१४ बैशाख २०८१, शुक्रबार

आहा ! महादेवा



धनगढी । वरिपरि घना जंगल । जंगलको बीचमा ताल । तालभित्र सानो मन्दिर । स्वच्छ निलो तालमा जताततै हरियो पातमाथि सेतो कमलको फूल । तालको मध्ये भागमा रहेको मन्दिरसम्म पुग्नका लागि किनारामा काठको डुंगा राखिएको छ । ताल तथा जंगलमा चिरबिर गरिरहेका विभिन्न प्रजातिका चराचुरुङ्गी । धनगढी उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको महादेवा ताल पुग्ने जोकोही पनि मन्त्रमुग्ध हुनपुग्छन् ।
तालभन्दा झण्डै १५ मिनेटको दुरीमा प्रशिद्ध बेहडाबाबा मन्दिर छ । ३९ हेक्टर क्षेत्रफलमा रहेको बेहडाबाबा मन्दिर जमिनमध्ये २० हेक्टर क्षेत्रफल सो तालले ओगटेको छ । मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थी तथा घुम्न आउने पर्यटकमध्ये अधिकांशको रोजाई महादेवा ताल बन्ने गरेको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दका अनुसार बेहडाबाबा मन्दिर तथा महादेवा तालमा दैनिक ५० जनाको हाराहारीमा मानिस आउने गरेका छन् । व्यवस्थापन समितिले बेहडाबाब मन्दिर तथा महादेवा तालको व्यवस्थापनका लागि आयस्रोत जुटाउन विभिन्न निर्णय गरेको छ । अध्यक्ष चन्दले भने– ‘तालभित्र रहेको मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीलाई जनही १० रुपैयाँ शुल्क लगाइएको छ । तालमा पाइने कमलका पात बिक्री गरिरहेका छौं ।’
उनका अनुसार कमलको पात बिक्री र डुंगाको शुल्कबाट आउने रकमबाट चौकीदार र डुंगाचालकको पारिश्रमिक दिने गरिएको छ ।
महादेवामा केही वर्षअघिसम्म माछापालन हुने गरेको थियो । साविक उर्मा गाविसले सो ताल ठेक्कामा दिने गरेको थियो । पर्यटकीय सम्भावना बोकेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको तालमा माछापालन गर्दा नकारात्मक प्रभाव पर्न थालेपछि पुन: २०७० सालदेखि मन्दिर व्यवस्थापन समितिले व्यवस्थित गर्ने काम अघि बढाएको छ । अध्यक्ष चन्दले भने– ‘अहिले माछापालन बन्द गरेर व्यवस्थित बनाउने काम सुरु गरेका छौं ।’ व्यवस्थापन समितिले २०७० सालदेखि कमलका पात प्रति कठ्ठाको ५० रुपैयाँका दरले विक्री गर्ने गर्दै आएकोमा आर्थिक वर्ष २०७४/०७५ देखि एक रुपैयाँमा दुई पात बिक्री गरिरहेका छन् ।
महादेवा ताल आन्तरिक पर्यटकको आकर्षण भए पनि सडकको पहुँच, विद्युत सेवा, पर्यटकका लागि सुविधायुक्त आवास, तथा प्रचारप्रसारको कमीका कारण बाह्य पर्यटक भित्र्याउन नसकेको उनले बताए ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बेहडाबाबा मन्दिर र ताललाई व्यवस्थित गर्न विभिन्न काम भइरहेको बताए । उपमहानगरपालिका प्रमुख वडका अनुसार महादेवा तालसम्म जोड्ने सडक निर्माणदेखि तटबन्ध निर्माण कार्य धमाधम भइरहेको छ । त्यस्तै, धनगढी–बेहडाबाबा–महादेवा तालसम्मको १५ किलोमिटर रिङरोड निर्माण कार्य भइरहेका छन् ।
नगर प्रमुख वडले बेहडाबाबा मन्दिर आफैमा धार्मिक आस्थाको धरोहर भएकाले यहाँ आउने आन्तरिक तथा वाह्य पर्यटकहरूको संख्या बृद्धि हुने अपेक्षा व्यक्त गरे ।
बेहडाडबाबा महादेव ताल संरक्षक भुवनलाल चौधरीले ताल र मन्दिरमा विगत भन्दा निकै परिवर्तन आएकाले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रतिक्रिया सकारात्मक रहेको बताए ।
उपमहानगरपालिका र मन्दिर व्यवस्थापन समितिले व्यवस्थापनको कामलाई तिव्रता दिइरहेको भए पनि अझै पूर्णरूपमा व्यवस्थित हुन समय लाग्ने देखिएको छ । अहिले अवस्थामा निर्माणका कामहरू मात्रै अगाडि बढिरहेका छन् । स्थानीय प्रेम बुढाले मन्दिर र तालको व्यवस्थापनको कामलाई तिव्रता दिएसँगै यस क्षेत्रमा पर्यटकहरूका लागि सुविधायुक्त आवास लगायतका पक्षमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताए ।
हाल सघन शहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा खानेपानी, सडकलगायतका कामलाई तिव्रता दिएको छ । धार्मिक आस्थाको धरोहर बेहडाबाबा मन्दिरमा हरेक वर्ष लाग्ने गंगा दशहरा मेलामा प्रदेश नम्बर ७ लगायत भारतका विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । मेलाका अवसर मात्र नभएर अन्य समयमा पनि बेहडावावा मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार