१९ बैशाख २०८१, बुधबार

११ तोपको सलामीसहित गोविन्द गौतमको अन्त्येष्टि  



धनगढी । गत बिहीबार कञ्चनपुरको पुनर्वास–८ आनन्दबजार नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले प्रहार गरेको गोली लागेर मृत्यु भएका गोविन्द गौतमको आज (आइतबार) अन्त्येष्टि गरिएको छ । 

गौतमको अन्त्येष्टिमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको हो । गोविन्दको अन्त्येष्टि हिन्दु परम्परा अनुसार गरिएको छ ।  गोविन्दलाई बुवा खेमलाल गौतमले दागवत्ती दिएका हुन् ।  अन्त्येष्टि अघि कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालबाट गौतमको शव यात्रा निकालिएको थियो । शव यात्रामा हजारौंको संख्यामा सर्वसाधारणहरु सहभागी थिए । गौतमको दोदा नदी निनारमा अन्त्येष्टि गरिएको हो । 

नेपाली पक्षले कञ्चनपुरको पुनर्वास–८ नेपाल–भारत सीमा भन्दा करिव ८ मिटर नेपालतर्फ कल्भर्ट निर्माण गर्दा भारतीय पक्षले गरेको हस्तक्षेपका कारण बढेको विवादमा भारतीय प्रहरीले गोली चलाउँदा बिहीबार गौतमको मृत्यु भएको हो ।  नेपाली भूमि रक्षाका लागि ज्यान गुमाएका गौतमलाई सरकारले सहिद घोषणा गरेको र क्षतिपूर्ति स्वरुप गौतम परिवारलाई १० लाख रुपैयाँ दिने पनि सरकारले घोषणा गरेको छ ।

साथै गौतमका तीन वटा छोरीलाई उच्च शिक्षासम्म अध्ययन गराउने जिम्मा पनि सरकारले नै लिएको छ । 

शव यात्रा (फोटोफिचर)

   

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार