७ कार्तिक २०८१, बुधबार

आयोडिनयुक्त नुन सेवनकर्ता बढ्दै



धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरुमा आयोडिनयुक्त प्याकेटको नुन सेवनकर्ताको संख्यामा बढिरहेको छ । दुई दशकअघिसम्म सुदूरपश्चिम प्रदेशमा आयोडिनयुक्त नुनको प्रयोग गर्ने उपभोक्ताको संख्या २ प्रतिशत मात्रै रहने गरेकोमा अहिले यो संख्या ८० प्रतिशतको हाराहारीमा पुगेको छ ।

खुला भारतीय सिमाका कारण सुदूरपश्चिम प्रदेशमा गुणस्तरहीन ढिके नुन ठूलो मात्रामा भित्रिने गर्दछ । स्थानीय प्रशासन तथा साल्ट ट्रेडिङ कर्पोरेशनले भारतबाट ढिकेनुन भित्रिन नदिन कडा पाइला चालेको तथा प्रदेशका दुर्गम गाउँवस्तीसम्म पनि आयोडिनयुक्त नुन उपलब्ध गराएका कारण सेवनकर्ताको संख्यामा उल्लेख्य बृद्धि भएको साल्ट ट्रेडिङ कर्पोरेशनका नायब महाप्रबन्धक तथा सुदूरपश्चिम प्रदेश प्रमुख केशवप्रसाद पाण्डेले बताए ।

उनका अनुसार विगतमा ग्रामीण क्षेत्रका बासिन्दामा आयोडिन नुनको महत्वबारे पर्याप्त जानकारी नभएका कारण ढिके नुनको प्रयोग अधिक हुने गरेको थियो । साल्ट ट्रेडिङ कर्पोरेशनले हरेक वर्ष फेब्रुअरी महिनाभरी प्रदेशका हरेक जिल्लामा आयोडिनयुक्त प्याकेटको नुनबारे सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

साल्ट ट्रेडिङले आयो, शक्ति र भानु ब्राण्डको नुन बिक्री गर्दै आएको छ । भानु ब्राण्डको नुन नेपाल सरकारको अनुदानमा दुर्गम जिल्लाका उपभोक्ताहरुलाई बिक्रि बितरण गरिन्छ भने आयो र शक्ति ब्राण्डको नुन बजारमा खुल्ला रुपमा बिक्री बितरण हुने गरेको छ ।

त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशनले घरपालुवा जनावरहरुलाई लक्षित गरेर धुलो नुन समेत बिक्री गर्दै आएको छ । साल्ट ट्रेडिङले ढिके नुनलाई पूर्ण रुपमा विस्थापित गर्ने तयारी अघि बढाएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष एक लाख ९० हजार क्विन्टल नुन खपत हुने गरेको छ । साल्ट ट्रेडिङले सुदूरपश्चिम प्रदेशका लागि आवश्यक पर्ने नुन भारतबाट आयात गरेर धनगढीमा प्याकेजिङ्ग गर्ने गरेको छ ।

आयोडिनबारे जानकार हुदै उपभोक्ता

अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटका मिनबहादुर सुनार ४६ वर्षका भए । उनले आयोडिनयुक्त प्याकेटको नुन प्रयोग गर्न थालेको १६ वर्ष पुग्न लाग्यो । त्यसअघि उनको परिवारमा ढिके नुन मात्रै प्रयोग हुन्थ्यो ।

मीनबहादुरले आयोडिनयुक्त प्याकेटको नुनको महत्वबारे जानकारी भएपछि आफु र आफ्नो परिवारले यही नुन प्रयोग गरिरहेको बताए ।

उनले भने– आयोडिनमा शरीरका लागि आवश्यक पोषक तत्व हुन्छ र आयोडिनको कमीले विभिन्न रोगको संक्रमण हुन्छ भन्ने थाहा पाएपछि आयोडिनयुक्त प्याकेटको नुन प्रयोग गर्न थाल्यौ ।

मीनबहादुरले आफ्नो गाउँमा घरपालुवा जनावरहरुलाई समेत प्याकेटको नुन खुवाउने गरेको बताए । उनको गाउँमा नेपाल सरकारले सहुलियत दरमा भानु नुन उपलब्ध गराउदै आएको छ । आयोडिनयुक्त भानु नुनको मूल्य प्रतिकेजी नौ रुपैयाँ रहेको छ । गाउँलेहरुले ढिके नुनभन्दा आयो नुन सस्तो भएकाले घरपालुवा जनावरलाई समेत आयोडिनयुक्त प्याकेटको नुन नै दिने गरेको उनले बताए ।

डोटी केआईसिंह गाउपालिकामा ब्यापार गर्दै आएका भारतकोे रक्सौलमा मुनिर मियाँले पनि आफूले शुरुदेखि नै आयोडिनयुक्त नुन नै प्रयोग गरिरहेको बताए ।

उनले आयोडिनयुक्त प्याकेटको नुनको सेवनले मानव स्वास्थ्यमा लाभ पुग्ने थाहा भएकाले आफूहरुले यही नुन प्रयोग गरिरहेको बताए ।

नेपाल सरकारको अनुदानमा साल्ट ट्रेडिङ कर्पोरेशनले सुदूरपश्चिम प्रदेशका चार जिल्लामा सहुलियत मुल्यमा आयोडिनयुक्त भानु नुन बिक्रि बितरण गर्दै आइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, बझाङ्ग र दार्चुलाका २५ वटा बिक्रि केन्द्रबाट सहुलियत दरमा भानु नुन बिक्रीवितरण हुँदै आएको छ । दुईवट बिक्रि केन्द्र यस वर्षबाट थप गरेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन धनगढी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा अनुदानको ३१ हजार क्विन्टल भानु नुन छुट्टयाइएको थियो । चालू आर्थिक वर्ष २०७७/२०७८ मा अनुदानको भानु नुन ३८ हजार क्विन्टल पुगेको छ ।

सुदूरपश्चिम प्रदेशमा वार्षिक एक लाख ९० हजार क्विन्टल नुन खपत हुने गरेको छ ।

साल्ट ट्रेडिङका नायब महाप्रबन्धक तथा प्रदेश प्रमुख पाण्डेले नेपाल सरकारले दुर्गम जिल्लाका जनताका लागि भानु नुनमा अनुदान दिएको बताए । उनले अहिले पनि कतिपय दुर्गम ग्रामीण वस्तीमा ढिके नुनको प्रयोग भइरहेकोले आयोडिनयुक्त नुन प्रयोगको सतप्रतिशत लक्ष्य अझै प्राप्त हुन नसकेको बताए । केहि वर्ष भित्र ढीके नुन पुर्ण रुपमा बन्दा गरीने समेत उनले बताए ।

आयोडिन महिना

साल्ट ट्रेडिङ कर्पोरेशनले हरेका वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने गरेको छ ।

आयोडिन महिनाभरी जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, व्यापारी लगायतको सहभागितामा आयोडिनको महत्व, यसको सेवनबाट मानव स्वास्थ्यमा हुने लाभ, आयोडिनको कमीका कारण हुने स्वास्थ्य सम्बन्धी समस्या लगायतका विषयमा सचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

यस क्रममा यस वर्ष सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्ला संगै अछामको विकट मानिएको रामारोशन गाउँपालिकाको रामारोशन तालमा समेत पिक्नीक खान र घुम्न गएका विद्यार्थीहरुलाई आयोडिनयुक्त नुनको महत्वबारे जानकारी दिइएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङको डोटीको बोगटान गाउमा पनि स्थानीयहरुलाई आयोडिनको महत्वबारे जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार