१४ बैशाख २०८१, शुक्रबार

कर्णालीमा र्‍याफ्टिङमा रमाउनेहरू बढे



टीकापुर । कैलाली पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ । कैलाली जिल्लामा आउनेहरू चिसापानी घुमघामसँगै कर्णाली नदीमा चिसापानीदेखि टीकापुरसम्म र्‍याफ्टिङ यात्रा र टीकापुर पार्कमा घुम्न आउनेको संख्यामा बृद्धि आएको छ ।
विभिन्न संघसंस्थाले समेत कर्णाली नदीमा र्‍याफ्टिङ गराउने गरेका छन् ।
पछिल्लो पटक सोमबार सुरक्षित आप्रवासन परियोजनाले आफ्ना कर्मचारीहरू र पत्रकारहरूलाई कर्णालीको चिसापानीदेखी टीकापुर सम्मको र्‍याफ्टीङ गराएको छ ।
कर्णाली चिसापानीदेखि टीकापुर पार्कसम्म २८ किलोमिटर र्‍याफ्टीङपछि अनुभव सुनाउँदै पत्रकार प्रकाशबिक्रम शाहले र्‍याफ्टिङका कारण आन्तरिक र बाह्य पर्यटक आकर्षित भइरहेको बताए ।
सुरक्षित आप्रवासन परियोजनाका संयोजक पञ्चराम चौधरीले भने– ‘कर्णालीमा र्‍याफ्टीङ गर्दै गर्दा देखिने प्राकृतिक दृष्यहरूले आनन्द दिए पनि बीचबीचमा विश्रामका लागि गृहहरू भएमा पर्यटन विकासमा अझै सहयोग पुग्ने छ ।’
र्‍याफ्ट आनन्द लिनेहरू कर्णाली नदी किनारको दृश्य लोभलाग्दो भएको बताउँछन् । उनीहरू र्‍याफ्टिङले भरपुर आनन्द दिएको बताउँदै नदीमै ढलेका रुखहरूका बीचबाट गुज्रिनुपर्दा भने अलि डर लाग्ने गरेको प्रतिक्रिया दिन्छन् । र्‍याफ्टिङ यात्रामा आउनेसक्ने चुनौतिलाई चिर्न सुरक्षाको व्यवस्था पनि गर्नुपर्ने शान्ति चौधरीको सुझाव छ ।
कर्णाली, भेरी, सेतीदेखि चिसापानी तथा टीकापुर पार्कसम्म २०६९ सालदेखि निरन्तर र्‍याफ्टिङ कार्य गरिरहेका कर्णाली र्‍याफ्टिङ एण्ड एडभेन्चरका सञ्चालक विष्णुप्रसाद जैशीले र्‍याफ्टिङका क्रममा वन्यजन्तु, बालुवामा सुन चालेको दृष्य, माछा लगायतका दृष्य निकै मनमोहक हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार