७ कार्तिक २०८१, बुधबार

कोरोना कहरः उद्धार गरेर ल्याइएकी एक बृद्धाको निधन



धनगढी । दुई दिनअघि भारतको सीमा नाका झुलाघाटबाट उद्धार गरेर नेपाल ल्याइएकी बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ भूमिराजकी जुनी लुहारको शनिबार बिहान मृत्यु भएको छ । ६७ वर्षीया जुनीलाई क्वारेन्टाइनमा राख्न लैजाने क्रममा बिहान ६ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

बृद्धा जुनी गत बिहीबार भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाबाट नेपाल आएकी थिइन् । उनको मृत्युको कारण खुल्न सकेको छैन । स्वास्थ्य कार्यालयले मृतक जुनीको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइने जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले मृतक जुनीको शवलाई प्लाष्टिकले छोपेर अति सावधानीका साथ दाहसंस्कार गरिने र मलामी गएका सबैलाई छुट्टै क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताए ।

बिहीबार राति जुनीसहितका व्यक्तिलाई बैतडीको दशरथचन्द नगरपालिकाको एक विद्यालयमा राखिएको थियो । शुक्रबार पुरचौडी नगरपालिकामा ल्याइएको थियो । उनीहरु बिहीबार दिउँसो उत्तराखण्डको पिथौरागढबाट नेपाल आएका थिए ।

शनिबार बिहान ६ बजेतिर त्यहाँबाट अर्को क्वारेन्टाइनमा पैदल लैजाने क्रममा जुनीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी दमको बिरामी भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

बिहीबार भारतको झुलाघाट हुँदै सुदूरपश्चिम र कर्णाली प्रदेशका आठ सय ३७ जनालाई नेपाल ल्याइएको थियो ।

३६ दिनदेखि भारतमा अलपत्र

लकडाउनका कारण बझाङको थलारा गाउँपालिकाका ९३ जना भारतको उत्तर प्रदेशको रामपुरमा ३६ दिनदेखि अलपत्र परेका छन् । अलपत्र परेकामध्ये १३ जना महिला तथा बालबालिका र बृद्धबृद्धा रहेको जनाइएको छ ।

अलपत्र परेका व्यक्तिहरुले आफूहरुको उद्धार गर्न आग्रह गरेका छन् । उनीहरु रामपुरको क्वारेन्टाइनमा रहेका छन् । भारतका विभिन्न शहरबाट घर फर्किने क्रममा उनीहरु रामपुरमा अलपत्र परेको बताइएको छ । क्वारेन्टाइनमा दुई साता अघि एक महिला सुत्केरी भएकी थिइन् ।

क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो

दार्चुलाको शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुले क्वारेन्टाइन व्यवस्थित नभएको गुनासो गरेका छन् ।

काठमाडौं तथा भारतका विभिन्न शहरबाट घर फर्किएका शैल्यशिखर नगरपालिकाका नागरिकहरुलाई गोकुलेश्वरस्थित क्वारेन्टाइनमा राखिएकोछ । उनीहरुले क्वारेन्टाइनमा सबैलाई एउटै हलमा राखिएको, म्याद नाघेको खाजा दिने गरिएको, सौचालयमा पानीको व्यवस्था समेत नरहेको गुनासो गरेका छन् ।

शैल्यशिखर नगरपालिका प्रमुख अमरसिंह धामीले नगरपालिकाबाट सकिने जति व्यवस्थापन गरिरहेको बताए । गोकुलेश्वर क्वारेन्टाइनमा भारतबाट आएका ४८ जना र काठमाडौं लगायत विभिन्न जिल्लाबाट आएका ४० जना सहित ८८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

नगरपालिकाले जिल्ला बाहिर समस्यामा रहेका विद्यार्थी र मजदुरलाई चार दिन पहिले उद्धार गरेको थियो । नगर प्रमुख धामीले उद्धार गर्न नसकिएका व्यक्तिहरुलाई प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको बताए ।

यसअघि दार्चुलाका लेकम गाउँपालिकाले दुई हजार, अपिहिमाल गाउँपालिकाले एक हजार पाँच सय, मार्मा र नौगाड गाउँपालिकाले प्रति व्यक्ति तीन हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेका छन् ।

अशक्त सेल्फ क्वारेन्टाइमा

यता, डोटीमा जिल्ला बाहिरवाट आएका अशक्तहरुलाई सेल्फ क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्ला बाहिरबाट आएका वृद्धबृद्धा बालबालिका, दीर्घरोगी, अशक्त र महिलाहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिने बताए ।

डोटीमा स्थानीय तहहरुले सरकारी विद्यालय लगायत सार्वजनिक भवनहरुमा क्वारेन्टाइनको व्यवस्था गरेका छन् । अशक्त व्यक्तिहरुलाई स्थानीय तहहरुले स्थापना गरेको क्वारेन्टाइनमा समस्या हुने भएकोले घरमै सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको प्रजिअ पौडेलले बताए ।

अघिल्लो साता काठमाडौं लगायत जिल्ला बाहिरबाट डोटीमा २५८ जनालाई विभिन्न स्थानीय तहरुको क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । डोटीका नौ वटै स्थानीय तहका १७ वटा स्थानमा क्वारेन्टाइन बनाइएका छन् ।

बाजुरामा नौ वटै स्थानीय तहमा हाल २९९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बस्नेहरुको संख्या थपिदै गएपछि टेष्ट किटको अभाव हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार