६ कार्तिक २०८१, मंगलवार

दीर्घकालीन सोच निर्धारणसम्बन्धी कार्यशाला



धनगढी । धनगढी उपमहानगरपालिकाको बृहत तथा एकीकृत शहरी विकास योजना तर्जुमा कार्यको दीर्घकालीन सोच निर्धारण तथा विषयगत निकायहरूसँगको छलफल कार्यक्रम तथा कार्यशाला गोष्ठी सोमबारदेखि शुरु भएको छ ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा भएको कार्यशालाबाट धनगढीलाई समुन्नत शहर बनाउन पञ्चवर्षीय रणनीतिक योजना तयार गरिने जनाइएको छ । कार्यशाला आज (मंगलबार) सम्म सञ्चालन हुने छ ।
धनगढीको बृहत शहरी विकास योजना तयार गर्न जिईओसी, जिआईडिए र एनईएक्सटी, काठमाडौंले परामर्श गरिरहेको छ । सो संस्थाले धनगढीको पाश्र्वचित्र, शहरीकरणका समस्या, समाधान तथा अवसर लगायत बारेमा अध्ययन प्रतिवेदन तयार पारेको बताइएको छ ।
अध्ययन प्रतिवेदनमा अव्यवस्थित शहरीकरणको बढ्दो क्रम तथा असन्तुलन क्षेत्रीय विकास, दीर्घकालीन विकासको सोच तथा सो अनुरूप योजना तर्जुमा कमी, शहरी विकाससँग सम्बद्ध निकायहरू बीच समन्वय तथा सहकार्यको कमी, शहरी क्षेत्रमा भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, बसोबास तथा रोजगारी आदि मानवीय आवश्यकताहरूको असन्तुलित वितरण समस्या भएको उल्लेख छ ।
जिआईएस आधारित नक्सा, नगर प्रोफाईल, विश्लेषण, धनगढी उपमहानगरपालिकाको क्षेत्रगत लक्ष्य, उद्देश्य, उपलब्धि तथा कार्यक्रमहरू, दीर्घकालीन योजना, भवन तथा योजना मापढण्ड, बुह–क्षेत्रीय लगानी योजना, विभिन्न विषयगत नक्साहरूलाई आधार मानेर गरिएको अध्ययनले निरन्तर दोहोरिदो र बढ्दो बाढी प्रकोप तथा क्षति नोक्सानी, चुरे, वन तथा जैविक विविधताको विनास, स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गर्न नसकिनु र युवा शक्तिको ठूलो हिस्सा पलायन हुनु, कृषि, पशुपालनलगायतका शहरका प्रमुख सम्भाव्य क्षेत्रहरूमा युवा शक्तिको आकर्षण कम, ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्वका स्थलहरूको पहिचान, संरक्षण, प्रवद्र्धन हुन नसक्नु प्रमुख सवालहरू रहेको उल्लेख छ ।
२०६८ सालको जनगणनाअनुसार धनगढी उपमहानगरपालिकामा एक लाख ४७ हजार जनसंख्या रहेको छ ।
जनसंख्या बृद्धिदरका आधारमा अहिले धनगढी उपमहानगरपालिकामा एक लाख ७३ हजार नौ सय ८८ जनसंख्या पुगेको छ । भने आगामी २०७९ सालमा दुई लाख दुई सय ३५ जनसंख्या पुग्ने प्रक्षेपण गरिएको छ ।
धनगढीमा राष्ट्रिय तथा जिल्ला सडक गरेर आठ सय १५ किलोमिटर सडक रहेको छ । जसअनुसार एक सय ७५ किलोमिटर कालोपत्रे, तीन सय ८७ दशमलब तीन किलोमिटर ग्राभेल र दुई सय ४२ किलोमिटर माटोको रहेको छ । धनगढीमा ४७ दशमलब ३६ प्रतिशत कृषि योग्य, ३३ दशमलब ८७ बन, १० दशमलब २४ घरघडेरी र आठ दशमलब ५३ प्रतिशत अन्य गरी भुउपयोग रहेको छ । धनगढीमा रोजगारी, शान्ति सुरक्षा, सेवा र अवसर, उच्च शिक्षा, उचित उपचार लगायतका कारण बसाईसराई गर्नेको संख्या अत्याधिक रहेको अध्ययनले देखाएको छ ।
धनगढी नगर प्रमुख नृपबहादुर वडको अध्यक्षतामा भएको कार्यक्रममा धनगढीका राजनीतिक दल, उद्योगी, व्यवसायी, संघ/संस्थाका पदाधिकारी, सञ्चारकर्मी लगायतको विज्ञ टोलीहरूले आज (मंगलबार) धनगढीको पञ्च वर्षिय रणनीतिक योजना तयार गर्ने छन् ।

पुस ०४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार