६ कार्तिक २०८१, मंगलवार

‘जनहीतमा आफ्नो बाँकी जीवन खर्चने छुँ’



नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा पुष्करराज ओझा गणतन्त्र नेपालको प्रथम प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुनुहुन्छ ।
जीवनको सातौं दशकमा पनि जनमुखी कार्य अगाडि बढाउन सक्रिय उहाँलाई नेपाली काँग्रसले कञ्चनपुर क्षेत्र नम्बर २, ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको छ । रैकवार विचवा, राजघाटका प्रेमलाल ओझाका जेठा छोरा पुष्करराज ओझा विद्यार्थी जीवनमै प्रजातान्त्रिक आन्दोलनमा सरिक हुनुभयो ।

पुष्करराज ओझा
उम्मेदवार, नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर २, ‘१’ प्रदेशसभा

हुनेखाने घरको सदस्य र शैक्षिक योग्यता हुँदाहुँदै पनि उहाँले पाएका इच्छित सरकारी जागिरमा आफूलाई संकुचित नपारेर प्रजातान्त्रिक धारमा आफूलाई प्रवाहित गराउनुभयो । २०३६ सालको जनमतसंग्रह होस् वा २०४२ सालको सत्याग्रह अनि २०४६ सालको प्रजातान्त्रितक आन्दोलन उहाँको सक्रिय सहभागिता रह्यो र राज्यपक्षको धरपकडमा उहाँ पनि पर्नुभयो ।
२०६२/२०६३ को लोकतान्त्रिक आन्दोलन सुरु हुनु एक वर्ष पहिले शाहीकालमा राजा ज्ञानेन्द्रको सरकारले ओझालाई धनगढी कारागारमा थुनेर राख्यो । त्यसअघि पार्टीको निर्देशनअनुसार उहाँले आठ नौ महिना काठमाडौंमा बसेर शाही सरकारविरुद्ध सञ्चालित आन्दोलनमा सहभागिता जनाउनुभयो ।
नेपाली जनताको निरन्तरको आन्दोलन र संघर्षबाट देशले पूर्ण प्रजातान्त्रिक, शक्ति सन्तुलनसहितको संघीयता, धर्मनिरपेक्ष, समानुपातिक, समावेशी विशेषता सम्पन्न संविधान प्राप्त गरेको छ । यस्तो संविधान प्राप्त गर्न भएका प्रजातान्त्रिक आन्दोलनमा ओझाको सक्रिय सहभागिताका तथ्य कसैबाट लुकेको छैन ।
नेपाली कांग्रेसका नेताहरू वीपी कोइराला, गणेशमान सिंह कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाको सामिप्यमा रहेर ओझाले मुलुकको प्रजातान्त्रिक आन्दोलनमा सहभागी हुँदा जेलनेलको सजाय पाउनुभयो । एउटा सम्पन्न परिवारमा जन्मेर पनि राजनीतिक जीवनमा होमिदा उहाँले पटकपकट कठोर आर्थिक संकट समेत बेहोर्नु पर्‍यो ।
हाल नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लोकतान्त्रिक अभ्यासमार्फत समुन्नत नेपाल बनाउन थाल्नुभएको महाअभियानमा सक्रिय ओझाले आफ्नो सम्पूर्ण ऊर्जाशील जीवनको क्षण जनताका लागि उत्सर्ग गर्नुभएको छ ।
निष्ठाको राजनीतिलाई जीवनको लक्ष्य र आदर्श बनाउनुभएका ओझाको सरल जीवनशैली, मित्रवत व्यवहार र जनताको सुखदु:खमा सधै उहाँहरूको घरआगनमा उपस्थित रहने सक्रियता जनताले बिर्सेका छैनन् ।
कुनै सार्वजनिक पदमा नरहँदा समेत विकासप्रेमी ओझाले जनआवश्यकता महसुस गरेर धनगढी उपमहानगरपालिकासँग कृष्णपुर नगरपालिकालाई मोटरबाटोले जोड्ने, चटकपुरको मोहना नदीमा पक्की पुल निर्माणका लागि केन्द्रमा आएर पहल गर्नुभयो । जुन पुल हाल निर्माणाधीन छ ।
स्थानीय बासिन्दाको समग्र आर्थिक विकासका लागि त्यहाँ पुल आवश्यक थियो, मोहनामा बाढी आउँदा विद्यार्थीले स्कुलनै जान नपाउने, किसानले आफ्नो उत्पादन बिक्रीका लागि धनगढीसम्म पुग्न नसक्ने, बिरामीले घरमै जीवनका लागि संघर्ष गर्नुपर्ने जस्ता धेरै समस्या त्यहाँ छन्– ‘मोहनामा पुलको आवश्यकता बारेमा उहाँ भन्नुहुन्छ ।’
उहाँले अगाडि भन्नभुयो– ‘त्यो पुल निर्माणका लागि स्थानीयवासीको सक्रियताले मलाई थप हौसला मिलेको थियो ।’
साथै उहाँकै सक्रियतामा राजघाटको मोहना नदीमा झोलुङ्गे पुल निर्माणका लागि प्रारम्भिक/सर्भेको काम हालै सम्पन्न भएको छ । रैकवार विचवामा रहेको वीणा निम्नमाध्यमिक विद्यालयलाई २०४२ सालमा माध्यमिक तहको पढाई हुने गरी स्तरोन्नत्ति गर्नमा ओझा, भजनलाल राना, नारायणदत्त भट्ट, पतिराम भट्ट, चुडामणि पन्त, लक्ष्मीदत्त जोशी, दानबहादर विष्ट, शेरबहादुर शाहीलगायतका व्यक्तिको योगदान थियो । विणालाई माध्यमिक तहको बनाइएपछि १०–१२ किलोमिटर पर धनगढी गएर अध्ययन गर्नुपर्ने बाध्यता हट्यो, जिल्लाको सदमुकामको ठिक विपरित दिशामा धनगढी नजिक रहेर पनि हाम्रो क्षेत्रमा विकास अन्य क्षेत्र सरह विकास भएको छैन, धनगढीसँग यातायातको सोझो सम्बन्ध बन्न नसकेकाले यसो भएको मेरो बुझाइ छ, अब विगतको जस्तो कठिन दिन यहाँका बासिन्दाले बेहोर्नु पर्ने छैन, उहाँ भन्नुहुन्छ ।

नेपाली काँग्रेसका नेता स्वर्गीय वीपी कोइरालाका साथ पुष्करराज ओझा (दायाँबाट पाँचौं, ढाका टोपीमा) । साथमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा (दायाँबाट तेस्रो) लगायतका नेता ।

ओझाले यसअघि २०४६ सालको जनआन्दोलनपछि २०४९ सालमा भएको प्रथम स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएर जिल्ला विकास समिति कञ्चनपुरको उपसभापति जस्तो निर्णयमा खासै प्रभाव नराख्ने पदमा निर्वाचित भएर पनि समग्र जिल्लाको विकासमा योगदान दिनुभयो । २०५५ सालमा तत्कालीन शाही शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तार समितिको अध्यक्ष भएर पनि उहाँले कार्य गर्नुभयो ।
कञ्चनपुरका जातजाति, भाषा तथा संस्कृतिसँग भिज्नु भएका ओझाले त्यहाँका आदिवासी थारू, विपन्न दलित, महिला, अपाङ्गता भएका व्यक्ति, श्रमिकको उत्थानलाई आफ्नो राजनीतिक यात्रा र गन्तव्य बनाउँदै आउनुभएको छ ।
‘उहाँहरूकै मतले जनहीतमा आफ्नो बाँकी सक्रिय जीवन पनि खर्चने छुँ’, उहाँको भनाइ छ ।
रैकवार विचवाबाट देशले अन्तर्राष्ट्रिय स्तरका तेक्वान्दो खेलाडी पाएको बताउँदै उहाँले त्यहाँका युवाको चाहना अनुसार त्यस क्षेत्रमा तेक्वान्दो एकेडेमी बनाइनु पर्ने र त्यसका लागि पहल गर्ने विचार राख्नुभएको छ ।
यसअघिका निर्वाचनमा अवसर विहीन ओझाले यस जिल्ला र सुदूरपश्चिमबाट नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन अहोरात्र खट्नु भएको थियो । आफ्ना साथीहरूलाई जिताउन उहाँ कञ्चनपुरमा मात्र सक्रिय रहनुभएन । बैतडी, दार्चुलालगायतका पहाडी जिल्लासम्म उहाँले हप्तौं बिताउनुभयो ।
मैले जस्तो सुकै कठिनाइ आए पनि राजनीतिक जीवनमा निष्ठा, निरन्तरता, प्रतिवद्धता र समर्पणमा कही कतै सम्झौता गरिन– उहाँको भनाइ छ ।

मंसिर ०२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार