६ कार्तिक २०८१, मंगलवार

आसन्न आम निर्वाचन : सुरक्षा व्यवस्था थप मजबुत बनाइँदै



धनगढी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी हिंसात्मक गतिविधि बढ्दै गएपछि प्रदेश नम्बर ७ मा सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ ।
क्षेत्रीय प्रशासन कार्यालय दिपायलका अनुसार निर्वाचनताका कुनै पनि अप्रीय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीलाई थप परिचालन गरिएको छ । प्रदेश नम्बर ७ मा निर्वाचनताका सुरक्षा व्यवस्था बलियो बनाउन झण्डै १४ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
क्षेत्रीय प्रशासक लक्ष्मीराम पौडेलले हिंसात्मक तथा अप्रीय घटना हुन नदिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको थप टोलीलाई तयारी अवस्थामा राखिएको बताए ।
दोस्रो चरण अन्तर्गत भोलि (बिहीबार) ७ नम्बर प्रदेशको कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाममा निर्वाचन हुँदै छ । निर्वाचनलाई भयरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले कुनै कसर बाँकी नराखेको क्षेत्रीय प्रशासक पौडेलले बताए ।
दोस्रो चरणको निर्वाचन हुने पाँच जिल्लामा छ सय ८४ मतदान स्थल रहेका छन् । तीमध्ये दुई सय ४२ मतदान केन्द्र अति संवेदनशील रहेको क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ ।
त्यस्तै, दुई सय ७२ मतदान केन्द्र संवेदनशील र एक सय ७० मतदान केन्द्र सामान्य रहेका छन् ।
क्षेत्रीय प्रशासक पौडेलले स्थानीय तहको निर्वाचनलाई आधार मानेर सुरक्षा निकायले मतदान स्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य अवस्था गरी तीन प्रकारमा वर्गीकरण गरेको भए पनि सुरक्षा व्यवस्था सबैमा मजबुत पारिएको बताए ।
‘हामीले सामान्य भनेर राखेको मतदान स्थलमा कुनै घटना हुन सक्दैन भन्ने हुँदैन’ उनले भने– ‘त्यसैले सुरक्षा सर्तकता कडा पारिएको छ ।’
त्यस्तै, निर्वाचनको समयमा कुनै पनि किसिमको अवाञ्छित तथा अपराधिक गतिविधि हुन नदिन नेपाल भारतका सम्पूर्ण सीमानाका तीन दिनसम्मका लागि सिल गरिएको जनाइएको छ । यो अवधिमा भारतबाट आउने नेपाली मतदातालाई भने आवागमनमा कुनै रोक नलगाइएको उनले बताए ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा दुई सय ३१ मतदानस्थल रहेका छन् । मतदानस्थललाई तीन तहमा वर्गीकरण गर्दै सुरक्षा व्यवस्था मिलाइएको कैलाली प्रहरी प्रमुख विनोद घिमिरेले बताए ।
तीमध्ये कैलालीका ७७ वटा मतदान केन्द्रलाई अतिसंवेदनशीलमा वर्गीकरण गरिएको छ । त्यस्तै, एक सय १७ वटालाई संवेदनशील र ३७ वटालाई सामान्य तथा कम संवेदनशील भनेर वर्गीकरण गरिएको छ ।
अछामका प्रहरी नायव निरीक्षक दधिराम पाण्डेका अनुसार जिल्लामा शान्ति सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी परिचालन गरिएको बताइएको छ ।
जिल्ला भरी दुई हजार सुरक्षाकर्मी खटाइएको उनले जानकारी दिए । अछाम जिल्लाका ५५ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला सुरक्षा समितिले निष्कर्ष निकालेको छ । एक सय ९७ मतदानस्थललाई सुरक्षाका हिसावमा ५५ अतिसंवेदनशील, ६५ संवेदनशील र नौ मतदान केन्द्रलाई सामान्य गरी तीन प्रकारमा वर्गीकरण गरिएको समिति संयोजक तथा प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए ।
अछाममा स्थानीय तह चुनावका दिन केही मतदान केन्द्र नजिक बम समेत विस्फोट भएका थिए । अछामका दुर्गम क्षेत्रमा रहेका ६७ स्थानबाट हेलिकोप्टरमार्फत मतपेटिका सदरमुकाम मंगलसेनमा ल्याउन सिफारिस गरिएको चौधरीले बताए ।
अघिल्लो चुनावमा अछामको रहफ, सिउडीलगायतका स्थानबाट हेलिकोप्टरमार्फत मतपेटिका ल्याइएको थियो । सवारी साधनको अवस्था हेरेर हेलिकोप्टर परिचालन हुने प्रजिअ चौधरीले बताए ।
अछाम जिल्लामा ६४ हजार ७ सय ७६ पुरुष, ७२ हजार १ सय २५ महिला र दुई तेस्रो लिंगी गरी एक लाख ३६ हजार ९ सय ३ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार