आप्रवासन सप्ताह : पीडितलाई एक करोड बढि क्षतिपूर्ति
धनगढी । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस–२०१७ को अवसरमा आजदेखि आप्रवासन सप्ताह शुरु भएको छ ।
सञ्चार प्रतिष्ठान नेपालले आज धनगढीमा पत्रकार सम्मेलन आयोजना गरेर आप्रवासन सप्ताह अन्तर्गत चेतनामूलक विभिन्न कार्यक्रमहरू भइरहेको जानकारी गराएको छ ।
आप्रवासन सप्ताह अन्तर्गत विद्यालय र समुदायमा वैदेशिक रोजगार सम्बन्धी सूचना प्रवाह गर्न अभिमुखीकरण कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र स्थानीय निकायका जनप्रनितिधिहरूसँग अन्तरक्रिया, म्यादी प्रहरीहरूलाई वैदेशिक रोजगार सम्बन्धी जानकारी गराउने कायक्रमका साथै वैदेशिक रोजगारका क्रममा परेका व्यक्तिहरूको लागि मिडिया क्याम्पेनिङ गरिरहेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालयमा रहेका म्यादी प्रहरीहरूसँग मंगलबार नै अन्तरक्रिया गरिएको छ भने बिहीबार इलाका प्रहरी कार्यालय सुखडमा रहेका म्यादी प्रहरीहरूसँग अन्तरक्रिया गरिदै छ । बिहीबार नै लम्कीमा प्लस टुमा अध्ययनरत विद्यार्थीहरूलाई वैदेशिक रोजगार सम्बन्धी जानकारी दिन अभिमुखीकरण कार्यक्रम गरिने बताइको छ ।
शुक्रबार सुखडमै वैदेशिक रोजगारमा जाने व्यक्ति, गएका व्यक्तिका परिवार र वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूसँग र प्लस टुका विद्यार्थीहरूसँग अन्तरक्रिया गरिने कार्यक्रम संयोजक एकिन्द्र तिमिल्सिनाले बताए । उनले शनिबार घोडाघोडी नगरपालिकामा वैदेशिक रोजगारको क्रममा समस्यामा परेका व्यक्तिहरूसंग पत्रकारहरूको अन्तरक्रिया गरिने बताए ।
आइतबार टीकापुरमा नगरपालिकामा रहेका माविस्तरीय आप्रवासन सम्बन्धी वत्तृmत्वकला प्रतियोगिता गरिने बताए । उनले सोमबार अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा जानकी गाउँपालिकामा गाउँ कार्यपालिकामा पदाधिकारी तथा सदस्यहरूसँग सुरक्षित आप्रवासन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिने जानकारी दिए ।
सुरक्षित आप्रवासन परियोजनाका जिल्ला परियोजना संयोजक पञ्चराम चौधरीले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई ठगीमा नपर्न, ठगिएका व्यक्तिलाई न्याय दिलाउन, समस्यामा परेका व्यक्तिको समस्या समाधान गर्न र वैदेशिक रोजगारका कारण समस्यामा परेर तनावमा परेका व्यक्तिको तनाव समाधान गर्न परियोजनाले काम गरिरहेको बताए । उनले कैलालीमा जिल्ला प्रशासन कार्यालय धनगढी र ईलाका प्रशासन कार्यालय टीकापुरमा रहेको सूचना केन्द्र मार्फत् २० हजार छ सय ६६ जना र समुदाय परिचालन मार्फत् त्रिचालीस हजार दुई सय ११ जनाले सूचना पाएको बताए ।
परियोजनाले हालसम्म कैलालीबाट वैदेशिक रोजगारमा जाने एक सय ९७ जनालाई नि:शुल्क सीप तालीम दिएको छ । सीप सिकेर वैदेशिक रोजगारमा गएका व्यक्तिहरू मासिक ५५ हजार नेपाली रुपैयाँसम्म कमाई गरिरहेको परियोजना संयोजक चौधरीले बताए ।
उनका अनुसार सूचना केन्द्रमा दर्ता भएका दुई सय ३२ वटा मुद्दामध्ये एक सय ३१ वटा मुद्दा समाधान भएको छ । वैदेशिक रोजगारमा ठगीमा परेका व्यक्तिहरूले एक करोड २० लाख ३० हजार एक सय आठ रुपैयाँ क्षतिपूर्ति पाएका छन् । जसमध्ये १८ लाख ५८ हजार रुपैयाँ क्षतिपूर्ति स्थानीयस्तरबाटै दिलाइएको चौधरीले बताए ।
उनले वैदेशिक रोजगारका समस्याका कारण तनावमा परेका दुई २३ जनामध्ये एक सय ६३ जनाको तनाव समाधान भएको र उनीको मानसिक स्थिति सामान्य भएको बताए ।
यसैगरी, हालसम्म वैदेशिक रोजगारमा रहेका व्यक्तिका परिवारका लागि ४५ वटा वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको र त्यसबाट एक हजार १२ परिवार लाभान्वित भएको बताए । उनले वित्तिय साक्षरताले कक्षाका सहभागीहरूले अनावश्यक खर्च घटाएर व्यवसाय गर्न थालेको र परिवारमा समेत मेलमिलापमा सुधार भएको बताए ।
परियोजनाले काम गर्न थालेपछि कैलालीबाट वैदेशिक रोजगारमा जाने व्यक्तिहरूमध्ये ८७ प्रतिशतले कागजातका फोटोकपि घरमा छोडेर जान थालेका छन् । ७८ प्रतिशतले रकम बझाएको प्रमाण माग्न थालेको र १४ प्रतिशतले सो प्रमाण पाएको चौधरीले बताए । उनले जाने निर्णय गरेका मध्ये १९ प्रतिशतले निर्णय परिवर्तन स्वदेशमै रोजगार गर्न थालेको बताए ।
सञ्चार प्रतिष्ठान नेपालका अध्यक्ष प्रकाशविक्रम शाहले वैदेशिक रोजगार घरघरको समस्या भएकाले पत्रकारहरूले त्यस्ता समस्या समाधान गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्न अनुरोध गरे । उनले मिडिया मार्फत् धेरै समस्याहरू समाधानमा सहयोग पुगेको बताए । वैदेशिक रोजगारमा गई विभिन्न कारणले घर फर्किन नचाहेका र घरमा सम्पर्क गर्न छोडेका व्यक्तिहरू सम्पर्कमा आएको र घर पनि फर्किएको अध्यक्ष शाहले बताए ।