७ कार्तिक २०८१, बुधबार

गोदाममा २७ हजार क्वीन्टल चामल जनता भोकै




बैतडी । चाँडपर्व नजिकै आए पनि भोकमरी हुने सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछाम जिल्लाका लागि आउने खाद्य व्यवस्थाको चामल आएको छैन । साल्टटेडिङले सुपथ मूल्यमा बिक्री गर्ने नुन र चिनीको पसल पनि खुल्न सकेका छैनन् ।

पहाडी जिल्लाका लागि चामल उपलब्ध गराउँदै आइरहेको खाद्य व्यवस्था क्षेत्रीय कार्यालय धनगढीको गोदाममा २७ हजार क्वीन्टल चामल ढुवानी हुन नसक्दा गोदाममै थन्किएको छ ।

दशैंतिहारका लागि आउने बैतडीको मेलौली डिपोको एक हजार क्वीन्टल, कुलाउँको एक हजार पाँचसय क्वीन्टल, पुरचौडी नगरपालिकाको एक हजार क्वीन्टल र यो वर्ष थप भएको गोठालापानी डिपोका लागि पाँचसय क्वीन्टल गरेर चार हजार क्वीन्टल चामल आउन सकेको छैन ।

त्यसै गरेर, सबैभन्दा बढी भोकमरी हुने सुदूर पहाडको बाजुराको मार्तडी डिपो, कवाडी डिपो र कोल्टी डिपोको १२ हजार पाँचसय क्वीन्टल चामल पनि धनगढी गोदाममै थन्किएको छ ।
बझाङको बिसौना डिपो, चैनपुर, तलकोट र काँडा डिपोको चार हजार क्वीन्टल चामल पनि ढुवानी हुन सकेको छैन ।

दार्चुलाको अवस्था पनि उस्तै छ । दार्चुलाको खण्डेश्वरी डिपो, पारिबगर डिपो र यो वर्ष नयाँ थप भएका राप्ला र छाङरु डिपोमा जानु पर्ने तीन हजार आठसय क्वीन्टल चामल अझै गएको छैन।
उता अछामको खाद्य डिपोको अवस्था पनि उस्तै छ । अछामको मङ्गलसेन, कमल बजार र बिनायक डिपोको चामल ठेकेदारले ढुवानी नगर्दा गोदाममै थन्किएको छ ।

बजार मूल्य भन्दा चामल महङ्गो परेकोले यो वर्ष ठेकेदारले नै चामल ढुवानी गर्न आनाकानी गरेको खाद्य व्यवस्था क्षेत्रीय कार्यालय धनगढीका प्रमुख अमर श्रेष्ठले बताए ।

श्रेष्ठले भन्ने, खाद्य व्यवस्थाले ढुवानीमा अनुदान दिने हो । ठेकेदारले चामल लैजानु अघि खाद्य व्यवस्थामा अग्रिम पैंसा जम्मा गर्नुपर्छ । यो वर्ष मोटो चामलको ४८ रुपियाँ मूल्य परेको र बजार भन्दा चारपाँच रुपियाँ महङ्गो भएकोले समस्या सिर्जना भएको छ ।

स्थानीय तहले पनि केही अनुदान थपेर बजार मूल्य भन्दा सुपथ मूल्यमा चामल दिन सके राम्रो हुन्थ्यो खाद्यान्न नपाएका स्थानीयहरु बताउछन् । तर, अहिलेसम्म सुदूरपश्चिममा कुनै पनि स्थानीय तहले समन्वय गरेका छैनन् । ठेकेदार पनि चामल ढुवानी गर्न तयार छैनन् ।

यसैगरेर , चाँडबाडका बेला साल्टटे«डिङ कर्पोरेशन धनगढीले दशैं–तिहार र छठ पर्वलाई लक्षित गरेर सञ्चालन गर्दै आईरहेको सुपथ मूल्यको पसल पनि खुलेका छैनन् ।

विगतका वर्ष बैतडीको पाटनमा सञ्चालन हुने सुपथ मूल्यको पसल यो वर्ष जनशक्ति अभाव भएको र अनलाईन बिलिङ हुँदा सुपथ मूल्यको पसल सञ्चालन गर्न नसकेको साल्टटे«डिङ कर्पोरेशन क्षेत्रीय कार्यालय धनगढीका नायव महाप्रवन्धक केशव प्रसाद पाण्डेयले बताए ।

दशैं–तिहार र छठमा ४५ दिनसम्म सञ्चालन हुने सुपथ मूल्यको पसल आमसर्वसाधारणका लागि यो वर्ष खुल्न नसक्ने अवस्था रहेको उनले जानकारी दिए । यद्यपी धनगढीमा भने सुपथ मूल्य पसल सञ्चालन गरिएको छ आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार