१९ बैशाख २०८१, बुधबार

नेपालको पर्यटन प्रवर्द्धनका लागि देहरादूनमा छलफल



देहरादून । भारतको उत्तराखण्ड सरकारका पर्यटन मन्त्री र नेपालको एक प्रतिनीधिमण्डलबा बीच पर्यटन क्षेत्रको विस्तार र विकासबारे छलफल भएको छ ।
मंगलवार राति भएको छलफलमा उत्तरखण्डका पर्यटन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका सिंचाई, बाढ नियन्त्रण र संस्कृति मन्त्री सतपाल महाराजले नेपाल र भारतका पर्यटकलाई एकअर्को देशमा लैजान जरुरी भएको बताए ।
हामीले चारधाम र पशुपतिनाथलाई जोडेर धार्मिक पर्यटन बढाउन सक्छाैं उनको भनाई छ भाषा, संस्कृति रहनसहन र खानपान समेत मिल्दोजुल्दो रहेकोले उत्तराञ्चल र नेपालको सात नम्बरको पर्यटन क्षेत्र व्यवस्थित बनाउनु जरुरी छ ।
प्राचीन ढंगले नेपाल भारतको धार्मिक पर्यटन चल्दै आएको छ यसलाई अझ व्यवस्थित बनाउनुपर्नेमा मन्त्री महाराजको ठहर छ । पशुपति नाथ, मुक्तिनाथ लगायतका क्षेत्रमा आफू गएको स्मरण गर्दे उनले मानसरोबर यात्रा अझ सहज बनाउन सके नेपालले ठूलो फाइदा लिन सक्ने आशय पनि व्यक्त गरे ।
पर्यटन जोड्नलाई कला, संस्कृति र लोप हुँदै गएको खानाका विभिन्न प्रकारको आदान प्रदान गर्नुपर्नेमा जोड दिएका मन्त्री महाराजले पञ्चेश्वर जलविद्युत आयोजना बनेपछि नेपाल र भारतलाई बहुक्षेत्रमा फाइदा हुने विश्वास गरे ।
उनले खिचडी, डुप्का, राइता, सेलरोटी जस्ता धेरै खानाका प्रकारहरु नेपाल र भारतको साझा खानाको प्रकार रहेको चर्चा गर्दे यसको जगेर्ना गर्नु पर्नेमा पनि जोड दिए । उनले पर्यटन, संस्कृति लगायतका क्षेत्रको विकास र प्रवर्द्धनका लागि लिखित सुझाव र योजनाको अपेक्षा गरेका थिए । लिखित योजना आए आफूले मैलै पर्यटन क्षेत्रको विकासका लागि सक्दो प्रयास गर्छु उनको प्रतिवद्धता थियो । उनले नेपाली प्रतिनिधिमण्डलले उठाएको देहरादून काठमाडाैं सिधा हवाई सेवाको माग पुरा गर्न प्रयास गर्ने आश्वासन पनि दिए । मन्त्री महाराजले नेपाली टोलीलाई रात्रि भोज दिँदै उत्तराखण्डको पर्यटन सम्वन्धी जानकारी पुस्तक पनि उपहार दिएका थिए ।
सोट्टो नेपालले आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत मन्त्री महाराजलाई भेटेको थियो । सो भेटमा बोल्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पर्यटन प्रर्वद्धन विभागका प्रमुख सूर्य थापाले चारधामसँग पशुपति नाथलाई पनि जोडेर पर्यटक आदान प्रदान गर्नुपर्ने धारणा राखे । उनले धार्मिक क्षेत्रका जानकारहरुले चारधाम यात्रा पशुपति नाथको यात्रापछि मात्रै पुरा हुने बताएको स्मरण पनि गराएका थिए ।
खप्तड, शुक्लाफाँटा, देहरादुन, ऐतिहासिक लडाई भएको क्षेत्र नालापानी, हरिद्वार, ऋषिकेश लगायतका क्षेत्रलाई जोडेर अघि जाँदा दुईवटै देशलाई फाइदा हुने गरेर उल्लेख्य आन्तरिक र बाह्य पर्यटक ल्याउन सकिने पनि थापाले बताएका थिए ।
नेता थापाले नेपालीहरुले अंग्रेज बिस्तारबादका बिरुद्ध नेपालीले लडेका ठाउँको संरक्षण गर्नु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा नेपाली भाषी सूर्यविक्रम शाहीले ऐतिहासिक क्षेत्र नालापानी र कागडाको संरक्षण सम्वर्द्धन गर्न जोड दिएका थिए । सञ्चारकर्मी पूर्वा सिंहले पनि नेपालीको भावानात्कम सम्वन्ध रहेको नालापानी र काागडाको राम्रो संरक्षण गर्न सके नेपाली पर्यटकहरु बढ्ने सम्भावना रहेको चर्चा गरे ।
सोट्टोकाे आयोजनामा भइरहेको शुक्लाफाँटा, नालापानी र खप्तड आन्तरिक पर्यटन प्रवर्द्धन यात्राका संयोजक यमबहादुर खड्काले चाँडै भारतका उत्तरखण्ड र पश्चिम नेपालका पर्यटकीय क्षेत्रलाई लक्षित गरेर टूर प्याकेज बनाउने जानकारी दिए । शुक्लाफाँटा, नालापानी र खप्तड आन्तरिक यात्रा झण्डै दुईसातासम्म सञ्चालन हुने उनले बताए ।
टोलीले मंगलबार नै देहरादूनस्थित उत्तराञ्चल प्रेस क्लवमा पत्रकार भेटघाट गरेर नेपालको पर्यटकीय क्षेत्रका बारेमा जानकारी गराएको थियो । सो टोलीले कञ्चनपुरको लिंगा, शुक्लाफाँटा, भारतको हरिद्धार, ऋषिकेश, देहरादून, मसुरी, नालापानी र नैनितालको भ्रमण गरिसकेको छ । टोलीमा सोट्टोमा आवद्ध विभिन्न ट्राभल एजेन्सीका सञ्चालक र पत्रकार गरेर १४ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार