१४ बैशाख २०८१, शुक्रबार

मेची–महाकाली अभियानको तयारी तीव्र



धनगढी  ।  नेकपा एमाले प्रदेश नम्बर ७ ले संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान, राष्टिय एकता र सामाजिक सद्भावका लागि मेची–महाकाली अभियानको तयारी तीव्र पारेको छ ।

सात नम्बर प्रदेश अन्र्तगतका लम्की, धनगढी र भीमदत्तनगरमा हुने प्रदर्शन र आमसभाको तयारीका लागि विभिन्न तयारीहरु तीव्र पारिएको एमालेका केन्द्रीय सदस्य महेश्वर पाठकले बताए ।

तयारी व्यापक बनाउन यसअघि एमाले उपाध्यक्ष तथा सात नम्बर प्रदेशका संयोजक भीम रावलको अध्यक्षतामा भएको बैठकले विभिन्न समितिहरू गठन गरिसकेको छ ।

यसैबिच प्रचारप्रसार उपसमितिको शनिवार बसेको बैठकले प्रचारका विभिन्न गतिविधि गर्ने योजना बनाएको छ । फागुन २१ गते झापाबाट सुरु भएको अभियान चैत २ गते कैलाली पुग्ने बताइएको छ ।

अभियान पुगेकै दिन चैत २ गते लम्कीमा र ३ गते धनगढीमा जनसभा हुने प्रचार संयोजक पाठकले बताए । यस्तै चैत ४ गते कञ्चनपुरको भीमदत्तनगरमा आमसभा गर्ने तयारी छ ।

धनगढीको ३ गतेको जनसभाका लागि धनगढी उपमहानगरपालिका २० वटै वडाबाट ३५ हजार बढी जनता उतार्ने तयारीका लागि शनिवार नै क्षेत्र नम्बर ६ स्तरिय भेला भएको छ । भेलाले जिल्ला कमिटीका सचिवालय सदस्य लक्ष्मण कुावरको संयोजकत्वमा मूल परिचालन समिति बनाएको छ । भेलामा एमालेका केन्द्रीय सदस्य तथा प्रचारप्रचार उपसमितिका संयोजक महेश्वर पाठक रहेका थिए ।

प्रर्दशन तथा जनसभामा एमाले अध्यक्ष केपीशर्मा ओली, वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्षहरु वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, योगेश भट्टराई लगायतका नेताहरूको उपस्थिति रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार