१४ बैशाख २०८१, शुक्रबार

गंगा दशहरा मेला शुरु



धनगढी । सात नम्बर प्रदेशका विभिन्न धार्मिक स्थल्मा बिहीबारदेखि गंगादशहरा मेला शुरु भएको छ ।
प्रदेशको ठूलो धार्मिक तथा पर्यटकीय स्थल खप्तड, कैलालीको बेहडाबाबा र कञ्चनपुरको नक्ताबाबामा भकुण्डा धुमधामसँग गंगा दशहरा मेला शुरु भएको जनाइएको छ ।
प्रदेश नम्बर ७ को सबैभन्दा ठूलो धार्मिक तथा पर्यटकीय स्थल खप्तडमा गंगादशहरा मेला हेर्नका लागि नेपाल तथा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा दर्शनार्थी, पर्यटक पुगेका छन् ।
खप्तड बझाङ, बाजुरा, डोटी र अछामको सीमासँग जोडिएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण खप्तडलाई प्रकृतिको स्वर्गको उपमा दिने गरिएको छ । खप्तडमा २२ वटा पाटन रहेका छन् ।
बझाङको तमैल र डोटीको झिंग्रान भन्ने ठाउँबाट खप्तड जान सकिन्छ । चार पाँच घण्टाको उकालो पैदल यात्राबाट पुग्न सकिने खप्तड पुग्दा चारैतिरको मनमोहक सुन्दरताले थकानकोसमेत अनुभूति हुँदैन ।
समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाईमा रहेको यो क्षेत्रको खप्तड पाटन, त्रिवेणी, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, सहश्रलिंग र चैत वैशाखमा फुल्ने लालीगुराँस यस क्षेत्रका मुख्य आकर्षणका रूपमा रहेका छन् । खप्तडको सबै भन्दा आकर्षक पक्ष हो धार्मिक तथा ऐतिहासिक गंगा दशहरा मेला । यो मेला हरेक वर्ष जेष्ठ शुक्ल नवमीका दिन लाग्ने गर्छ ।
पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरूले बास बस्ने तपोभूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो । त्रिवेणी, सहस्र लिंग, खापरदह, खडुली, दुदुलीलगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाइन्छ भन्ने धामिर्क विश्वास रहेको छ ।
मेला भर्नका लागि प्रदेश नं ७ का ९ वटै जिल्ला सहित देशभरका विभिन्न जिल्लाहरू र भारतको उत्तरखण्डबाट समेत मानिसहरू आउने गरेका छन् ।
झण्डै ५१ वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ खप्तड प्रकृतिप्रेमीलाई मात्र नभई, भक्तजन तथा पर्यटकहरूका लागि पनि उपयुक्त गन्तव्य बन्दै गएको छ ।
पहाडको उच्च भेगमा अग्ला अग्ला लेकाली सल्लाका रूख त्यसको फेदीमा सुन्दर हराभरा ठूला–ठूला पाटन, मैदानमा छाडिएका घोडाहरू र चौरमा फुलेका रंगीबिरंगी फूलहरूले पर्यटकहरूको मनलाई लोभ्याउने गर्छ । खप्तड साँच्चैनै एकपटक पुग्नैपर्ने प्रकृतिको स्वर्ग जस्तै छ ।
कैलालीको धनगढीस्थित रहेको बेहडाबाबामा पनि मेला हेर्न कैलाली कञ्चनपुरसहित भारतीय मुलका भक्तजनहरू आउने गरेका छन् । बुधबार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पूजापाठ गरेर मेलाको उद्घाटन गरेका थिए । विगतमा स्थानीयकै सक्रियतामा हुँदै आएको मेलामा यस वर्ष कैलाली भ्रमण वर्ष मूल आयोजक समिति २०७५ को सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार