्र कुँवरको नेतृत्वमा महिला र बालबालिका समेत युद्ध लडेका थिए । किल्लाभित्र रहेको बलभद्र कुँवर नेतृत्वको नेपाली फौजलाई परास्त गर्न नसकेपछि अंग्रेज फौजले किल्लाभित्र आपूर्ति हुने पानीको मुहान नै थुनेका थियो । पानी नपाएर निकै दिन तिर्खा सहेर पनि किल्लाभित्र रहेको नेपाली फौज अन्त्यमा हातमा खुकुरी, तरबार, ढाल बोकेर किल्लाको ढोका खोलेर बाहिर निस्केको र अंग्रेज फौज ट्वाल्ल परेर त्यो दृश्य हेर्न बाध्य भएको थियो । करिब ७०/८० जनाको नेपाली फौज निडर भएर अंग्रेज फौजको अघिल्तिरबाट मार्चपास गर्दै मुहानमा पानी पिएर हिडेको थियो । गोर्खाली फौजको विरताको अंग्रेज फौजले पनि निकै प्रशंसा गरेकाले पनि नालापानी युद्ध विश्वकै चर्चितमध्येको एक युद्धका रूपमा स्थापित छ ।”

रिपस्ना नदीको तटमा बनाइएको गोखाली युद्ध कमाण्डर बलभद्र र अंग्रेज युद्ध कमाण्डर जनरल जिलेस्पीको स्मारक । तस्बिरहरू : प्रकाशबिक्रम शाह

अंग्रेज सेनाले मुक्तकण्ठले प्रशंसा गर्दै गोर्खाली सेनाका कमाण्डर बलभद्रको सम्झनामा रिपस्ना नदीको तटमा स्मारक बनाएको थियो । सो तटमा बलभद्रसँगै जनरल जिलेस्पीको पनि स्मारक छ । पत्रकार हरिनारायण गौतम भन्छन्– “दुई दुश्मन सेनाका कमाण्डरको स्मारकसँगै राखिनु पनि नालापानी युद्धको अर्को आश्चर्य हो । रिपस्ना नदी देहरादून शहरको छेउमा रहेको छ ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार