नेकपा बैठक : नेताहरूको आचरणमा प्रश्न
काठमाडौँ । नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार नेताहरूको आचरण र जीवनशैलीमाथि प्रश्न उठेको छ । उनीहरूको जीवनशैली कम्युनिस्ट मूल्य मान्यताविपरीत देखिएको नेता अमृत बोहराले आरोप लगाए ।पाँच दिनदेखि जारी बैठकमा बुधबारसम्म सरकार र पार्टी सञ्चालन शैलीको आलोचना हुँदै आएको थियो ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू कम्युनिस्ट पार्टीकै रहेका बेला विवादमा परिरहेको भन्दै बोहराले प्रश्न गरेका थिए । ‘माक्र्सवादी लेनिनवादी विचारधारामा विश्वास गर्ने कम्युनिस्ट पार्टीका नेताहरूको जीवनशैली त्यहीअनुसार हुनुपर्छ, विलासिता प्रदर्शन गर्ने जुन प्रवृत्ति देखिएको छ, यसको अन्त्य गर्नुपर्छ,’ उनले भने ।
पछिल्लो समय मन्त्रीहरूले दोहोरो सुविधा लिएको र राष्ट्रपति–उपराष्ट्रपतिलाई महँगा गाडी तथा हेलिकप्टर खरिदको विषयले विवाद निम्त्याएकोसंकेत गर्दै बोहराले मुलुकको अवस्थाअनुसार न्यूनतम सुविधा प्रयोग गर्न ध्यानाकर्षण गराए ।
‘अहिले जुनसुकै सर्वोच्च पदमा पुगे पनि हिजो टेक्ने ठाउँ पार्टी नै थियो । त्यो पार्टीको आदर्श कस्तो थियो भन्ने बिर्सन हुन्न,’ उनले भने, ‘महँगो हेलिकप्टर किन चढ्नुपर्यो ? न्यूनतम सुविधामै बस्न पनि सकिन्छ । कुनै संस्था त्यस्तो शैलीमा लागेका छन् भने त्यसलाई विनम्रतापूर्वक अस्वीकार गरिदिनुपर्छ ।’
बोहराले नेताहरूमा आलोचना फिटिक्कै सुन्न नसक्ने प्रवृत्ति हाबी भएको भन्दै यो पनि कम्युनिस्ट आदर्शविपरीत भएको बताए । ‘आलोचना–आत्मालोचनाको शैली व्यावहारिक हुनुपर्छ, आलोचना सुन्न नसक्ने प्रवृत्ति हुर्कियो,’ उनले भने, ‘नेतृत्वमा रहने कोही पनि आलोचनाबाट माथि हुन हुँदैन ।’ उनले पार्टीमा आदर्श र प्रणाली कमजोर हुँदै गएकामा चिन्ता व्यक्त गरे ।
विवादित गतिविधिमा पार्टी र नेताहरूको संलग्नता देखिने गरेको भन्दै बोहराले एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री होटलमै गएर बसिदिएको प्रसंग जोडेका थिए । पार्टीभित्र एक व्यक्ति एक पदको अवधारणा लागू नभएकामा पनि उनले गुनासो गरे । कसैलाई जिम्मेवारी थोपर्ने र कसैलाई खाली राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनको माग थियो ।
बिहीबार अन्य नेताहरूले भने अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनको पक्ष र विपक्षमा धारणा राखे । यसअघि बैठकमा सरकारमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका स्थायी कमिटी सदस्य विष्णु रिमालले नेतृत्वले आत्मालोचना गर्न नपर्ने बताए । उनले विपक्षीहरूले समेत सरकार र नेतृत्वविरुद्ध प्रचार गरिरहेको आरोप लगाए । अहिले पार्टी संक्रमणकालमा रहेकाले जिम्मेवारीमा केही यताउता भए पनि कोही बाहिर नपरेको रिमालको दाबी थियो ।
स्थायी कमिटी सदस्य पम्फा भुसालले पार्टी अध्यक्षहरूले प्रतिवेदनमा उठाएका विषय अझै समृद्ध बनाउनुपर्ने बताइन् । बैठकमा उठेका र अन्य नेताहरूले बाहिर उठाएका विषयसमेत समेटेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार प्रभावकारी ढंगले परिचालित गर्नुपर्ने उनको भनाइ थियो ।
बैठकमा मन्त्रीहरू मातृका यादव र चक्रपाणि खनालले सरकारको कामकारबाहीको बचाउ गरेका थिए । नेताहरू किरण गुरुङ, लीलामणि पोखरेल, पेशल खतिवडालगायतले सरकार र पार्टी सञ्चालनका कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए ।
(ईकान्तिपुर)