६ कार्तिक २०८१, मंगलवार

रासायनिक मलको चरम अभाव



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का रामचन्द्र पनेरूले निकै दिन रसायनिक मलको खोजी गरे । तर उनले मल पाउन सकेनन् । बाध्य भएर उनले रसायनिक मन बिना नै हिउँदे बाली रोपे । रसायनिक मलका लागि करिब एक महिना धाएका रामचन्द्रले भने– ‘के गर्नु मल पाइएन, बाली लगाए ।’
हिउँदे बाली छर्ने बेला रासायनिक मलको चरम अभाव भए पछि कैलालीका उनीजस्तै अधिकाँस किसानले मल बिना नै बाली लगाएका छन् । समयमा मल नपाएकाले हिउदको मुख्यबाली बिग्रने र उत्पादन घट्ने चिन्ता उनीहरूको छ । गहँु छर्न ढिला हुने डरले तिहारकै बेला धान भित्र्याएका किसानले झण्डै ३ हप्ता रासायनिक मल पाउने आशामा खेत बाँझै राखेका थिए । खेतको चिस्यान सकिन थालेपछि लागत झन् बढ्ने भएकाले अधिकांश किसान मल विनै गहुँ तथा मुसुरो छर्न थालेका छन् ।
तोरी, गहुँ, मुसुरो खेती गर्ने उपयुक्त समयमा मल नपाएपछि किसान मल विनै खेतमा गहु छर्न बाध्य भएका हुन् । सरकारबाट अनुदान प्राप्त रासायनिक मलका लागि एक महिनाभन्दा बढी कुरेका धनगढी वडा नम्बर–३ का रामचन्द्र पनेरूले समय घर्किन लागेपछि खेती शुरु गरेको बताए । राजनीतिक दलका नेताहरूले चुनावको समयमा किसानका समस्या समाधान गर्न ठूला आस्वासन बाँडे पनि खेती गर्ने समयमा भने सधैं मल र बीउको अभाव हुने गरेको छ । ४० रुपैयाँमा पाइने मल बजारमा अहिले ६० रुपैयाँ प्रतिकिलो सम्ममा बिक्री भइरहेको छ । सक्ने किसानले महङ्गो मल किनेर खेतमा छरे पनि धेरै किसान भने मल बिनाननै गहुँ छर्न बाध्य भएका उनले बताए ।
सरकारी अनुदान प्राप्त रासायनिक मलको प्रतीक्षामा बस्दा खेतमा भएको चिस्यान कम भए पछि पुन: पानी लगाउनु परेको किसान रामु चौधरीले बताए । बोरिङ्गबाट पुन: पानी लगाउँदा लागत बढेको उनले गुनासो गरे । अनुदानको मल अभाव हुँदा व्यापारीले त्यसको फाइदा उठाउँदै महँङ्गो मूल्यमा मल बेच्ने गरेको उनले आरोप लगाए ।
व्यापारीहरूले मौकाको फाइदा उठाउँदै मलको मूल्य बढाएपछि १ बोरा मल किन्न ४ बोरा धान बेच्नु परेको किसान दुवारी रानाले बताए । सरकारी अनुदान प्राप्त डिएपी मल प्रति बोरा २ हजार ४ सयमा पाइने भएपनि बजारमा ३ हजारसम्म पर्ने गरेको उनले गुनासो गरे । भारतबाट आयात हुने गुणस्तरहिन मल खेतमा छर्दा उब्जनी घट्नुका साथै माटो समेत बिग्रने गरेको रानाले बताए ।
कृषि कार्यालयको तथ्याङ्कअनुसार कैलालीको ७१ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती हुने गर्दछ । यसका लागि ८ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्दछ । असोज यता अनुदानको रासायनिक मल आयात नहुँदा किसान मारमा परेका छन् ।

कात्तिक १९ गते (epaper)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार