५ कार्तिक २०८१, सोमबार

बजार अनुगमनमा कमजोरी



धनगढी । लकडाउनसंगै खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको मुल्य बृद्धि भइरहेको जुनगुनासो बढे पनि अनुगमन प्रभावकारी हुनसकेको छैन । सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कालोबजारी तथा महँगी नियन्त्रणका साथै आपूर्ति व्यवस्थापन लगायतको जिम्मेवारी रहेको छ ।

प्रदेश सरकारले बजार अनुगमनका लागि निर्देशिका र संरचना तयार गरेको छ, तर बजार अनुगमन भने प्रभावकारी हुनसकेको छैन । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन जारी गरेयता सुदूरपश्चिम प्रदेशमा पनि खाद्यान्न, तरकारी, फलफूल लगायतका दैनिक उपभोग्य वस्तुको निरन्तर मृल्यबृद्धि भइरहेको छ । त्यस्तै, कथिपय व्यापारीले टेलिफोन रिचार्जमा समेत बढि मुल्य लिने गरेको जनगुनासो छ ।

प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तीन महिनाअघि तयार गरेको प्रदेशस्तरिय संयूक्त बजार अनुगमन निर्देशिका अनुसार उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशकको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । भने जिल्लामा घरेलु तथा साना उद्योग कार्यालयक प्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था गरिएको छ ।

निर्देशनालयका निर्देशक विनोद मालीले लकडाउनका कारण बजार अनुगमन गर्न नसकिएको बताए । उनले भने– निर्देशिका र संरचना तयार गरि मन्त्रालयमा दुई पटक बैठक बसेको छ भने निर्देशनालयमा समेत एक पटक बैठक भइसकेको छ । तर, बजार अनुगमन भने गर्न सकिएको छैन । उनले कतैबाट उजुरी आए तत्काल बजार अनुगमन गरिने बताए ।

निर्देशक मालीले प्रदेश सरकारले बजार अनुगमन गर्ने अधिकार पाए पनि दण्ड जरिवाना गर्ने अधिकार भने नभएको बताए ।

उपभोक्ता हकहित संरक्षण समितिका कैलाली अध्यक्ष हरि रेग्मीले बजारमा हुने कालोबजारी तथा महंगी नियन्त्रणमा प्रदेश सरकारको खासै भूमिका नदेखिएको बताए । ‘प्रदेश सरकारसंग बजार अनुगमन गर्ने, कालोबजारी तथा महँगी नियन्त्रण गर्ने र अत्यावश्यक वस्तुको अभाव हुन नदिने लगायतको जिम्मेवारी छ’ अध्यक्ष रेग्मीले भने– तर, प्रदेश सरकारले जिम्मेवारी अनुसारको काम गर्न सकेको छैन । उनले प्रदेश सरकारभन्दा स्थानीय तह र संघीय सरकारले प्रभावकारी रुपमा बजार अनुगमन गरिरहेको अनुभव रहेको बताए ।

उनले भने– स्थानीय सरकारले बजार अनुगमन गरिरहेको थियो, तर अहिले राहत वितरण मै बढि व्यस्त देखिएको छ ।

त्यस्तै, संंघिय सरकार मातहतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालय पनि धनगढी उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा बजार अनुगमन गर्न सकेको छैन ।

कैलालीमा तरकारी र फलफूलका साथै चामल, तेल, चिनी, नुन लगायतका दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको व्यापारीहरु बताउँछन । धनगढीका एक व्यापारीले भने– पहिलेको भन्दा ढुवानीमा बढि मुल्य तिर्नु परेपछि सामानको मुल्य पनि बढ्ने नै भयो ।

लकडाउन जारी भएपछि दुर्गम क्षेत्रमा दैनिक उपभोग्य वस्तु, मोबाइल रिचार्ज कार्ड लगायतको अभाव सिर्जना गरि मूल्यबृद्धि भइरहेको गुनासो बढेको छ ।

पाँच व्यवसायीलाई कारबाही

कैलालीमा कालोबजारी गर्ने पाँच जना व्यवसायीलाई जरिवानासहित कारबाही गरिएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले कैलालीका पांच जना व्यवसायीलाई जरिवानासहित कारबाही गरेको हो ।

बाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कमल बहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने पाँच जना व्यवसायीलाई पाच लाख ६० हजार रुपैया जरिवाना गरिएको बताए ।

धनगढीको द ग्लोबल सर्जिकल हाउसलाई पीपीई र मास्कमा कालोबजारीको गरेको पाइएकोले दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । त्यस्तै, शुभारम्भ फार्मेसी, शैलैश्वरी आयुर्वेदिक हल र आरबी पूजा स्टोरलाई मास्कमा कालोबजारी गरेकोले जनही २० हजार रुपैया जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

बजार अनुगमन टोलीले अनुगमनका क्रममा पीपीईमा ४४ प्रतिशत र मास्कमा ६० प्रतिशत बढि मूल्य बृद्धी गरेको भेटिएकोले तत्काल जरिवाना गरिएको जनाएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीस्थित शुभ समैजी ग्यास सप्लायर्सले लकडाउनका बेला बढी मुल्यमा ग्यास बिक्री गरेको पाइएकोले तीन लाख रुपैया जरिवाना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार