१४ बैशाख २०८१, शुक्रबार

धनगढी लगायत विभिन्न क्षेत्रमा दिनभर चर्को प्रदर्शन



धनगढी  ।  भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट कञ्चनपुरको पुनर्वास नगरपालिका–८, आनन्दबजारमा युवक गोविन्द थापाको मृत्यु भएको घटनाको विरोधमा शुक्रवार धनगढी सहित कैलालीका विभिन्न क्षेत्र एवं कञ्चनपुर लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा व्यापक प्रदर्शन भएको छ ।
नेपाली भूमिमा निर्माण भइरहेको कल्भर्ट भत्काउन खोज्ने भारतीय सीमा सुरक्षा बल तथा भारतीयहरूको विरोधमा उत्रेका पुनर्बासबासीमाथि एसएसबीले गोली प्रहार गर्दा युवक गोविन्दको बिहीबार ज्यान गएको थियो ।
घटनाको घोर विरोध गर्दै आक्रोसित सर्वसाधारण नेपालीले दिनभरि नै नेपाल भारत सीमा क्षेत्रमा चर्को नाराबाजी तथा विरोध प्रदर्शन गरे ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा सहितका राजनीतिक दलका साथै विभिन्न संघसंस्थाको आह्वान र स्वतः:स्फूर्त रूपमा सडकमा उत्रेका हजारौँ नेपालीले दिनभरि विभिन्न ठाउँमा प्रदर्शन गरिरहे ।
भारतीय सुरक्षा बलबाट नेपाली भूमिमा प्रवेश गरेर गरिएको ज्यादती तथा यसवक गोविन्दको हत्याको विरोधमा कैलालीको सदरमुकाम धनगढी र सुखड सहितका बजार, कञ्चनपुरको पुनर्बास र सदरमुकाम महेन्द्रनगरमा दिनभरि विरोध प्रदर्शन भएको थियो । नेपाली राष्ट्रिय झण्डासहित सडकमा ओर्लेका हजारौँ सर्वसाधारणले भारतीय दादागिरी विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
धनगढीमा नेपाल–भारत सीमा त्रिनगर भन्सार नाकामा पनि ठुलो सङ्ख्यामा जम्मा भएका सर्वसाधरणले प्रदर्शन गरेका थिए । आक्रोशित प्रदर्शनकारीहरूलाई अगाडि बढ्न नदिन प्रहरीले सडकमा काँडेतार राखेर रोकेको थियो । सीमा क्षेत्रमा थप अप्रिय घटना हुन नदिन तथा स्थिति भड्किन नदिन ठुलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
भारततिरको गौरीफन्टा नाकामा पनि ठुलो सङ्ख्यामा भारतीय एसएसबी परिचालन गरिएको थियो । शुक्रवार गौरीफन्टा नाकाबाट आवातजावत पूर्णरूपमा रोक लगाइएको थियो । भारतीय पक्षले सम्भावित झडपलाई दृष्टिगत गरी सीमानाकामा आवातजावतमा रोक लगाएको थियो ।
सीमा क्षेत्रमा दुवै देशका उच्च सुरक्षा अधिकारी, स्थानीय प्रशासन प्रमुख लगायतले निरन्तर अनुगमन गरिरहेका थिए । कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले विशेष सावधानीपूर्वक सुरक्षाकर्मी परिचालन गरेर सम्भाव्य अप्रिय घटना हुनबाट जोगाइएको बताए ।
नेपाल–भारत सीमा नाकामा ठुलो सङ्ख्यामा नेपाली नागरिक उपस्थित भई भारतीय सुरक्षाकर्मीको ज्यादतीबिरुद्ध प्रदर्शन भएपछि कैलाली र कञ्चनपुरका सबै सिमानाका बन्द गरिएका छन् । बन्द सिमानाका कहिले सञ्चालनमा आउने भन्ने निश्चित भन्न नसकिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
एसएसबीको गोली प्रहारबाट युवक गोविन्दको हत्या भएको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी) र वाइसिएलको नेतृत्वमा धनगढीमा क्याम्पस चोकदेखि भन्सारसम्म प्रदर्शन गरिएको थियो । अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव उद्धव भट्टराईले भारतीय नम्बर प्लेटका गाडी र हिन्दी चलचित्रमा रोक लगाइने बताए ।
प्रदर्शनपछि एलएन चोकमा आयोजित कोणसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष मनोज भट्टले भारतीय पक्षको ज्यादतीको घोर निन्दा गरे ।
त्यस्तै, कैलालीको सुखडमा विभिन्न पार्टीका भातृसंगठनहरूले विरोध प्रदर्शन गरेका थिए ।
उता घटनाको विरोधमा बैतडीमा पनि शुक्रवार प्रदर्शन भएको छ । बैतडीको देहिमाडौंका दुई घण्टा चक्काजाम पनि भएको छ ।
त्यस्तै, बैतडीमा गोकुलेश्वरमा रहेको कृषि तथा पशु विज्ञान कलेजका विद्यार्थीले विरोध गरेका छन् ।
गोविन्दलाई शहीद घोषणा
यसैबिच सरकारले गोविन्द गौतमलाई शहीद घोषणा गरेको छ । शुक्रवार संसद्मा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मृतक गोविन्दको परिवारलाई १० लाख रुपैयाँ दिने समेत घोषणा गरे ।
गृहमन्त्रीले मृतक गोविन्दका छोराछोरीलाई सरकारले उच्च शिक्षासम्म नि:शुल्क अध्ययनको व्यवस्था मिलाउने, गोविन्दको उच्च सम्मानका साथ अन्त्येष्टि गर्ने र परिवारका एक जना सदस्यलाई रोजगारको व्यवस्था मिलाउने पनि घोषणा गरे ।

 

घटना छानबिन गर्ने सहमति
शुक्रवार नेपाल र भारतका अधिकारीहरूबीच भारतको गौरीफन्टामा भएको वार्तामा सीमा क्षेत्रमा शान्ति स्थापना गर्ने र घटनाको छानबिन गर्ने सहमति भएको छ ।
सीमा क्षेत्रमा तनाव उत्पन्न भएपछि नेपाल र भारतका अधिकारीहरूको गौरीफन्टामा बसेको संयुक्त बैठकमा सो सहमति भएको जनाइएको छ ।
कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार संयुक्त बैठकमा भारतीय पक्षले एसएसबीले गोली नचलाएको दाबी गरेको बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालले बिहीबारको घटनालाई केन्ऽीय स्तरबाट विवाद मिलाउन पहल गरिने र त्यसपछि गोली कसले चलाएको भन्ने बारे प्रस्ट हुने बताए । बैठकमा लखिमपुर खिरीका डिस्ट्रिक मजिस्ट्ेरट आकाश दीपले दुवै देशमा शान्ति व्यवस्था कायम गर्न आफ्नो तर्फबाट विशेष पहल हुने बताएका थिए ।
वार्तामा कैलालीका प्रमुख जिल्ला अधिकारी रिजाल, कैलाली प्रहरी प्रमुख एसपी अर्जुनचन्द ठकुरी, सशस्त्र प्रहरीका एसपी गणेश संग्रौला र अनुसन्धान विभागका एसपी योगेन्ऽ केसी सहभागी थिए ।
बैठकमा भारतीय पक्षबाट लखिमपुर खिरी जिल्लाका डिस्ट्रिक मजिस्ट्रेट आकाश दीप, भारतीय एसएसबीका कमाण्डेट वीरेन्ऽसिंह सिन्धु र पलियाका भारतीय प्रहरी एसपी मनोजकुमार झा सहभागी थिए ।

 

तीन बुँदे सहमतिपछि तनाव केही मत्थर
तीन बँुुदे सहमति भएपछि बिहीबारदेखि कञ्चनपुरमा शुक्रवार साँझदेखि स्थितिमा केही सुधार आएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालको नेतृत्वमा गएको टोलीले भारतीय डिएम (डिस्ट्रीक मजिस्ट्रेट) आकाश दिपसंग छलफल गरी तीन बुुँदे सहमति गरेका थियो ।
स्थिति नियन्त्रणका लागि सीमा सर्वेक्षण नभएसम्म कल्भर्ट निर्माण कार्य रोक्ने, दुवै क्षेत्रको उपस्थितिमा सीमा सर्वेक्षणका लागि तत्काल केन्द्रीय टोली बोलाई सर्वेक्षण गर्ने र दोषीलाई पत्ता लगाई कारबाही गर्ने सहमति भएको जनाइएको छ ।
बैठकमा कञ्चनपुर प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, कञ्चनपुर सहायक प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर कँुुवर, भारतीय डिएम आकाश दीप, सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
कल्भर्ट निर्माणको विषयलाई लिएर कञ्चनपुरको पुर्नवास नगरपालिका–८, आन्नदबजारमा बिहीबार बिहानदेखिनै दोहोरो झडप जारी थियो ।
भारतीय एसएसविले शुक्रबारमात्रै २८ राउण्ड फायरिङ र २० राउण्ड अश्रयुग्यास प्रहार गरेको थियो ।

 

को हुन् गोविन्द ?


साथीभाइसंग एकदमै मिलनसार, मेहनती स्वभावका युवा गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी) हत्या भएपछि पुनर्बास शोकमग्न तथा आक्रोसित भएको छ ।
२०४१ साल फागुन २ गते पुनर्वास नगरपालिका–८, माछापुच्छ्रेमा जन्मेका गोविन्द गरिबीका कारण कक्षा ७ बाट पढाई छोडेर मजदुरी गर्न थालेका थिए ।
उनी ११ वर्षअघि लक्ष्मी गौतमसंग विवाह बन्धनमा बाँधिएका थिए । तीन वर्ष मलेसियामा काम गरेर फर्केपछि उनले पुन: दुई वर्ष साउदीअरबमा रोजगारी गरेका थिए ।
सुकुम्बासी बस्तीका गौतमसंग दुई कठ्ठा जमिन मात्र रहेको छ । उनका ७१ वर्षीय बुवा खेमलालले मजदुरी गरेरै छोराछोरीको जिविकोपार्जन गरेका थिए ।
मृतक गौतमका आफ्न्तले उनलाई राज्यले सहिद घोषणा गर्नुपर्ने, उनले मृत्युवरण गरेको क्षेत्रमा सालिक बनाउनुपर्ने, आन्नदबजारलाई गोविन्दबजार नामाकरण गर्नुपर्ने लगायतका पाँच बुँदे माग गरेका छन् ।

 

सम्बन्धित थप समाचार 

भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट एक नेपालीको मृत्यु

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार