१४ बैशाख २०८१, शुक्रबार

कैलाली भ्रमण वर्ष : वार्षिक क्यालेण्डर तयार गरेर कार्यक्रम गरिने



धनगढी । कैलाली भ्रमण वर्ष २०७५ मा वार्षिक क्यालेन्डर तयार गरेर आगामी कार्यक्रमहरू सञ्चालन गरिने भएको छ ।
जिल्ला समन्वय समिति, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भ्रमण वर्षका आगामी कार्यक्रमहरू वार्षिक क्यालेन्डरअनुसार अगाडि बढाइने जानकारी दिइयो ।
जिल्ला समन्वय समितिका प्रमुख सूर्यबहादुर थापाले जिल्ला १३ वटै स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा केन्द्रीत भएर कार्यक्रम सञ्चालन गरिने बताए ।
भ्रमण वर्ष उद्घाटनका क्रममा उपस्थित भएका सरकारका मन्त्री तथा उच्चाधिकारीहरूले यस क्षेत्रको विकास निर्माण र सम्भावनाहरूको विकासलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेको उनले बताए ।
कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन भए पनि आगामी कार्यक्रम तालिका सार्वजनिक भएको छैन ।
भ्रमण वर्ष सुरुवात गर्नु अगाडि नै कार्यतालिका सार्वजनिक गर्नुपर्ने भएपनि अहिले क्यालेण्डर बनाएर मात्रै कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिएको छ । त्यस्तै, भ्रमण वर्ष अवधिमा जिल्ला घुम्न आउने पर्यटकहरूले के सेवासुविधा वा सहुलियत पाउनेछन् भन्ने विषय पनि यकिन छैन । यसबारे अहिलेसम्म केही सार्वजनिक पनि गरिएको छैन ।
जिल्ला समन्वय समितिका प्रमुख थापाले सबैको सल्लाह, सुझाव आवश्यक रहेको बताए । उनले कैलालीमा पर्यटक भित्र्याउन सक्ने धेरै सम्भावना भएको बताए । उनले वर्षभरीमा एक लाख बढी पर्यटक कैलालीमा भित्र्याउने लक्ष्य लिएको बताए ।
कैलालीमा राजकाँडा, कर्णाली नदिमा र्‍याफ्टीङ, धार्मिक स्थल, ताल तलैया लगायत धेरै पर्यटक रहेका छन् । जिल्लाका कतिपय स्थानहरूमा पूर्वाधार विकास नहुँदा पर्यटकीय स्थलहरू ओझेलमा परेका छन् भने भएका पर्यटकीय स्थलहरू पनि व्यवस्थित छैन्न ।
पर्यटन विकासको क्षेत्रमा काम गरिरहेका रमण श्रेष्ठले पर्यटकीय स्थलको प्रचारप्रसारसँगै पूर्वाधारको विकास गर्न जरुरी रहेको बताए ।
उनले भने– ‘हामीले कैलाली भ्रमण वर्ष त भन्यौ, तर पर्यटकलाई आकर्षण गर्ने कुनै कार्यक्रम ल्याइएको छैन ।’ उनले यस वर्ष होटल, यातायात भाडामा छुट, पर्यटन स्थलमा विशेष उपहार कार्यक्रम लगायतका कार्यक्रम पनि लागू गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार