१४ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम गोल्डकप फुटवल : जाडोले दर्शक घटे



धनगढी । एक सातादेखि जाडो बढ्दै गएपछि अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताका दर्शक पातलिएका छन् ।
मौसम राम्रो भएका दिन फुटवल खेल हेर्न धनगढीस्थित क्षेत्रीय रंगशालामा दर्शकको भीड लाग्ने गरेको थियो । क्षेत्रीय रंगशालामा तीन हजार पाँच सय जना अटाउने स्थायी प्याराफिटमा छ भने दर्शकको संख्या बढ्ने अनुमान गर्दै एक हजार पाँच सय जना अट्ने अस्थायी प्याराफिट पनि निर्माण गरिएको छ ।
खप्तड गोल्डकपको गत २१ गते उद्घाटन भएको थियो । उ्घाटनका दिन मौसम राम्रो भएका कारण एक लाख पाँच हजार चार सय रुपैयाँको टिकट बिक्री भएको जनाइएको छ । गोल्डकप प्रतियोगिता आयोजक सुदूरपश्चिम ११ स्पोटर््स क्लवका अनुसार जाडोले दर्शक घटेपछि उद्घाटनको दिनको तुलनामा आइतबार दर्शकको संख्यामा झण्डै ५० प्रतिशतले कमी आएको थियो । आइतबार ६९ हजार एक सय रुपैयाँको मात्र टिकट बिक्री भएको थियो ।
मौसम राम्रो रहेकोले शुक्रबार पनि खेल हेर्न उल्लेख्य संख्यामा दर्शक आएका थिए । शुक्रबार एक लाख सात सय ५० रुपैयाँको टिकट बिक्री भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवले जनाएको छ ।
तर, धनगढीमा शनिबारदेखि मौसम निरन्तर खराब भइरहेको छ । प्रतियोगिता अन्तर्गत लीग चरणको खेल भइरहेका छन् । सोमबार दिउँसो १ बजे खेल शुरु हुँदासम्म दुईतीन सय जना मात्रै दर्शक आइपुगेका थिए । सोमबार दिउँसो १ बजे धनगढीको तापक्रम १२ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । धनगढीमा पछिल्ला तीनचार दिनयता तापक्रम न्युनतम २.५ डिग्री सेल्सियस तथा अधिकतम १३.२ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाको अनलाइन पोर्टलमा उल्लेख छ ।
प्रतियोगिताका टिकट व्यवस्थापन प्रमुख ध्रुव बरालका अनुसार दर्शकका लागि एक सय ५० र एक सय रुपैयाँका टिकट बिक्री गर्ने गरिएको छ ।
सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रतियोगिताको विजेता टीमले ११ लाख ११ हजार ११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पाउने छ ।
त्यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छ ।
त्यस्तै, प्रतियोगिताको विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५ हजार तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार